१३ वर्षीया बालिकाको बलात्कारपछि हत्या ?
गाईघाट : कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका हत्याको घटनाका मुख्य आरोपितहरू सार्वजनिक गर्न माग गर्दै परिवारजन धर्नामा बसिरहेका बेला उदयपुरमा पनि त्यस्तै प्रकृतिको घटना भएको छ ।
जिल्लाको विकट पहाडी क्षेत्र रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका आइतबार मुखमा नेप्किन (हात पुछ्ने कागज) खाँदेको र कुर्ता सुरुवाल खोलेको अवस्था मृत फेला परेकी छन् ।
शनिवार दिउँसो घरबाट बाख्रा चराउन हिँडेकी स्थानीय दुर्गाबहादुर खड्काकी छोरी एल्जिना आइतबार लाफागाउँको अमला भन्ने ठाउँमा मृत अवस्थामा फेला परेकी हुन् ।
साँझसम्म घर नफर्केपछि स्थानीयले खोजतलास गर्ने क्रममा आइतबार दिउँसो २ बजे बालिकाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चन्द्रदेव राईले जानकारी दिए ।
स्थानीयले बलात्कारपछि हत्या भएको हुन सक्ने भन्दै खबर गरेपछि जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) अर्जुन रानाभाटको नेतृत्वमा टोली घटनास्थलतर्फ पठाइएको एसपी राईले जानकारी दिए ।
टोली आइतबार बेलुका या सोमबार बिहानसम्म घटनास्थलमा पुगिसक्ने भएकाले त्यसपछि मात्र विस्तृत विवरण आउने एसपी राईले बताए । घटनास्थल सदरमुकाम गाईघाटबाट करिब ७५ किलोमिटर उत्तर विकट क्षेत्रमा पर्दछ ।
बलात्कारपछि हत्या नै हो भन्ने यकिन गर्न प्रहरी घटनास्थलमा पुगिन सके पनि स्थानीयको भनाइलाई उद्धृत गर्दै प्रहरीले त्यही प्रकृतिको अंशका गरेको छ ।
प्रहरीले मृतकको शव कसैलाई नछुन भनेपछि वडाध्यक्ष दुर्गाराज खड्कासहितको टोलीले कुरेर बसेको छ । मृतक बालिका वडाध्यक्ष खड्काकी भतिजी हुन् । खड्काले बलात्कारपछिको हत्या भएको दाबी गरेका छन् ।
बलात्कारपछि हत्या भएको खबर पाए लगत्तै रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्कासहित गाउँपालिकाको केन्द्र भुट्टारस्थित प्रहरी टोली घटनास्थलतर्पm हिँडेको बताइएको छ । घटनाको यथार्थ विवरण ल्याउन र अपराधीलाई नियन्त्रणमा लिन प्रहरीले आफू मातहतका टोली परिचालन गरी नाकामा कडाइ गरेको जनाएको छ ।
यस्तो छ घटना
मृतकका बुवा दुर्गाबहादुर केही दिनअघि मोटरसाइकल दुर्घटनामा परी त्रियुगा नगरपालिका–७ चुहाडेस्थित घरमा आराम गरेर बसिरहेका थिए । भाइटीका लगाइदिन लाफागाउँमै रहेको माइती घर सानो नानीसहित गएकी आमा पुनम फर्केकी थिइनन् ।
बुवा आमा घरमा नभएपछि जनता मावि लाफागाउँ कक्षा–९ मा पढ्दै गरेकी १३ वर्षीया एल्जिना शनिवार दिउँसो २ बजे बाख्रा लिएर गाउँ नजिकैको खरबारीमा चराउँदै थिइन् । कक्षा १० मा पढ्दै गरेकी जेठी दिदी र कक्षा ९ मा पढ्ने भाइ भैँसी र घरको अरू काम गर्ने बताएपछि माहिली छोरी एल्जिना बाख्रा लिएर जङ्गल गएकी थिइन् ।
गाउँपालिकाको केन्द्र भुट्टार जाने सडक छेउको खर बारी भएकाले कसैले चासो दिएनन् । सडकबाट १५० मिटर पर रहेको त्यही खरबारीस्थित सालको रुखमुनि उनी मृत फेला परिन् ।
‘कतै लडेर घाइते भई जस्तो लागेको थियो, तर त्यसो नभई बलात्कार गरेर मारिएको अवस्थामा फेला परी’, उनले भने, ‘रातभर टाढा–टाढासम्म पुगेर खोजियो, कतै फेला नपरेको अवस्थामा गाउँनजिकै शव फेला पा¥यौँ । मलाई १÷२ जनासँग शङ्का छ, सायद उनीहरूले नै बलात्कार गरेर मारेको हुनु पर्दछ, त्यो नाम प्रहरीलाई भन्छु ।’
उनका अनुसार बालिका खरबारीस्थित सखुवाको रुखमुनि मुखमा हात पुछ्ने कागज खाँदिएको अवस्थामा भेटिएका हुन् । ‘घाँटीमा नङ्ग्राइएको छ, छाला कोतरेको छ, कुर्था सुरुवाल खोलिएको छ, बलात्कारपछि हत्या नभए के हुन सक्छ ?’, उनले भने ।