सहकारीको बचत हिनामिना अभियोगमा पत्रकार पक्राउ
दाङ : राप्ती गाउँपालिका-५ सिसहनियास्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पत्रकार सन्तोषकुमार गुप्ता पक्राउ परेका छन् ।
सहकारी संस्थाका अध्यक्ष सहित शेयर सदस्य, बचत कर्ताहरुको उजुरीको आधारमा सहकारी संस्थाका ऋण समितिका संयोजक रहेका गुप्ता पक्राउ परेका हुन् ।
६६ लाख भन्दा बढी रकम हिनामिना गरेको उजुरी इलाका प्रहरी कार्यालय भालुवाङमा परेपछि प्रहरीले अनुसन्धानका लागि गुप्तालाई नियन्त्रणमा लिएको हो ।
सहकारी संस्थाका व्यवस्थापक रमिता चौधरी र उनका श्रीमान बसन्त चौधरी फ्रहार छन् । पक्राउ परेका गुप्तालाई अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
फ्रहार व्यक्तिको खोजी जारी राखिएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी प्रमुख रवीन्द्रराज पाण्डेले जानकारी दिए ।
‘प्रहरी कार्यालयमा तीनजनाविरुद्ध किटानी जाहेरी परेको थियो । त्यही आधारमा सन्तोष कुमार गुप्तालाई पक्राउ गरिएको छ,’उनले भने, 'अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।’