स्थायी राजधानीको विषयले प्रदेशसभा बैठक अनिश्चित

स्थायी राजधानीको विषयले प्रदेशसभा बैठक अनिश्चित

हेटौंडा : तीन नम्बर प्रदेशको स्थायी राजधानीको विषयले प्रदेशसभा बैठक अनिश्चित भएको छ। स्थायी राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले गत असोज २२ गते प्रतिवेदन पेस गरेपछि बैठक बस्न सकेको छैन। प्रदेशसभा सदस्यबीचको छलफल सहमतिमा नपुगेपछि राजधानी टुंगो लगाउने जिम्मा सत्तारुढ नेकपाको केन्द्रीय नेतृत्वले पाएको छ।

यसको टुंगो नलागेसम्म बैठक बस्ने सम्भावना नरहेको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले बताए। ‘सबै प्रदेशसभा सदस्यलाई सहमतिमा ल्याउन केन्द्रीय नेतृत्वसँग पनि कुराकानी भइरहेको छ’, मन्त्री जमकट्टेलले भने, ‘बैठक बस्न समय लागे पनि सहमतिमै टुंगिने सम्भावना बढी छ।’

कतिपय प्रदेशसभा सदस्यले मतदान प्रक्रियाबाट राजधानीको टुंगो लगाउनुपर्ने माग गरेका छन्। मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठसहित मन्त्रीहरू सहमति जुटाउनुपर्ने पक्षमा देखिएका छन्। केन्द्रीय नेतृत्व र प्रदेशसभा सदस्यबीच आफूले पुलको काम गरिरहेको सभामुख श्रेष्ठले बताए। ‘सबै मिलेर प्रदेशको विकासमा लाग्नुपर्ने भएकाले सकेसम्म कुनै पनि विषयमा विभाजित हुने अवस्था आउनु हुँदैन’, उनले भने, ‘प्रदेशको नामकरणका विषयमा पनि सहमति भए राम्रो हुनेछ।’

समितिको प्रतिवेदनमा काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर उपयुक्त हुने प्रस्ताव गरिएको छ। मुख्यमन्त्री पौडेलले दुई साताभित्र यसबारे टुंगो लाग्ने बताएका छन्। ‘अब बस्ने प्रदेशसभा बैठकले यसबारे निर्णय गर्छ’, उनले भने, ‘सबैको चासो भएकाले यसबारे निर्णय गर्न बस्ने बैठकको तयारी अलि लामो हुनु स्वाभाविकै हो।’

एक साताअघि बसेको नेकपा सचिवालय बैठकमा यही विषयले प्रवेश पाए पनि निर्णय भएन। ‘पार्टी केन्द्रको धारणा नआई अघि बढ्न समस्या छ। स्थायी राजधानी आआफ्नो ठाउँमा लैजान नेताहरू लबिङमा छन्’, एक प्रदेश मन्त्रीले भने, ‘तर, पार्टीका दुई अध्यक्षबीच यसबारे समझदारी नभएसम्म हामीले हस्तक्षेप गरेर प्रक्रिया अघि बढाउन सक्ने अवस्था छैन।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.