उज्यालो चाड अन्धकारमा
मुगु : जिल्लाको एक मात्र विद्युत् गृहमा समस्या भएपछि सदरमुकाम गमगढी र आसपासका गाउँ तिहारको समयमा अन्धकार भएका छन्। दुई सातादेखि उत्पादन गृहमा समस्या आएको छ। बिजुली नभएपछि जंगलबाट दियालो ल्याएर तिहार मनाउने तरखरमा स्थानीय छन्।
छायानाथ रारा नगरपालिका–४ बालैमा रहेको गमगाड विद्युत् आयोजनको विद्युत् उत्पादन गृहको गबर्नल कन्ट्रोल प्यानमा कात्तिक ३ गतेदेखि समस्या आएको हो। २४ सै घण्टा बिजुली बलिरहेको गाउँ अहिले अन्धकारमा छ। झिलिमिलीको चाड तिहार आइसक्दा पनि विद्युत् गृह नबन्दा गाउँ नै अन्धकार भएको भन्दै स्थानीय दुःखी छन्। ‘हुनेखानेले सोलार र जेनेटर किने। हामी भने दियो बालेर बसेका छौं’, छाँयानाथ रारा नगरपालिका–४ का बिर्ख रोकाया दुखेसो पोख्छन्।
बिजुली नभएपछि जंगलबाट दियालो ल्याएर तिहार मनाउने तरखरमा स्थानीय छन्।
४ किलोवाट क्षमताको गमगाडा जलविद्युत् आयोजनाले सदरमुकाम गमगढी र छाँयानाथ रारा नगरपालिकाका २ हजार ३ सयभन्दा बढी घरमा बिजुली बलेको थियो। मेसिनमा आएको समस्या हेर्न काठमाडौंबाट प्राविधिक टोली झिकाइएको थियो। टोली १५ दिन बसे पनि मेसिनमा आएको समस्या बनाउन सकेन। ‘गबर्नल पार्ट नयाँ नराखेसम्म विद्युत् सेवा सुचारु गर्न सकिने अवस्था छैन’, गमगाड विद्युत् वितरण केन्द्रका निमित्त कार्यालय प्रमुख पूर्णसिंह भामले बताए।
फेर्नुपर्ने नयाँ पाटपुर्जाको खोजी गर्न काठमाडौंबाट आएका प्राविधिक काठमाडौं पठाएको छ। उक्त पार्ट नेपालमा पाउन मुस्किल रहेको वितरण केन्द्रले बताएको छ। उक्त सामन चाइनाको हुनान कम्पनीमा मात्र पाइने भएकाले ल्याउन समय लाग्ने पनि वितरण केन्द्रले जनाएको छ।