फूल नपाएपछि प्लास्टिकका माला
तौलिहवा : मखमली र सयपत्री फूल पाइन छाडेपछि कपिलवस्तुका बजारमा प्लास्टिकका मालाको माग बढेको छ। केही वर्षयता प्लास्टिक, कपडाको मालामा भारी वृद्धि भएको हो। तिहारलाई लक्ष्य गरी व्यापारीले प्लास्टिकका माला भारतबाट ल्याएका छन्। तौलिहवा, कृष्णनगर, चन्द्रौटालगायत बजार तथा जिल्लाका विभिन्न स्थानमा लाग्ने साप्ताहिक हाटबजारमा रंगीचंगी प्लाटिकका कृत्रिम माला बेच्न राखिएका छन्। पूरै बजार मालाले सिंगारिएका छन्।
तौलिहवा हाटबजारका व्यापारी लल्लु गुप्ताले बजारमा मखमली र सयपत्री फूल आउनै छाडेपछि केही वर्ष यतादेखि प्लास्टिकका मालाप्रति ग्राहक आकर्षित भएको बताए। रक्षा बन्धनपछि तिहारमा माला सबैभन्दा बढी बिक्री हुने भएकाले आफूले भारतबाट माला ल्याएको गुप्ताले बताए।
पाँच रुपैयाँदेखि साढे तीन सयसम्मका माला बिक्रीका लागि राखेको भन्दै उनले तिहारमा दुई लाखभन्दा बढीको माला बिक्री हुने बताए। प्रत्येक माला व्यापारीले न्यूनतम ५० हजारदेखि एक लाखसम्म कारोबार हुने बताएका छन्। त्यस हिसाबले नै जिल्लामा नै यसको लाखौको कारोबार हुने गरेको छ। अहिले सबैजसो बजारमा माला किन्नेको भीड बढेको छ। जिल्लामा व्यावसायिक फूलखेती नभएको कृषि ज्ञान केन्द्र कपिलवस्तुले जनाएको छ।
तिहारमा भाडाकुडा, रंग, ओखरलगायतको कारोबारसमेत वृद्धि भएको व्यापारी बताउँछन्। अन्य समयभन्दा अहिले बजारमा भाँडाको व्यापार ह्वात्तै बढेको हो। अरु समयमा फाटफुट मात्र व्यापार हुने कपिलवस्तुको तौलिहवा, कृष्णनगर, चन्द्रौटालागायत बजारका भाँडा पसलमा भीडभाड छ।
खासगरी जिल्लामा तिहारको धनवन्तरी दिवसका दिन भाँडाकुँडा खरिद गर्ने चलन भएकाले यसको व्यापारमा वृद्धि भएको व्यापारी बताउँछन्।