५० रुपैयाँको खाद्यान्न १ सयमा किन्न ८ दिन हिँड्छन् हुम्लाबासी
मुगु : हुम्लाकाे सर्केगाड गाउँपालिका–३ उनपानी गाउँका लक्ष्मण कार्की खाद्यान्न जोहो गर्न गाउँबाट चार दिन हिँडेरै मुगु खाद्य संस्थानमा पुगे । खाद्य संस्थान मुगुबाट आफूलाई चाहिने खाद्यान्न भेडा बाख्रामा बोकाएर चार दिन हिँडेरै गाउँ फर्किए ।
गाउँमै रहेको खाद्य डिपोमा चामल नभएपछि कार्की चार दिन हिँडेर खाद्य जोहो गर्न बाध्य भएका हुन् । ‘गाउँको डिपोमा एक दाना चामल छैन परिवार पाल्न जति दिन पनि हिँड्नु पर्यो नी !’ कार्कीले भने, ‘गाउँमा सिहदरबार पुगेको भनिए पनि हाम्रो दु:ख उस्तै छ ।’
सोही गाउँका औसे फेडेराको पनि दु:ख यस्तै छ । उनी पनि खाद्यान्न लिन पाँच दिन हिँडेर छिमेकी जिल्ला मुगु पुगेका छन् । गाउँको डिपोमा अक्कलझुक्कल खाद्यन्न त पुग्छ तर प्रत्येक घरधुरीले वार्षिक पाँच केजीदेखि १५ केजीसम्म मात्रै पाउने गरेका छन् ।
यो आर्थिक वर्षका लागि जिल्ला खाद्य व्यवस्थापन समिति हुम्लाले सर्केगाड डिपोका लागि १२ हजार, देउली वितरण केन्द्रका लागि चार हजार र श्रीनगर डिपोका लागि छ हजार क्विन्टल खाद्यन्न माग गरेको थियो । तर ठेकेदार कम्पनीको नाममा खाद्य संस्थानले ती डिपोमा अहिलेसम्म खाद्यान्न ढुवानी गर्न सकेको छैन ।
हिँडेरै अाठ दिन :
स्थानीयबासी भने भेडा तथा खच्चडसहित अाठ दिनसम्म हिँडेर छिमेकी जिल्ला मुगु जान बाध्य छन् । हुम्लाका ताँजाकोट, अदानचुली, सर्केगाड र चंखेली गाउँपालिकाका स्थानीयबासी खाद्यान्न अभावबाट प्रभावित बनेका हुन् ।
‘गाउँमा रहेका डिपोमा न खाद्य पाइन्छ न त कर्मचारी नै हुन्छन् । डिपो वर्षको एक पटक मात्र खुल्छ खाद्यान्न कहिले पुग्छ थाहा हुँदैन,’ सर्केगाड गाँउपालिका–३ का गौतम रावलले भने, ‘पर्खेर बस्दा वर्ष दिन लाग्छ । त्यसैले खच्चड लिएर मुगु जान बाध्य छौँ ।’
यसरी छिमेकी जिल्लाबाट खाद्यान्न किनेर ल्याउँदा उनीहरुले ५० देखि ६० मा पाइने सामानलाई १ सय तिर्नुपरेको सुनाउँछन् । दसै, तिहार जस्ता चाडपर्वमा त स्थानीयले झनै दु:ख झेल्नु परेको सुनाए । खाद्य संस्थान भने ढुवानीका लागि ठेकेदार पक्ष छनाेट गर्न ढिलो भएकाले ढुवानी प्रभावित बनेको बताउँदै आएको छ ।
ढुवानीको जिम्मा पाएका ठेकेदारसँग मंसिर महिनाभित्रै सम्बन्धित डिपोमा खाद्यान्न पुर्याउने बारे छलफल भएको बताइएको छ । उता सुर्खेतस्थित खाद्य संस्थानका प्रबन्धक भीम थापा भने खाद्यान्न सुर्खेतबाट गाडीमा पठाइसकेको दाबी गर्छन् । यद्यपि गाउँले अाठ दिनको बाटो हिँडेर खाद्यान्न किन्न जानु पर्दा दिक्क छन् ।