केन्द्रीय प्रणालीमार्फत कल अनुगमन
काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलको ‘ट्राफिक’ अनुगमन गर्न ‘मनिटरिङ नेटवर्क अप्रेसन सेन्टर’(एम–नक) सञ्चालनमा ल्याउने भएको छ। ६ महिनाभित्र केन्द्रीय प्रणाली सञ्चालनमा ल्याएर सबै कलको अनुगमन गरिने प्राधिकरणले जानकारी दिएको छ।
दूरसञ्चार सेवा प्रदायक कम्पनीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलमार्फत हुने आम्दानी, अवैध कल (कल वाइपास), कलको गुणस्तरलगायत विषयमा अनुगमन गर्न यो प्रणाली सञ्चालनमा ल्याउने तयारी भएको हो।
यसका लागि प्राधिकरणले यो वर्षको बजेटमा ७० करोड रकम विनियोजन गरेको प्राधिकरणका निर्देशक विजयकुमार रायले जानकारी दिए। उनका अनुसार पछिल्लो समय विदेशबाट नेपाल भित्रिने टेलिफोन कलबापत हुने आम्दानी कम हुँदै गएपछि सबैलाई केन्द्रीय प्रणालीमा ल्याएर त्यसको अनुगनम गर्ने तयारी प्राधिकरणले गरेको हो।
‘यो प्रणालीले अन्तर्राष्ट्रिय र राष्ट्रिय कलको अनुगमन गर्नेछ’, उनले भने, ‘त्यतिमात्र नभएर यो प्रणालीमार्फत अवैधरूपमा आउने कल, कलको गुणस्तरलगायत अनुगमन गर्न सकिनेछ।’
प्राधिकरणले गत वर्षबाटै यो कार्यक्रमको सुरुवात गरेको थियो। मनिटरिङ नेटवर्क अप्रेसन सेन्टर स्थापना गर्न अघिल्लो वर्ष नै हार्डवेयर र सफ्टवेयर प्रणाली जडान गर्न विदेशी परामर्शदातासँग आवेदन माग भएको हो। आवेदन परेका कम्पनीमध्ये चार कम्पनी छनोट भइसकेका छन्। ती कम्पनीसँग पनि आर्थिक र प्राविधिक प्रस्ताव माग गरी त्यसमा छलफल भइरहेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए।
दूरसञ्चार सेवा प्रदायक कम्पनीको कलमार्फत हुने आम्दानी, अवैध कल (कल वाइपास), कलको गुणस्तरलगायत विषयमा अनुगमन हुनेछ।
छनोट भएका चार कम्पनीमा भ्यानराइज सोलुसन, एसजीएस एसए, टीकेसी टेलिकम इंक र एनसफ्ट लिमिटेड छन्। यी मध्य कुनै एक कम्पनी छनोट गरी ६ महिनाभित्र कल अनुगमन केन्द्रीय प्रणाली सञ्चालनमा ल्याउने तयारी भइरहेको निर्देशक रायले बताएका छन्।
रायका अनुसार अहिले नेपालमा सञ्चालनमा रहेका ६ वटै दूरसञ्चार सेवा प्रदायक कम्पनीको प्रणालीलाई मनिटरिङ नेटवर्क अप्रेसन सेन्टर अर्थात् केन्द्रीय प्रणालीमा जोडिनेछ। त्यसका लागि छनोट भएका कम्पनीले कलको तथ्यांक संकलन गर्न सबै सेवाप्रदायकको प्रणालीमा हार्डवेयर तथा सफ्टवेयर जडान गर्ने र उनीहरूको प्रणालीलाई केन्द्रीय प्रणालीमा जडान गर्ने काम गर्नेछ।
यस प्रणालीमार्फत सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय कलबापत प्राप्त गर्ने कुल आम्दानी, राष्ट्रिय कलमार्फत हुने कुल आम्दानी, अवैधरूपमा आउने कल पत्ता लगाउने र कलको गुणस्तरसमेत मापन गर्न मद्दत गर्ने राय बताउँछन्।
प्राधिकरणका प्रवक्ता अर्यालका अनुसार सफ्टवेयर जडानपछि अन्तर्राष्ट्रिय तथा राष्ट्रियरूपमा हुने कलको वास्तविक आम्दानी आउनेछ। ‘विगतका वर्षदेखि अन्तर्राष्ट्रिय कलबापत हुने आम्दानी खस्किँदै गएको छ’, अर्यालले भने, ‘त्यसमा सेवा प्रदायक कम्पनीले वास्तविक कलभन्दा कम कल देखाएर आम्दानी गरिरहेका हुन् कि भन्ने अनुमान गरिएको छ।
यो प्रणालीमा जोडिएसँगै केन्द्रीय प्रणालीको र सेवा प्रदायकको अलगअलग प्रतिवेदन आउनेछ। त्यसले कल लुकायर गर्ने आम्दानीलाई निरुत्साहित गर्न मद्दत गर्नेछ।’ अर्कोतर्फ उक्त प्रणालीमार्फत नेपाल भित्रने अवैध कल र अवैधरूपमा सञ्चालन भइरहेका सेवा प्रदायकको पनि तथ्यांक राख्न सकिनेछ।