किन डुब्‍ने तातोपानी कुण्डमा ? यस्तो छ प्राकृतिक एन्टिबायोटिकको रहस्य

किन डुब्‍ने तातोपानी कुण्डमा ? यस्तो छ प्राकृतिक एन्टिबायोटिकको रहस्य

बेनी : मधुमेह (सुगर) र ढाडको समस्या भएका बागलुङ नगरपालिका ४ का बेगनारायण शर्मा (४२) यसै महिना म्याग्दीको बेनी नगरपालिका ४ स्थित प्राकृतिक तातोपानी कुण्डमा उपचारका लागि १० दिनसम्म स्नान गरे। तातोपानीमा स्नान गरेपछि स्वास्थ्यमा सुधार भएको उनको अनुभव छ।

पर्वतको जलजला गाउँपालिका ४ फड्के ढुंगाका चन्द्रबहादुर मल्ल (६३) भीरबाट लडेर मेरुदण्डमा चोट लाग्दा हिँडडुल गर्न नसक्ने भए। ६ महिनाअघिको दुर्घटनाबाट उनले विभिन्न अस्पतालमा लाखौं खर्चेर उपचार पनि गराए। तिहारअघि एक सातासम्म तातोपानी कुण्डमा डुबेर स्नान गरेका मल्लको पनि शर्माको जस्तै अनुभव छ।

शर्मा र मल्लजस्ता आम नागरिकमात्र नभएर तातोपानी कुण्ड देश विदेशका विशिष्ट व्यक्तिहरूका लागि समेत प्राकृतिक उपचार गराउने थलोको रुपमा विकास भएको छ। हालै नेपाल कम्प्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नसा सम्बन्धी समस्याले थलिएकी श्रीमती सीता दाहाललाई लिएर उपचारका लागि तातोपानी नुहाउन ल्याएपछि यसको चर्चा अझै चुलिएको छ।

ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला रोग, शरीर सुन्निएको, बज्रिएको, मर्किएको, पेट दुख्ने, खाना रुचि नहुने लगायतका स्वास्थ्य समस्या भएका बिरामीहरूका लागि तातोपानी कुण्ड प्रकृतिको बरदान बनेको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्य बताउँछन्। 

जमिनभित्रबाट बिरे नुन (आयुर्वेदीय औषधीविशेषमा प्रयोग गरिने गन्धदार कालो नुन) को गन्धसहित निस्कने ५० डिग्री सेल्सियस तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेका बिरामीहरू आफ्नो स्वास्थ्यमा सुधार आएको अनुभव सुनाउँछन्। बोकेर ल्याइएका बिरामीहरू तातोपानी कुण्डमा स्नान गरेपछि हिँडेरै घर फर्किएका धेरै उदाहरण छन्।

यस कुण्डमा नियमित स्नान गरेर ग्यास्ट्रिक, बाथरोथ (युरिकएसिड), ढाड दुख्ने, छाला सम्बन्धी रोग, सुन्निएको, बज्रिएर चोट लागेको, मर्किएको, पेट सुन्निने, गलगाँड र एसाइटिस लगायत रोग निको भएको अनुभव सुनाउनेहरू पनि प्रसस्त पाइन्छ।

प्राकृतिक एन्टिबायोटिक

यस स्थानमा बिरे नुन र गन्धन (सल्फर) तत्व सहितको ४५ देखि ५७ डिग्री सेल्सियस तातोपानी निस्कने मुहान  छ। गन्धक आफैंमा एक प्राकृतिक एन्टिबायोटिक भएको हुनाले कुण्डमा स्नान गर्दा एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुने कुण्ड व्यवस्थापन समितिका सचिव कृष्ण खड्का बताउँछन्।

