निर्मला बलात्कार–हत्या प्रकरण : न्यायका लागि अझै कति कुर्ने ?
महेन्द्रनगर : छोरीका हत्यारा सार्वजनिक गरेर न्याय देऊ भन्दाभन्दै ४ महिना बित्न लागिसक्यो, अहिलेसम्म छोरीले न्याय पाएकी छैन। अझै कति महिना कुर्नुपर्ने हो ? म निकै थकित भइसकेकी छु। म र मेरो परिवार छोरीका हत्यारा पक्राउ गर र न्याय देऊ भन्दै भौंतारिएको धेरै भयो। शुक्रबार दिउँसो अनिश्चितकालीन धर्ना बसिरहेको स्थानमा पुगेका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहसमक्ष बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तकी आमा दुर्गादेवीले पोखेको गुनासो हो यो।
निर्मलाको बलात्कारपछि हत्या भएको १ सय १४ दिन बितिसक्दासमेत हत्यारा पक्राउ पर्न सकेका छैनन्। बुवाआमासहित परिवार छोरीका हत्यारा सार्वजनिक गर्न भन्दै ६ दिनदेखि धर्नामा छन्। ‘अहिलेसम्म अपराधी पत्ता नलाग्नुको कारण के हो, सरकारले हामीलाई भनिदिनुपर्यो’, उनले भनिन्, ‘यति लामो समय भयो, हत्यारा पत्ता नलाग्दा निकै पीडा खप्नुपरेको छ।’
‘न्यायका लागि यतिसम्म गरिसक्यौं, अब के गर्दा न्याय पाइने हो’, उनले भनिन्। घरमा रहेका २ वटी छोरीको समेत मनोबल घटेको छ। उनले सरकारले बलियो कानुन निर्माण गर्नुपर्ने बताइन्। ‘उनले भनिन्, ‘निर्मलाले न्याय पाए मात्रै सबैले न्याय पाउनेछन्।’ ‘राज्यसँग मैले अरू केही मागेको छैन, केवल छोरीका बलात्कारी र हत्यारा सार्वजनिक गरिदिन भनेको छु’, यज्ञराजले भने, ‘अहिलेसम्म पनि न्याय नपाउनु किन, सरकारले कि सक्दिैनँ भन्नुप¥यो।’ उनले प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीसमक्ष छोरीका हत्यारा सार्वजनिक गरी न्याय नपाएसम्म आफूले धर्ना नछाड्ने बताए।
मन्त्री शाह धर्नामा बसेको निर्मलाका बुवाआमाको स्वास्थ्यमा समस्या आएपछि भेट्न धर्नास्थलमै पुगेका हुन्। उनले सरकारले विभिन्न छानबिन समिति बनाएर गहन अनुसन्धान गरिरहेको बताए। ‘अपराधी कुनै हालतमा उम्कने छैन, अनुसन्धान भइरहेको छ’, उनले भने, ‘ठोस परिणाम आउन सकेको छैन, प्रदेश सरकारले पनि केन्द्रसँग समन्वय गरेर घट्नाको अनुसन्धानमा संवेदनशील भएको छ।’
मन्त्री शाहले अनिश्चितकालीन धर्नामा बसेका बुवाआमा दुवैलाई आफ्नो स्वास्थ्यको ख्याल गर्नसमेत आग्रह गरे। उनी प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको सन्देश लिएर कञ्चनपुर आएका थिए। धर्नामा बसेका बुवाआमासहित परिवारलाई भेटेपछि मन्त्रीले सुरक्षा निकायसँग छलफलसमेत गरेका थिए।
चारै जनाको डीएनए म्याच भएन
यसैबीच, निर्मला पन्त बलात्कार र हत्या प्रकरणको अनुसन्धान क्रममा शंकास्पद ४ जनाको परीक्षण गरिएको डीएनए रिपोर्ट नेगेटिभ देखिएको छ। प्रहरीले दुई साताअघि शंकास्पद ४ जनाको डीएनए परीक्षणका लागि रगतको नमुना संकलन गरी पठाएको थियो। केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएको रगतको नमुना म्याच नभएको कञ्चनपुरका प्रहरी प्रवक्ता एवं अनुसन्धान अधिकृत डीएसपी कृष्णराज ओझाले जानकारी दिए। चारै जनाको नाम गोप्य राखिएको छ। प्रहरीका अनुसार अनुसन्धान अझै गहन रूपमा अघि बढाइएको छ।
‘घटनाको अनुसन्धान विभिन्न कोणबाट गरिँदै छ’, डीएसपी ओझाले भने, ‘आवश्यक परे शंकास्पद सबैको डीएनए परीक्षण गरिनेछ।’ उनले अहिल्यै कति जनाको डीएनए परीक्षण गर्ने यकिन भइनसकेको बताए। प्रहरीका थुप्रै समिति हत्या प्रकरणको अनुसन्धानमा खटिए पनि ठोस परिणाम भने आउन सकेको छैन।
अनुसन्धानका क्रममा यसअघि प्रहरीले भदौ ४ गते अभियुक्त करार गरेका भीमदत्त नगर–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्ट र चक्रदेव बडूको डीएनए परीक्षण गरेको थियो। दुवैको नतिजा नेगेटिभ आएको थियो। त्यसपछि आन्दोलनकारीको दबाबमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण र महेन्द्रनगरकै अर्का युवक आयुष विष्टको समेत डीएनए परीक्षण गरेको थियो। उनीहरू तीनै जनाको डीएनए मिलेको थिएन।
साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको थियो। साथी रोशनी बमको घरमा गृहकार्य गर्न गएकी उनको साउन ११ गते वडा नम्बर १८ र २ को सीमामा पर्ने निम्बुखेडा खोलानजिकै रहेको उखुबारीमा शव भेटिएको थियो।
प्रतिक्रिया दिनुहोस !