चितुवाको डीएनए टेस्ट !
सन्धिखर्क : अर्घाखाँचीमा पाँच वर्षमा २४ बालबालिका चितुवाको आक्रमणमा परे । १४ जनाको त ज्यानै गयो । नरभक्षी चितुवाको आतंकबाट सन्धिखर्क, किमडाँडा, अर्घा, खाँचीकोट, ढिकुरा, नुवाकोटलगायत गाउँका स्थानीय त्रस्त थिए । कति त गाउँ छाड्नै बाध्य भए ।
२४ कात्तिकमा ढिकुरा पियालेमा थापिएको पासोमा परेर एउटा चितुवा मारियो । चितुवा मरेपछि स्थानीयको खुसीको सीमा रहेन । तर, ज्यानमारा चितुवा त्यही हो त ? छ्यानब्यान गर्न डीएनए टेस्ट गर्न लागिएको छ ।
डीएनए जाँच्न मरेको चितुवाको रगत र र्याल काठमाडौं पठाइएको सहायक वन अधिकृत शीला पोखरेलले बताइन् । गत शनिबार साँझ चितुवाको आक्रमणबाट पियालेमा चार बर्से बालकको ज्यान गएको थियो । जंगलमा बच्चा भेटिएको स्थानको नमूना र बच्चाको रगत समेत परीक्षणका लागि पठाइएको छ ।
अर्घाखाँचीमा चितुवा आक्रमणमा १४ जना मारिएको र १० जना घाइतेको उपचार गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । गत शनिबार समेत बालकको ज्यान लिएपछि चितुवा मार्न प्रहरी परिचालन गरिएको थियो । तर प्रहरीले चितुवा फेला पार्न सकेन । त्यसपछि स्थानीयले बाघखोर बनाएका थिए ।
तीन ठाउँमा फलामे खोर थापिएको थियो । त्यही खोरमा परेको चितुवा उद्धार गर्न खोज्दा मारिएको हो । मरेको पोथीको तौल अन्दाजी ३५ केजी, लम्बाइ एक सय २४ सेन्टिमिटर, उचाइ ६० सेन्टिमिटर र कम्मरको गोलाइ ५४ सेन्टिमिटर रहेको सहायक अधिकृत पोखरेलले बताइन् ।
जिल्लावासी लामो समयदेखि चितुवा आक्रमणबाट पीडित थिए । स्थानीयले चितुवा मारिपाऊँ भनी प्रशासनसमक्ष हारगुहार गरिरहेका थिए । तर न चितुवाको आक्रमण रोकियो, न प्रशासन नै मार्न लागिपर्यो । बालबालिका मारिने क्रम भने चलिरह्यो । यसकारण स्थानीय आक्रोशित थिए ।
चितुवा बालबालिकाका लागि आतंक बनेको थियो । केटाकेटी स्कुल जान, घाँसदाउरा गर्न तथा गाईबाख्रा चराउन पनि डराउने गरेको ढिकुराका खिमप्रसाद मरासिनीले बताए । ती ठाउँमा केटाकेटी लिएर पाहुनापाछा आउने अवस्थासम्म थिएन ।
सुरक्षा दिन असफल भएको आरोप प्रशासनले खेपिरहेको थियो । पछिल्लो समय प्रशासनले सशस्त्र, नेपाल प्रहरी र वनका सुरक्षाकर्मीसहित ४५ जनाको टोली परिचालन गरेको थियो । वन कार्यालयको टोली, जनप्रतिनिधि र स्थानीय मिलेर चितुवाको खोजी गरिरहेका थिए ।
चितुवाले ठूलो मानवीय क्षति गरेपछि अर्घाखाँचीवासीले जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न समेत माग राखेका थिए ।