स्मार्ट क्याम्पसको सहयोगार्थ धार्मिक महोत्सव
गुलरिया : बारबर्दिया नगरपालिका-१० स्थित बैदीमा अवस्थित जनसेवा बहुमुखी क्याम्पसलाई ५ नम्बर प्रदेशकै स्मार्ट क्याम्पस निर्माणका लागि रकम जुटाउन धार्मिक महोत्सव हुने भएको छ। नमूनाको रुपमा एउटा स्मार्ट कक्षा संचालन गर्दै आइरहेको क्याम्पसले थप ८ वटा कक्षा निर्माणका लागि धार्मिक महोत्सव गर्न थालिएको हो।
मंसिर १ गते देखि ८ गतेसम्म क्याम्पसको प्रांगणमा बारबर्दिया बैदी शैक्षिक तथा धार्मिक महोत्सव सुरु गरिने मूल आयोजक समितिका संयोजक भक्तबहादुर विकले बताए।
उनले भने,' क्याम्पसलाई ५ नम्बर प्रदेशस्तरीय स्मार्ट क्याम्पस निर्माणार्थ आर्थिक अभावका कारण धार्मिक महोत्सव गर्न लागेका हौं।' धार्मिक महोत्सवमा गोविन्द शरण महाराजको संकल्पले आध्यात्मिक प्रखर कथा बाचक पण्डीत ऋषिकेश पोख्रेलबाट दैनिक प्रवचनको कार्यक्रम राखिएको छ।
उनले थपे क्याम्पसमा आधुनिक कक्षा संचालनका लागि आर्थिक सहयोग जोहो गर्ने उद्देश्यले आयोजना गरिएको यस क्षेत्रकै भव्य धार्मिक महोत्सवमा सबैको सहयोग र सहकार्य हुने अपेक्षा हाम्रो छ। सबैलाई महोत्सवमा सहभागी हुन उनले निमन्त्रणा समेत दिए। सबै मिलेर यसलाई सफल पार्दै यस क्षेत्रका विद्यार्थीको आधुनिक शिक्षा अध्ययन गर्न पाउने अधिकारको रक्षा गर्नुपर्ने उनले दोहोर्याए।
क्याम्पसमा ८ वटा स्मार्ट कक्षा संचालन गर्न करिब ७० लाख अनुमानित खर्च आवश्यक रहेको क्याम्पस प्रमुख नारायण कुमार श्रेष्ठले बताए। उनले भने, 'एउटा कक्षाका लागि साढे ८ लाख खर्च हुने अनुमान गरेका छौं। स्मार्ट कक्षाहरुमा प्रोजेक्टर, बोर्ड, सीसी क्यामेरा, एसी, जिप्सन बोर्डलगायतका उपकरण जडान गर्नुपर्ने भएकाले खर्चिलो हुन्छ।' उनले थपे,' हामीले नमूनास्वरुप एउटा स्मार्ट कक्षा संचालनमा ल्याइसकेका छौं।'
अन्य कक्षाहरु संचालनमा आर्थिक समस्या परेकाले क्याम्पसले धार्मिक महोत्सवका रुपमा महायज्ञ आयोजना गरेको हो । उनले भने,' यज्ञमा दैनिक बिहान पूजापाठ, पारायण, दिउँसो कथाप्रवचन, झाँकी प्रर्दशन र बेलुकी भजन, किर्तन हुनेछ।' सोही अवसरमा सहस्र शालिकराम पूजन, विराठ धान्याञ्चल महापर्व, पितृमुक्ती पूजा, ब्रतवन्ध, विवाह, ग्रहशान्ति लगायतका धार्मिक तथा साँस्कृतिक अनुष्ठानहरु संचालन हुन्छ।धार्मिक महोत्सवबाट उठेको रकमले क्याम्पसमा स्मार्ट कक्षाहरु निर्माणका लागि खर्च गरिने उनले बताए।