धर्तीको एक टुक्रो 'स्वर्ग' रामारोशन (फोटो फिचर)
रामारोशन (अछाम) : अछामको रामारोशन गाउँपालिका-५ मा अवस्थित छ, रामारोशन क्षेत्र । यहाँको जयगढदेखि करिब ४० किलोमिटरको कच्ची सडक छिचोल्दै रामारोशन क्षेत्र पुग्न सकिन्छ ।
पर्यटकीय दृष्टिले ‘स्वर्ग’ मानिने रामारोशन क्षेत्र पुग्ने जो कोहीले एकैक्षणमा लामो यात्राको थकान मेटिन्छ । १२ बण्ड र १८ खण्डका नामले प्रख्यात यो क्षेत्रमा विशेष गरी नयाँ वर्षको समय अनुकूल मानिन्छ ।
हरेक वर्ष फागुनदेखि असारसम्म रामारोशन घुम्न आउने पर्यटकका लागि मौसमले पनि साथ दिन्छ । त्यहाँको मनमोहक दृश्यले सबैको मन प्रफुल्ल बनाउँछ ।
चारैतिर अग्ला पहाडका चुचुरा अनि घना जङ्गलबिचका ताल र घाँसेमैदानले जो कोहीलाई मोहनी लगाउँछ । बहुमूल्य जडीबुटी, लोपोन्मुख जनावरसहित त्यहाँको हरियाली र प्राकृतिक सम्मिश्रणले मनमोहक लाग्छ ।
प्रकृतिको सजावट
अछामको उत्तर-पूर्वी क्षेत्रमा पर्ने रामारोशन क्षेत्र जिल्ला हुँदै बग्ने कैलाश नदीको उद्गमस्थल पनि हो । रामारोशन क्षेत्र भएरै अछामको बिच भाग हुँदै यो नदी बग्ने गर्छ ।
यो क्षेत्रमा रहेका १२ बण्ड अर्थात् तालहरूमध्ये सबैभन्दा ठुलो जिइगाले ताललाई मानिन्छ । यो ताल एस आकारमा फैलिएको छ । यहाँ रहेका हरेक तालको परिक्रमा गर्नै घण्टौँ लाग्ने गर्छ । रामारोशन क्षेत्रको जङ्गलमा जिंगालेसहितका थुप्रै ताल छन् ।
तालैतालको क्षेत्र
यहाँका बाटुले ताल, लामी दह, तल्लो धाउने, रगाडे, लिस्सेडाली, गाग्रे, ताउले, दल्याना, डउठे, बाउले गडा, रामे ताल लगायतका ताललेसमेत रामारोशन क्षेत्रको आकर्षण बढाएका छन् ।
यहाँ तालहरुमात्रै छैनन्, अग्ला पनि उत्तिकै आकर्षक छन् । अझै ती पहाडको फेदीका किनिमिनी मैदान लगायत अन्य घाँसे मैदानका फाँटले यो क्षेत्रलाई धर्तीकै ‘स्वर्ग’बनाइदिएको छ ।
जनावर र जडीबुटी पनि
यहाँ रहेका तालहरूमा थुप्रै जातका माछा रहनुका साथै जङ्गलमा विभिन्न जातका चराचुरुङ्गी समेत देख्न पाइन्छ । स्थानीयवासीका अनुसार यहाँका ताल, विशाल मैदान, पहाड र जडीबुटी लगायतका जीव जनावरकै कारण यो क्षेत्र प्राकृतिकरुपम मनोरम छ ।
स्थानीयवासी खड्गसिंह रोकायाका अनुसार यहाँ पाइने घोरल, झारल, थार, बाघ, भालु, बँदेल, रतुवा र कालिज जस्ता जनावर तथा चराचुरुङगीले पनि रामारोशनको महत्त्व अझ बढाएको छ ।
नामको अर्थ
रामे र रोशन नाम गरेका दुई दाजुभाइको नामबाट यस क्षेत्रको नाम रामारोशन रहेको किम्बदन्ती यहाँका मानिस सुनाउँछन् । एकथरीले यो क्षेत्रमा शिव–पार्वती बस्ने गरेककाले नै रामारोशन नामकरण भएको बताउँछन् ।
रामारोशन क्षेत्रको माथिल्लो भागमा देखिने पत्थर र चट्टानसहितको पहाडलाई चाकाडाँडाका रूपमा बुझ्ने गरिन्छ । यो डाँडाको टुप्पोदेखि तराईका विभिन्न जिल्लाको बिजुलीको उज्यालो प्रस्ट देख्न सकिने यहाँका मानिस बताउँछन् ।
बिच भागमा रहेको किनिमिनी मैदानसहितका अन्य फाँटहरू उपत्यका क्षेत्र भन्दा कम देखिँदैनन् । यो मैदानमा द्वन्द्वकालमा तत्कालीन माओवादीले आफ्ना लडाकुहरुलाई प्रशिक्षण दिने केन्द्र बनाएको थियो ।
कर्णाली प्रदेशको कालिकोट र बाजुराको दक्षिणमा अवस्थित यो क्षेत्र समुद्री सतहदेखि २ हजार ५ सय मिटरको उचाइमा छ । तर यसको यकिन मापन भने भएको छैन ।
कहाँबाट जाने ?
रामारोशनसम्म पुग्न सुदूरपश्चिम प्रदेशको राजधानी तेघरीदेखि डडेलधुराको स्याउले, दिपायल–सिलगढी हुँदै अछामको जयगढसम्म पक्की सडक मार्ग छ । त्यहाँदेखि रामारोशनसम्म कच्ची सडकबाट पुग्ने गरिन्छ । अछाम सदरमुकाम मंगलसेनबाट कच्ची सडकमा जिपको यात्रा गरी त्यहाँ पुग्न सकिन्छ ।
राज्यको बेवास्ता
रामारोशन पर्यटनका लागि राम्रो सम्भावना भएको क्षेत्र हो तर राज्यको ध्यान जान सकेको छैन । त्यहाँसम्म पुग्ने सडकको सतरोन्ति हुनु जरुरी देखिन्छ भने विद्युत् र सञ्चारको सेवा विस्तारसँगै पर्यटकका लागि होटेलसमेत स्थापना हुनु जरुरी छ । उद्यपि स्थानीयस्तरमा केही गेस्ट हाउस भने सञ्चालित छन् ।














प्रतिक्रिया दिनुहोस !