भाइटीकाकै दिन दिदीको हत्या गर्ने भाइ पक्राउ
भोजपुर : भाइटीकाकै दिन आफ्नै दिदीलाई काठको फल्याक प्रहार गरी हत्या गरेको आरोपमा भाइ पक्राउ परेका छन्।
रामप्रसाद राई गाउँपालिका ७, बासीखोराका ४५ वर्षीय सुमन राईले आफ्नै दिदी ४७ वर्षीया सरिता राईको हत्या गरेको खुलेको थियो।
कार्तिक २३ अर्थात् भाइटीकाकै दिन साँझ करिब पौने ६ बजेतिर आन्तरिक विवाद बढेपछि सुमनले दिदी सरिताको टाउकोमा फल्याकले प्रहार गरी हत्या गरेको प्रहरीसँगको वयानमा स्वीकार गरेका छन्।
गाउँमै अन्य दिदी यशोदा र रुपाको हातबाट भाइ टीका लगाई दिउँसो गाउँमा रमाइलो गर्न गएका सुमन घर आउन ढिला गरेको भन्दै दिदी सरिताले गाली गरेपछि रिसाएका थिए।
दिदीले गाली गरेपछि आक्रोशमा सुमनले फल्याकले प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी चरित्रविक्रम कार्कीले जानकारी दिए।
फल्याक प्रहारबाट सरिताको टाउको क्षतविक्षत भएपछि उनको घटनास्थलमै मृत्यु भएको थियो।
घटनाको अनुसन्धानपश्चात ६ दिनपछि बिहीबार आरोपित राईलाई प्रहरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
राईलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि सात दिनको म्याद थप गरिएको छ।