घाउ चोटपटक लागेको ठाउँमा पानीमा नुन राखेर तातो बनाई कृतिम रुपमा सेक्ने चलनलाई आधुनिक चिकित्सा विज्ञानले पनि स्वीकार गरेको छ। बिरे नुन र गन्धकको मिश्रण भएको प्राकृतिक तातोपानी कुण्डमा कृतिम घरेलु उपचारको तुलनामा सहज र सुविधायुक्त तरिकाले घण्टौंसम्म स्नान गर्न सकिने भएकाले बिरामीको आकर्षण बढ्दै गएको हो।

नुहाउने तालिका र शुल्क

एक दिनमा दुई पटक दुई/दुई घण्टाका दरले तातोपानी कुण्डमा शरीर डुबाएर स्नान गरेपछि बाहिर निस्किएर पाँच–दश मिनेटसम्म पछ्यौरा, ब्ल्यांकेट, पलास्टिक, काम्लो आदि न्याना कपडा ओढेर शरीरबाट चिटचिट पसिना निस्कदासम्म विश्राम गरिन्छ।

स्नानका क्रममा तलाउ नजिकै रहेको अर्को मुहानको ताजा र सफा तातोपानी ल्याएर बिरामीलाई वितरण गरिन्छ। तातोपानी पिउनुलाई स्वास्थ्यबर्द्धक मानिएको छ। एक पटकमा ३०० जनाले स्नान गर्न सक्ने तातोपानी कुण्डमा पुरुष र महिलाहरूका लागि फरकफरक समय तालिका बनाइएको छ।

बिहान थुनेर तलाउ बनाइएको पानी रातको समयमा खोलेर खाली बनाई तलाउभित्र प्रत्येक दिन नियमित सरसफाई गरिन्छ। कुण्डमा स्नान गर्ने समयमा छुट्टै पोशाकको प्रयोग गर्नुपर्छ। तातोपानी कुण्ड व्यवस्थापन समितिलाई ३०० रुपैयाँ शुल्क तिरेर १० दिनसम्म स्नान गर्न पाइन्छ।

सिंगा तातोपानी कुण्डमा स्नान गरेर रोग निको पार्नेदेखि अध्ययन अनुसन्धान, भ्रमण र तातोपानी स्नानको अनुभव सँगाल्न समेत आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका व्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताए।

चाहे स्कुल कलेजका शिक्षक विद्यार्थी हुन् वा कर्मचारी अथवा विभिन्न समूहबाट तातोपानी भ्रमणमा आउने पाहनुको संख्या वर्षेनी बढ्दै गएको छ। स्वास्थ्य समस्या समाधान गर्ने मात्र होइन प्राकृतिक तातोपानीको तलाउमा घण्टौंसम्म स्नान गर्ने सुविधाले तातोपानी कुण्डले प्राकृतिक औषधालयको मात्र नभई पर्यटकीय स्थलको रुपमा पनि परिचय बनाउँदै गएको हो।

यसरी हुन्छ व्यवस्थापन

कुण्ड बाहिर पनि तातोपानीका मूलहरू छन् जहाँ जुनसुकै बेला तातोपानीमा निःशुल्क नुहाउन सकिन्छ। पछिल्लो समय सडक सुविधा, कुण्डमा पूर्वाधार विकास, स्नान गरेर फर्किएकाहरूबाट सकारात्मक सन्देश प्रवाह र प्रचारप्रसारले यहाँ आउने पाहुना झन् बढ्दै गएका छन्।

आर्थिक वर्ष २०७४/७५ मा १६ हजार जनाले स्नान गरेको सिंगा तातोपानी कुण्डमा असोज, कात्तिक, माघ, फागुन र चैत महिनामा घुइँचो लाग्ने गर्छ। कुण्डमा स्नानका लागि आउने बिरामीहरूको व्यवस्थापन, सुरक्षा, उनीहरूको सुविधाका लागि तातोपानी कुण्ड व्यवस्थापन समिति, आमा समूह, युवा क्लबदेखि स्थानीयबासीहरू सक्रियताका साथ खटिएका हुन्छन्।

कसरी पुगिन्छ ?

