अपांगमैत्री छैन महानगर कार्यालय : कर्मचारी हाजिर गर्दै फर्किँदै

अपांगमैत्री छैन महानगर कार्यालय : कर्मचारी हाजिर गर्दै फर्किँदै

ललितपुर :  ललितपुर महानगरपालिका कार्यालयमा अपांगमैत्री संरचना नहुँदा फरक क्षमताका एक कर्मचारीले काम गर्न सकेका छैनन्। स्पाइनल इन्जुरी भएका असिस्टेन्ट सबइन्जिनियर धनबहादुर कार्की दिनहुँ महानगरपालिका पुगेर हाजिर गर्दै फर्कने गरेका छन्। संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयले जिल्ला समन्वय समिति (जिसस) लाई कर्मचारी समायोजनका लागि समन्वय गरिदिन आग्रह गरेपछि जिससले उनलाई महानगरपालिकामा पठाएको हो ।

स्थायी घर रामेछाप भएका कार्कीले २०५२ सालदेखि मन्त्रालयको प्रशासनिक अनुदानमा तत्कालीन जिविस र (हालको जिसस) ललितपुरमा काम गर्दै आएका थिए। अस्थायी पदबाट नियुक्त भएका उनले ०६३ देखि करार पदमा म्याद थप्दै काम गरिरहेका छन्।

कार्कीले दिएको जानकारी अनुसार ०६३ जेठ १४ मा उनको जीवनमा नसोचेको घटना घट्यो । विदामा परिवार भेट्न रामेछाप पुगेका उनी घरको तीनतला माथिबाट खसेर गम्भीर घाइते भए । उनको ढाडदेखि तलको भाग चल्दैन ।

उपचार सम्भव नभएपछि रामेछापबाट जोरपाटीस्थित अपांग अस्पालमा ल्याइयो । उक्त अस्पतालमा उनले पाँच महिना बिताए । उनी अस्पताल भएकै समयमा समयमा सरकारले अस्थायी, करार, ज्यालादारी कर्मचारीलाई प्रतिस्पर्धाबाट स्थायी गराउने नीति ल्यायो । त्यसमा कार्की छुटे त्यसपछि उनले निरन्तर करारमा म्याद थप्दै काम गर्दै आइरहेका छन् ।उनी प्राविधिक लाइनको भएपनि जिससको फ्रन्टडेस्कमा काम गरे। जहाँ उनलाई ह्वीलचियर लिएर यताउता गर्न सजिलो हुन्थ्यो ।

नयाँ व्यवस्था अनुसार मन्त्रालयले जिससमा १३ जनाको मात्रै दरबन्दी  रहने व्यवस्था  गरेको छ । कार्की  १३ जनामा अटेनन् । उनलाई सुहाउँदो कुनै पद त्यहाँ मिलेन । जिससलाई मन्त्रालयले कर्मचारी समायोजनका लागि सहयोग गर्न सुझाएको अध्यक्ष अम्बर बहादुर खड्काले बताए। त्यसपछि कार्कीलगायत अन्य नौ जनालाई महानगरमा समायोजन गर्न अनुरोध गरेपनि धेरै समयसम्म हाजिर गराउन नमानेको  खड्काको भनाइ छ । ‘बल्ल सबै पालिकाहरुले हाजिर गराए,’ उनले भने। गत भदौको १४ गतेदेखि महानगरमा खटाइएका कार्कीले असोजको २६ गतेदेखि मात्रै हाजिर हुन पाएको जानकारी दिए । ‘हाजिर हुन गएको दिन भदौ १४ देखि असोज २५ सम्मकै गरें,’ उनले भने । सुरुमा ललितपुरका मेयर चिरिबाबु महर्जनले स्रोतसाधनको अभावमा समायोजन गर्न गाह्रो हुने प्रतिक्रिया दिएका थिए । 

कार्कीले महानगरको भुइँतलामा गएर हाजिर गर्दै फर्किने गरेका छन् । भुईतलामा बसेर काम गर्ने उनको इच्छा छ । ‘अपांगमैत्री संरचना नहुँदा काम गर्न निकै समस्या हुनेरहेछ। जहाँपनि सपोर्ट चाहिन्छ,’ उनले भने । ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले बोर्ड बैठकले पारित गरेपछि एकमहिनाअघि मात्रै कार्कीलगायत सबैलाई हाजिर गराइएको जानकारी दिए । ०५४ सालतिर बनेको भवनमा लिफ्टको व्यवस्था छैन । अपांग व्यक्ति भुइँतलाभन्दा माथि जानसक्ने अवस्था छैन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.