पत्नी सीताको उपचारका लागि बेनीको तातोपानी पुगे प्रचण्ड
बेनी : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नशासम्बन्धी रोगबाट थलिएकी श्रीमती सीताको उपचारका लागि सोमबार म्याग्दीको बेनी नगरपालिका-४ स्थित प्राकृतिक तातोपानी कुण्डमा आएका छन् ।
गृहमन्त्री रामबहादुर थापा बादलको परिवारसहित आएका दाहालले म्याग्दी नदीको किनारमा मुहानबाटै निस्कने ५० डिग्री सेल्सियस तातो पानी संकलन गरिएको पोखरीमा दुई दिनसम्म स्नान गर्ने कार्यक्रम छ ।
नेपाली सेनाको हेलिकप्टरमार्फत् बिहान ११ बजेट अर्थुङ्गेस्थित श्रीबक्स गुल्ममा अवतरण गरेका दाहाल र थापा परिवारसहित दिउँसो २ बजे गाडीमार्फत् तातोपानी पुगेका थिए ।
विश्राम, पारिवारिक भ्रमण र स्नान गरेर उपचारका लागि प्रचण्ड म्याग्दी आएका उनका स्वकीय सचिव जोखबहादुर महराले बताए । दाहालको केही समयअघि सिंगापुरको अस्पतालमा उपचार गरिएको थियो । गाडीबाट झरेपछि उनलाई छोरी र सहयोगीले समाएर कुण्डसम्म पु¥याएका थिए ।
‘विश्राम र सीता म्याडमको उपचारका लागि अध्यक्ष यहाँ आउनुभएको हो’ महराले भने, ‘यो उहाँको नितान्त व्यक्तिगत र पारिवारिक भ्रमण हो ।’ उनीहरुले दिउँसो २ देखि ४ बजेसम्म तातोपानी कुण्डमा स्नान गरेका थिए ।
बेनी आउने वित्तिकै दाहालले नेकपाका नेताद्वय गोविन्द पौडेल, हरिकृष्ण श्रेष्ठ लगायत जनप्रतिनिधि र नेता कार्यकर्तासँग अनौपचारिक कुराकानी गरेका थिए । गृहमन्त्री थापा भने प्रशासन कार्यालयमा आयोजित जिल्ला विपद् व्यवस्थापन कार्यसञ्चालक केन्द्रको उद्घाटन कार्यक्रममा सहभागी भएका थिए ।
टोलीमा गृहमन्त्री बादलकी श्रीमती नैनकला थापा, छोरी र ज्वाईँ, प्रचण्डकी छोरी, स्वकीय सचिव महरा लगायत २४ जना छन् । उनीहरुसँगै तातोपानी कुण्ड अवस्थित वडा सिंगामा जन्मिएका राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ पनि आएका छन् । प्रचण्ड पछिल्लो पटक प्रधानमन्त्री हुँदा श्रेष्ठ योजना आयोगका उपाध्यक्ष थिए ।
म्याग्दी बसाइका लागि उनीहरुले बेनीको याक होटल बुक गरेका छन् । बेनीबाट तातोपानी कुण्ड पुग्न सात किलोमिटर कच्ची बाटो हिड्नुपर्छ । उनीहरुको स्नानका लागि मंगलबारदेखि छुट्टै समय तालिका बनाइने भएको छ ।
सुरक्षा सर्तकता अपनाएर आवश्यक ठाउँमा पर्याप्त मात्रामा सुरक्षाकर्मी खटाइएको प्रजिअ लीलाधर अधिकारीले बताए ।
प्रचण्ड र बादलको टोलीलाई तातोपानी कुण्ड ब्यवस्थापन समितिका पदाधिकारीले स्वागतका साथै कुण्डको इतिहास, गतिविधि, समस्या र योजनाबारे जानकारी गराएका थिए ।
तातोपानी हुँदै म्याग्दीको पश्चिमी क्षेत्रलाई जोड्ने बेनी–दरबाङ सडक कालोपत्रे योजनालाई पूर्णता दिन, कुण्ड र बजारलाई म्याग्दी नदीको कटानबाट जोगाउन संरक्षण योजनालाई प्राथमिकता दिन अनुरोध गरिएको ब्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए ।
‘उच्च राजनितिक तहका व्यक्तित्व र उहाँका परिवार स्नानका लागि आएकाले तातोपानी कुण्डको महत्व अझै बढ्ने र प्रचारप्रसार हुने विश्वास छ, अध्यक्ष शाक्यले भने ‘तातोपानी कुण्डलाई अन्तराष्ट्रियस्तरको प्राकृतिक उपचार र पर्यटकीय स्थलको रुपमा विकास गराउन प्रस्ताव गरेका छौ ।’
कुण्डमा यसअघि नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी, नेकपा क्रान्तिकारीका नेता सिपी गजुरेल लगायत राजनितिक र प्रशासनीक क्षेत्रका उच्च तहका व्यक्तिहरुले स्नानका लागि आएका थिए ।
व्यवस्थापन समितिका सहसचिव कुमार केसीका अनुसार गत वर्ष १६ हजार ९०० जनाले उपचारका लागि स्नान गरेका कुण्डमा थप पाँच हजार जना अवलोकन भ्रमणका लागि आएका थिए ।
बिरेनुनको गन्धमा निस्कने तातोपानी संकलन गरिएको कुण्डमा स्नान गरेमा ग्यास्ट्रिक, गानो गोला, चोट पटक लागेको, सर्के मर्केको, नशा, हाडजोर्नी सम्बन्धि समस्या निको हुने जनविश्वास छ ।
तीन सय जनाले स्नान गर्न सक्ने पोखरी बनाइएको छ । अस्पतालहरुमा उपचार गराउँदा समेत निको नभएको रोग तातोपानीमा स्नान गरेर स्वास्थ्य लाभ भएको उपचारका लागि आएकाहरु बताउँछन् ।
तातोपानीमा सल्फर भएकाले एक व्यक्तिको रोग अर्कामा नसर्ने व्यवस्थापन समितिका सचिव कृष्ण खड्काले बताए । एक्लै स्नान गर्न चाहने र विशिष्ट ब्यक्तिहरुका लागि प्राकृतिक तातोपानीले स्नान गर्न मिल्ने तीन वटा बाथटप (स्नानगृह) पनि सचालनको तयारी गरिएको छ ।
कुण्डमा दश दिनसम्म स्नानका लागि प्रतिव्यक्ति तीन सय रुपैयाँ शूल्क तिर्नुपर्छ । कुण्डबाट भएको आम्दानी कर्मचारीको तलब, भौतिक पूर्वाधार निर्माण, नदी नियन्त्रणका साथै स्नानीय सरस्वती माविका निजी स्रोतका शिक्षकको तलबभत्तामा परिचालन गरिने व्यवस्थापन समितिका कोषाध्यक्ष तुलप्रसाद श्रेष्ठले बताए । कुण्डले गत वर्ष विद्यालयका शिक्षकको तलबका लागि २२ लाख रुपैयाँ उपलब्ध गराएको थियो ।


प्रतिक्रिया दिनुहोस !