म्याग्दी सदरमुकाम बेनी बजारदेखि ७ किलोमिटर पश्चिममा अवस्थित सिंगा तातोपानी जानका लागि बेनीको म्याग्दीखोला मोटरेबल पुल नजिकै रहेको काउन्टरदेखि नियमित गाडी छुट्ने गर्छ। बेनीबाट दरवाङका लागि छुट्ने सार्वजनिक गाडीको साथै व्यक्तिगत र अन्य ठाउँबाट रिजर्भमा आएका गाडी, ट्याक्सी चढेर पनि तातोपानी पुग्ने सुविधा छ।

के छन् सुविधा ?

तातोपानी स्नान गर्न आउने पाहुनाहरूका लागि यहाँ आफैं कोठा भाडामा लिएर खाना पकाउने खाने होमस्टे सरहको सुविधा पनि छ। टाढाबाट आएका, विशिष्ट व्यक्ति एवं छोटो अवधिका लागि तातोपानी आउनेहरूका लागि यहाँका होटलहरूले सुविधा दिइरहेका छन्।

तल्लो र उपल्लो तातोपानी बजारमा करिब दुई सय घर रहेका छन्। प्रायजसो घरमा पाहुना बस्नका लागि कोठाको व्यवस्था छ। कोठामा बस्ने पाहुनाहरूलाई घरमालिकले नै ग्यास, दाउरा, भाडा आदिको व्यवस्था गरिदिन्छन्।

सिंगा तातोपानीमा केन्द्रीय लाइनको विद्युत, मोबाइल र इन्टरनेट सुविधा उपलब्ध छ भने स्वास्थ्य र प्रहरी चौकी पनि रहेका छन्।

त्यसै चर्चित बनेको होइन कुण्ड

प्रचण्ड पत्नी सीता तातोपानी नुहाउन जाँदै। 

म्याग्दी नदी किनारको तातोपानीको मुहान त्यतिकै प्राकृतिक औषधालय र पर्यटकीय स्थल भएको भने होइन। सिंगा तातोपानीबासीहरूको एकता, सक्रियता र योगदानको उपज हो आजको कुण्डको अवस्था। २०४२ सालमा गठन भएको तातोपानी कुण्ड व्यवस्थापन समिति निरन्तर रुपमा प्राकृतिक स्रोत साधनको संरक्षण एवं उपयोग गरी सामुदायिक विकासका गतिविधिमा सक्रिय रहँदै आएको छ।

तातोपानी कुण्ड व्यवस्थापन समितिको सक्रियतामा म्याग्दी नदीको कटानबाट जोगाउन पक्की तटबन्ध पर्खाल बनाउने,  कुण्ड निर्माणका साथै टिनले छाइएकाले जतिसुकै चर्को घाम लागोस् अथवा झरी परोस्, स्नान गर्नेलाई कुनै समस्या हुँदैन। स्नानपछि गुफिने छुट्टै ठाउँ, शौचालय सुविधा भएको सिंगा कुण्डलाई सधै सफा सुग्धर बनाई राख्न कुण्डका कर्मचारीहरू सक्रियतापूर्वक खटिएका छन्।

कुनै समय भैंसी आहाल बस्ने पोखरी जस्तै अवस्थामा रहेको सिंगा तातोपानी कुण्ड अहिले पूर्वाधार विकासका हिसाबले कायापलट भएकाले यहाँ आउने पर्यटकहरूलाई सहज भएको छ।

स्थानीय विकासमा योगदान

स्नान शुल्क र विभिन्न दाताहरूको सहयोग संकलन गरी तातोपानी कुण्ड व्यवस्थापन समितिले यहाँ करोडौं लगानीमा पूर्वाधारहरू विकास गरेको छ। सरकारी निकायको न्यून मात्र सहयोग रहेको कुण्डम नयाँ पूर्वाधार थपिने क्रमले निरन्तरता पाइरहेको छ।

