खरानी र फलामको धूलो पनि आयात
बिर्तामोड : सिमेन्ट बनाउन प्रयोग हुने खरानी, फलामको धूलो र फलफूलको जुस पनि भारतसहित तेस्रो मुलुकबाट आयात हुने गरेको छ। यसका लागि करोडौं बिदेसिने गरेको छ। पूर्वी नाका काँकडभिट्टाबाट यस्ता सामग्री पनि ठूलो परिमाणमा आयात हुन थालेको मेची भन्सार कार्यालयको तथ्यांकले देखाएको छ। यो नाका भएर सबैभन्दा बढी पेट्रोलियम पदार्थ त्यसपछि क्लिकंर र कोइला आयत हुन्छ।
बंगलादेशबाट जुस र भारतबाट खरानीसहित फलामको धूलो बढी भित्रने गरेको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख टेकबहादुर अर्यालले जानकारी दिए। उत्पादनमूलक क्षेत्रमा लगानी नहुँदा र औद्योगिक कच्चा पदार्थको उत्पादनमा चासो नदिँदा सिमेन्ट बनाउन प्रयोग हुने खरानी र फलामको धूलो पनि आयात हुन्छ।
आर्थिक वर्ष २०७४/०७५ को तथ्यांक हेर्दा आठ अर्ब २० करोड ६२ लाख ५८ हजार रुपैयाँको खरानी र फलामको धूलो आयात भएको छ। ‘पेट्रोल, कोइलालगायत वस्तु नेपालमा नपाइने हुँदा बढी परिणाममा नेपाल भित्रने गर्छन्’, भन्सार प्रमुख अर्यालले भने,‘पछिल्लो समय फलामको धूलो र खरानीसहित बंगलादेशबाट भित्रने जुसको परिमाण पनि उच्च छ।’
आयातसँगै राजस्व पनि बढिरहेको छ। यो नाका भएर प्रत्येक दिन सयौं मालबाहक ट्रकले ठूलो परिणाममा नेपालमा कोइला, पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य सामग्री नेपाल भित्र्याउने गर्छन्। तर, नेपालबाट यो नाका हुँदा भारत सहितका अन्य मुलुकमा भने निर्यातको दर न्यून छ। प्रत्येक वर्ष आयात बढ्न थालेपछि राजस्वमा भने वृद्धि भइरहेको मेची भन्सार कार्यालयको तथ्यांकमा देखिन्छ।
गत आवमा पनि मेची भन्सार कार्यालयबाट सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको तथ्यांक छ। कुल राजस्वको ३० प्रतिशत पेट्रोलिम पदार्थबाट उठेको हो। यस्तै क्लिंकर १६, कोइला १३, जुस ६, फलामको धूलो, चिनी, पेय पदार्थ, सुपारी, रेजिन, जिप्सम १/१ प्रतिशत र अन्यबाट २९ प्रतिशत राजस्व संकलन भएको छ। ती वस्तुबाट एक वर्षमा १० अर्ब १८ करोड २७ लाख राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ।
गत आवमा पनि मेची भन्सार कार्यालयबाट सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको छ।
यो भन्सार कार्यालयबाट आयात बढे पनि निर्यात भने बढेको छैन। एक वर्षमा यो नाका भएर सबैभन्दा बढी चिया ४४ प्रतिशत निर्यात भएको छ। यसबाट दुई अर्ब ८१ करोड ७० लाख ८२ हजार राजस्व संकलन भएको छ। त्यसपछि क्रमस कर्कट जस्तापाता, मुसोरो दाल, अम्रिसो कुचो, काँचो अदुवा, सुकेको अदुवा, धानको भुस, मूर्ति, प्लास्टिकको बिर्कोबाट पनि राजस्व संकलन भएको छ। चियासहित सबैबाट एक वर्षमा ६ अर्ब ४१ करोड ३९ लाख ५१ हजार रुपैयाँ मेची भन्सार कार्यालयले राजस्व संकलन गरेको छ।
नेपालमा औद्योगिक क्षेत्र र कृषिमा कम लगानी भएको र लगानीको सुरक्षा नहुँदा निर्यातको दर कम भएको भन्सार प्रमुखको भनाइ छ। चालु आवको साउनमा ७५ करोड ९५ लाख ८८ हजार, भदौमा ९४ करोड ७२ लाख ९९ हजार र असोजमा ९४ करोड ५४ लाख ६८ हजार राजस्व संकलन भएको छ। यो राजस्व गत आवभन्दा अघिल्लो तीन महिनाभन्दा ६२ करोड २७ लाख ६८ हजार रुपैयाँ बढी हो।
विगतमा चोर बाटो भएर धेरै वस्तु नेपाल भित्रिने हुँदा राजस्व छली हुने गरे पनि अहिले भन्सार कार्यालयमा एकीकृत चेकजाँच प्रणालीद्वारा एक्सरे मेसिनको सहायताले चेक जाँचमा कडाइ गरेपछि राजस्व संकलनमा वृद्धि भएको भन्सार कार्यालयको दाबी छ। खुला सिमानाबाट अझै पनि भइरहेका चोरी पैठारीमा नियन्त्रण गरी एकद्वारबाट मात्र सामान भित्र्याउन सके लक्ष्यभन्दा अझै बढी राजस्व संकलन हुने भन्सार कार्यालयको अनुमान छ।