मिठाई बनाउने मीठो परिवार

मिठाई बनाउने मीठो परिवार

मिठाई पारखीमाझ परिचित नाम हो, संगम स्विट्स। काठमाडौँमा संगमका अहिले तीनटा आउटलेट छन् र एउटा चाँडै खुल्ने तयारीमा छ। उपत्यकाबाहिर दुइटा सञ्चालनमा छन् र एउटा चाँडै खुल्ने भएको छ।

संगम शर्मा चौलागार्इं संगम स्विट्सका सञ्चालक हुन्। कोइला व्यापारबाट मिठाई व्यापारमा आइपुगेका उनलाई यो क्षेत्रका सफल व्यवसायी मानिन्छ। 

शाकाहारीको सपना

सानैदेखि शाकाहारी हुन्, संगम शर्मा। उनी कोइलाको व्यापार गर्थे। भारतको असमबाट कोइला ल्याएर नेपालभर पुर्‍याउँथे उनी। दौडधूप धेरै थियो। भारत र नेपाल घुमिराख्नुपर्ने उनले एउटा अप्ठ्यारो झेल्नुपथ्र्यो। उनी पूर्ण शाकाहारी थिए। पुग्ने सबै ठाउँमा शाकाहारी भोजन उपलब्ध हुने ठाउँ पाउन मुश्किल थियो।

आफूले भोगेको त्यही अप्ठ्यारोले पूर्ण शाकाहारी मिठाई पसल खोल्ने आइडिया संगमको दिमागमा क्लिक भयो।

‘भेज खाना खुवाउने ठाउँ भेटाउनै मुस्किल थियो,’ उनले सुनाए, ‘त्यहीँबाट आफैँ यस्तो बिजनेसमा लाग्ने पो हो कि भन्ने लाग्यो।’ अर्को आवश्यकताले पनि उनलाई त्यस्तो कुनै पसल खोल्न उक्साइरहन्थ्यो। कोइलाको व्यापार गर्ने उनलाई त्यसको व्यापारका लागि पनि एउटा मिटिङ प्वाइन्ट चाहिएको थियो।

‘साथीहरूसँग जमघटका लागि मलाई एउटा ठाउँ पनि चाहिएको थियो,’ उनले सम्झिए, ‘एउटा देखाउने बिजनेस पनि चाहिएको थियो। त्यही आवश्यकताले संगम स्विट्सको जन्म भयो।’ २०५२ सालमा झापाको दमकमा उनले संगम स्विट्स खोले। 

पहाड उक्लेको ब्रान्ड

मोफसलमा स्थापना भएर शहरमा स्थापित हुने ब्रान्ड निकै कम पाइन्छन्। त्यस्तैमा पर्छ संगम स्विट्स।

मोफसलको शहर दमकबाट सुरु भएको ब्रान्ड झापामा सफल भएपछि नौ वर्षअघि काठमाडौँमा आइपुग्यो। कमलादीमा संगम स्विट्स रुचाइएपछि तीन वर्षमै बानेश्वरमा अर्को आउटलेट खुल्यो। सफलताबाट हौसिएका संगमले कालिमाटी–बल्खु रोडसाइडमा अर्को लेआउट खोले।

झापाको दमकपछि बिर्तामोडमा पनि अर्को आउटलेट खुलेको छ। ‘झापामा मिठाई बनाउँदा कायम गरेको शुद्धता काठमाडौँमा ल्याउनसके यहाँका मान्छेको जिब्रोमा पनि त्यो स्वादले बास गर्छ भन्ने मलाई विश्वास थियो,’ उनले भने, ‘भयो पनि त्यही नै।’ 

काठमाडौँमा संगमजस्तै अरू थुप्रै मिठाई पसल छन्। संगम चाहिँ कुन मानेमा फरक हो त ? ‘हाम्रो मिठाईको मुख्य कच्चा पदार्थ खुवा हो,’ संगमले भने, ‘त्यो पनि गाउँमा पालिएका गाईभँैसीको दूधबाट झापामा आफ्नै फ्याक्ट्रीमा बनाउँछौँ।’

सपरिवार संगममा

संगम मात्रै होइन, उनको संयुक्त परिवार नै मिठाई व्यवसायमा आबद्ध छ। घरका जेठा छोरा हुन्, संगम। संगम र उनकी श्रीमती बुनुले काठमाडौँका आउटलेट हेर्छन् भने बाहिरका आउटलेट भाइहरू विमल, सुमन र दिलिपले हेर्छन्। सपरिवारै मिठाई व्यापारमा कसरी आए?

‘कुनै पनि क्षेत्रमा राम्रो नेृतृत्व भए सबैले त्यसलाई पछ्याउँछन्,’ उनको तर्क छ, ‘म जे छु, खुला छु, खुला रूपमै काम गर्छु। परिवारका सबैले मलाई पत्याए।’ सगोलमा बसिरहेका उनीहरूको परिवारमा २०/२२ जना सदस्य छन्।

ठूलो परिवार भए पनि तन र मनले सबै एकै ठाउँमा भएको र त्यसको नेतृत्व आफूले गरिरहेको उनी बताउँछन्। ‘सबैको भरोसा ममाथि छ,’ उनी भन्छन्, ‘राति सबैतिरको हिसाबकिताब मैकहाँ आइपुग्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.