धर्तीको एक टुक्रो 'स्वर्ग' रामारोशन (फोटो फिचर)

धर्तीको एक टुक्रो 'स्वर्ग' रामारोशन (फोटो फिचर)

रामारोशन (अछाम) : अछामको रामारोशन गाउँपालिका-५ मा अवस्थित छ, रामारोशन क्षेत्र । यहाँको जयगढदेखि करिब ४० किलोमिटरको कच्ची सडक छिचोल्दै रामारोशन क्षेत्र पुग्न सकिन्छ । 

पर्यटकीय दृष्टिले ‘स्वर्ग’ मानिने रामारोशन क्षेत्र पुग्ने जो कोहीले एकैक्षणमा लामो यात्राको थकान मेटिन्छ । १२ बण्ड र १८ खण्डका नामले प्रख्यात यो क्षेत्रमा विशेष गरी नयाँ वर्षको समय अनुकूल मानिन्छ ।

हरेक वर्ष फागुनदेखि असारसम्म रामारोशन घुम्न आउने पर्यटकका लागि मौसमले पनि साथ दिन्छ । त्यहाँको मनमोहक दृश्यले सबैको मन प्रफुल्ल बनाउँछ । 

चारैतिर अग्ला पहाडका चुचुरा अनि घना जङ्गलबिचका ताल र घाँसेमैदानले जो कोहीलाई मोहनी लगाउँछ । बहुमूल्य जडीबुटी, लोपोन्मुख जनावरसहित त्यहाँको हरियाली र प्राकृतिक सम्मिश्रणले मनमोहक लाग्छ । 

प्रकृतिको सजावट 

अछामको उत्तर-पूर्वी क्षेत्रमा पर्ने रामारोशन क्षेत्र जिल्ला हुँदै बग्ने कैलाश नदीको उद्गमस्थल पनि हो । रामारोशन क्षेत्र भएरै अछामको बिच भाग हुँदै यो नदी बग्ने गर्छ । 

यो क्षेत्रमा रहेका १२ बण्ड अर्थात् तालहरूमध्ये सबैभन्दा ठुलो जिइगाले ताललाई मानिन्छ । यो ताल एस आकारमा फैलिएको छ । यहाँ रहेका हरेक तालको परिक्रमा गर्नै घण्टौँ लाग्ने गर्छ । रामारोशन क्षेत्रको जङ्गलमा जिंगालेसहितका थुप्रै ताल छन् । 

तालैतालको क्षेत्र 

यहाँका बाटुले ताल, लामी दह, तल्लो धाउने, रगाडे, लिस्सेडाली, गाग्रे, ताउले, दल्याना, डउठे, बाउले गडा, रामे ताल लगायतका ताललेसमेत रामारोशन क्षेत्रको आकर्षण बढाएका छन् । 

यहाँ तालहरुमात्रै छैनन्, अग्ला पनि उत्तिकै आकर्षक छन् । अझै ती पहाडको फेदीका किनिमिनी मैदान लगायत अन्य घाँसे मैदानका फाँटले यो क्षेत्रलाई धर्तीकै ‘स्वर्ग’बनाइदिएको छ ।

जनावर र जडीबुटी पनि

यहाँ रहेका तालहरूमा थुप्रै जातका माछा रहनुका साथै जङ्गलमा विभिन्न जातका चराचुरुङ्गी समेत देख्न पाइन्छ । स्थानीयवासीका अनुसार यहाँका ताल, विशाल मैदान, पहाड र जडीबुटी लगायतका जीव जनावरकै कारण यो क्षेत्र प्राकृतिकरुपम मनोरम छ । 

स्थानीयवासी खड्गसिंह रोकायाका अनुसार यहाँ पाइने घोरल, झारल, थार, बाघ, भालु, बँदेल, रतुवा र कालिज जस्ता जनावर तथा चराचुरुङगीले पनि रामारोशनको महत्त्व अझ बढाएको छ ।

नामको अर्थ 

रामे र रोशन नाम गरेका दुई दाजुभाइको नामबाट यस क्षेत्रको नाम रामारोशन रहेको किम्बदन्ती यहाँका मानिस सुनाउँछन् । एकथरीले यो क्षेत्रमा शिव–पार्वती बस्ने गरेककाले नै रामारोशन नामकरण भएको बताउँछन् । 

रामारोशन क्षेत्रको माथिल्लो भागमा देखिने पत्थर र चट्टानसहितको पहाडलाई चाकाडाँडाका रूपमा बुझ्ने गरिन्छ । यो डाँडाको टुप्पोदेखि तराईका विभिन्न जिल्लाको बिजुलीको उज्यालो प्रस्ट देख्न सकिने यहाँका मानिस बताउँछन् ।

बिच भागमा रहेको किनिमिनी मैदानसहितका अन्य फाँटहरू उपत्यका क्षेत्र भन्दा कम देखिँदैनन् । यो मैदानमा द्वन्द्वकालमा तत्कालीन माओवादीले आफ्ना लडाकुहरुलाई प्रशिक्षण दिने केन्द्र बनाएको थियो । 

कर्णाली प्रदेशको कालिकोट र बाजुराको दक्षिणमा अवस्थित यो क्षेत्र समुद्री सतहदेखि २ हजार ५ सय मिटरको उचाइमा छ । तर यसको यकिन मापन भने भएको छैन । 

कहाँबाट जाने ? 

रामारोशनसम्म पुग्न सुदूरपश्चिम प्रदेशको राजधानी तेघरीदेखि डडेलधुराको स्याउले, दिपायल–सिलगढी हुँदै अछामको जयगढसम्म पक्की सडक मार्ग छ । त्यहाँदेखि रामारोशनसम्म कच्ची सडकबाट पुग्ने गरिन्छ । अछाम सदरमुकाम मंगलसेनबाट कच्ची सडकमा जिपको यात्रा गरी त्यहाँ पुग्न सकिन्छ । 

राज्यको बेवास्ता

रामारोशन पर्यटनका लागि राम्रो सम्भावना भएको क्षेत्र हो तर राज्यको ध्यान जान सकेको छैन । त्यहाँसम्म पुग्ने सडकको सतरोन्ति हुनु जरुरी देखिन्छ भने विद्युत् र सञ्चारको सेवा विस्तारसँगै पर्यटकका लागि होटेलसमेत स्थापना हुनु जरुरी छ । उद्यपि स्थानीयस्तरमा केही गेस्ट हाउस भने सञ्चालित छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.