तस्बिरमा भैरहवाको छठ रौनक
भैरहवा : छठ माताको नाममा ब्रत र सूर्यको आराधना गरी तराईमा मनाइने छठ पर्व रुपन्देहीको भैरहवा, बुटवललगायत अन्य ग्रामीण क्षेत्रमा धुमधामका साथ मनाइएको छ।
छठ पुजन समिति सिद्धार्थनगरको (भैरहवा) आयोजनामा सिद्धार्थनगर नगरपालिका ५ स्थित नेपाली सेनाको कालिभक्ति गण र गल्लामण्डीको हनुमान मन्दिर अवस्थित छठ माता पोखरीमा सामूहिक पूजा गरेर भैरहवा तथा वरपरका बासिन्दाले छठ पर्व मनाएका छन्।
बिगत ५३ वर्षदेखि गणको पोखरीमा छठ पूजा हुँदै आएको छ।
दुई दिनदेखि सुरु भएको छठ अन्तर्गत श्रद्धालुले मंगलबार साँझपख जलासय नदीमा नुहाएर अस्ताउन लागेको सूर्यलाई अर्घ दिँदै पूजाआजा गर्ने प्रचलन रहेको छ। बुधवार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गर्नेछन्।
बिशेष गरी तराईमा बसोबास गर्ने समुदायले मात्र मनाउँदै आएको यस पर्वलाई पछिल्ला वर्षमा पहाडी मूलका महिलालेसमेत पूजाका लागि आउने क्रम बढेको र यसले एकताको सन्देश दिएको छठ पुजन समिती भैरहवाका संयोजक आनन्द गुप्ता बताउँछन्।