वर्षेनी पर्यटकको चाप बढ्दै गएको सिंगा तातोपानी कुण्डमा बाह्रै महिना नियमित पाहुना भित्र्याउने योजना बनाइएको छ। हाल असोज, कात्तिक, माघ, फागुन र चैत महिनामा चाप बढी हुने यस कुण्डमा स्नानका लागि पूर्वाधारको विकासले गर्दा पहिलेको जस्तो मौसम र वातावरणको भर पर्नुपर्दैन। जुन सिजनमा यहाँ आएपनि स्नान गर्न सकिन्छ।

तातोपानीमा डुबेका प्रचण्ड र गृहमन्त्री। 

तातोपानी कुण्डको आम्दानीले स्थानीय विकासमा समेत निकै ठूलो योगदान गरेको छ। राज्यका निकायबाट न्यून विकास बजेट भित्रिने तातोपानीमा विकास गतिविधि, शिक्षा, स्वास्थ्य, विद्युतीकरण, नदी कटान रोकथाम र सुरक्षाका लागि कुण्डमा संकलन गरिने प्रवेश शुल्क र समितिलाई प्राप्त हुने चन्दा सहयोगी बनेको छ।

तातोपानी कुण्डको आम्दानीले स्थानीय सरस्वती माविका ९ जना निजी स्रोतका शिक्षकलाई तलबभत्ता खुवाइँदै आएको छ। कुण्डले विद्यालयमा भवन निर्माण, कम्प्युटर कक्षा सञ्चालन र जग्गा खरिद गर्न सहयोग गरेको छ।

सिंगा स्वास्थ्य चौकीलाई जग्गा खरिद गर्न २२ लाख रुपैयाँ र प्रहरी चौकीको भवन बनाउन चार लाख ५० हजार रुपैयाँ तातोपानी कुण्ड व्यवस्थापन समितिले आर्थिक सहयोग गरेको छ। म्याग्दी नदीबाट वर्षेनी हुने कटानबाट बजारलाई संरक्षण गर्न तातोपानी कुण्डको आम्दानी परिचालन हुँदै आएको छ। कुण्डको आम्दानीबाट ब्रोसर, डकुमेन्ट्री तयार गरी प्रचारप्रसारको काम हुँदै आएको छ।

प्रवेश शुल्कबापत् लिइने रकमको व्यवस्थित हिसाब राख्नुका साथै चन्दा सहयोग गर्नेका नाम हरेक दिन कुण्डमा उपस्थितहरूलाई पढेर सुनाइन्छ। दैनिक रुपमा आम्दानीलाई स्थानीयस्तरमा सञ्चालित सहकारीमा बचत गरिँदै आएको छ भने समितिले बैंकमा छुट्टै खाता सञ्चालन गरेको छ।

आम्दानी खर्चलाई पारदर्शी बनाउन कुनै काम गर्न परेमा सामूहिक छलफल र सहभागितामा निर्णय गर्ने, वार्षिक रुपमा सामाजिक र लेखा परीक्षण, समितिको नियमित साधारणसभा, अधिवेशन, बैठक हुने रेको छ।

कुण्डमा स्नानमा आउने पाहुनाहरूका कारण सिंगा, सिमलचौर, बरङ्जामा उत्पादित तरकारी, खसीबोका, कुखुरा लगायतका कृषि उपज खपत हुने भएकाले स्थानीयबासीको आयआर्जनका साथै तातोपानीको ब्यापार ब्यवसाय प्रर्वद्धनमा सहयोग मिलेको छ। तातोपानी कुण्डबाट बिरामीहरूले प्राप्त गरेको लाभलाई वैज्ञानिक रुपमा पुष्टि गराउन विस्तृत अध्ययन, अनुसन्धानको समेत तयारी भएको समितिका अध्यक्ष वीरेन्द्रमान शाक्य बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.