एक महिनामै १४ को हत्या
दाङ : ५ नम्बर प्रदेशमा एक महिनाकै अवधिमा १४ जनाको हत्याको तथ्यांक सार्वजनिक भएको छ ।
प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता डिएसपी पुस्पराज मल्लका अनुसार दशैँको घटस्थापनादेखि तिहारको दिनसम्म अवधिमा १४ जनाको हत्या भएको हो ।
प्रदेशका १२ जिल्लाका विभिन्न स्थानमा १४ जनाको विभिन्न प्रकृतिले हत्या भएको तथ्यांक सार्वजनिक भएको हो । प्रदेश प्रहरीका अनुसार १२ घटनामा ९ पुरुष र ५ महिला गरी १४ जनाको हत्या भयो । जसमध्ये २ जनाको गोली प्रहारबाट हत्या भयो भने अन्यको कर्तव्यज्यानबाट हत्या भएको थियो ।
हत्याको घटनामा संलग्न भएको आरोपमा ३१ जना पक्राउ परेका छन् । यस अवधिमा ४१ वटा कुटपिटका र ८ वटा चक्कु÷छुरी प्रहारका घटनामा ८२ जना घाइते भएका छन् । घटनामा संलग्न ५२ जनालाई नियन्त्रणमा लिइएको छ ।
३ सय ६७ दुर्घटना, ४१ को मृत्यु
सोही अवधिमा प्रदेश पाँचका विभिन्न स्थानमा भएको सवारी दुर्घटामा ४१ जनाको ज्यान गएको छ । प्रदेश नं ५ जिल्लाहरुमा दशैँ र तिहारबीचको एक महिना अवधिमा ३ सय ६७ वटा दुर्घटना भए । दुर्घटनामा परी ४१ जना मानिसले ज्यान गुमाएको प्रहरीले बताएको छ । यस क्रममा ४ सय ५४ सावारी साधन दुर्घटनामा परेका थिए ।
प्रदेश नं ५ अन्तर्गत १२ जिल्लामा गत असोज २४ गतेदेखि कात्तिकको २४ गतेसम्म ३ सय ६७ सवारी दुर्घटना हुँदा ४ सय ५४ सवारी साधन प्रत्यक्ष रुपमा प्रभावित भएको प्रदेश प्रहरी प्रवक्ता मल्लले जानकारी दिए । दुर्घटनामा परी ४१ जनाको मृत्यु र ६ सय ६२ जना घाइते भएका छन ।