सिन्धुलीगढीमा विजयी दिवस
सिन्धुलीगढी : राज्य एकीकरणको इतिहास जोडिएको सिन्धुलीगढीमा २५१ औँ विजय दिवस मनाइएको छ। प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यले कमलामाई नगरपालिकाले विजय दिवस आयोजना गरेको हो।
सिन्धुलीगढीको पुनःनिर्माण गरी प्रचार प्रसार गर्न नेपाल पत्रकार महासंघ सिन्धुलीको पहलमा २०६७ देखि सिन्धुलीगढीमा विजय दिवसमा उत्सव मनाउन सुरु गरेको पत्रकार महासंघका केन्द्रीय सदस्य द्वारिका काफ्लेले बताए।
सिन्धुलीगढी पर्यटकीय क्षेत्रमात्र नभएर इतिहास कायम गरेको स्थल भएकाले आन्तरिक तथा वाह्य पर्यटकको संख्या वृद्धि गर्न नगरपालिकाको लक्ष्य लिएको मेयर खड्गबहादुर खत्रीले बताए। यता संघीय सरकारले घोषणा गरिएका सय गन्तव्यको सूचीमा मात्र नभएर मुख्य पर्यटकीय गन्तव्यको सूचीमा राखेको संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रविन्द्र अधिकारीले बताए।
नगरपालिकाले निजी क्षेत्रलाई होटल, रेष्टुरालगायत अन्य भौतिक संरचना निर्माण गर्न दिएर पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ। १७ करोड लगानीमा पुनः निर्माणका लागि गुरुयोजना तयारी गरेको र सिन्धुलीगढीको दरवारको पुनःनिर्माण शुरु गर्ने तयारी थालेको छ।
सिन्धुलीगढी अन्र्तगत एक सय ३५ विघा जमिन रहेकाले यसको संरक्षण गर्न पहल थालेको छ। १९२५ मा राज्य एकीकरणका क्रममा इष्ट इण्डीयाका दुई हजार चार सय सेनालाई गोर्खाली आठ सय सेनाले परास्त पारी विजय गरेको इतिहास छ। इतिहासका धरोहरको रुपमा परिचित गढीको युद्धमा इष्ट इण्डीयाका आठ सय र गोर्खालीका दुई सय मात्र लडाइँमा मृत्यु भएका थिए।