सुन तस्करी प्रकरण : सिलवाल र खेतानलाई पनि धरौटीमा छाड्न आदेश
विराटनगर : बहुचर्चित साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा थुनामा रहेकामध्ये दुईजनालाई उच्च अदालत विराटनगरले बिहीबार धरौटीमा छाड्न आदेश दिएको छ ।
मुद्दाका अभियुक्तहरु मदन सिलवाल र सञ्जय खेतान भनिने प्रभात अग्रवाललाई धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।
उच्च अदालत विराटनगरका न्यायाधीश उमेशकुमार सिंह र साधुराम सापकोटाको संयुक्त इजलासले अग्रवाल र सिलवालसंग जनही पाँच÷पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ ।
अभियुक्तहरु अग्रवाल र सिलवाललाई थुनामा राखेर पुर्पक्ष गरिरहनुपर्ने जिल्ला अदालत मोरङको आदेश रितपूर्वक नभएकोले धरौटीमा बाहिरै बसेर पुर्पक्ष गर्न पाउने गरी आदेश भएको उच्च अदालत विराटनगरका रजिष्ट्रार नारायणप्रसाद रेग्मीले जानकारी दिए ।
अदालतको आदेशपछि उनीहरु धरौटी रकम बुझाएर रिहा भएका छन् । दुवैजना यसअघि जिल्ला अदालत मोरङको आदेशमा पुर्पक्षका लागि कारागार चलान भएका थिए ।