भोजपुरका पहाडमा टेम्पो

भोजपुरका पहाडमा टेम्पो

भोजपुर : धरान, इटहरी, विराटनगरलगायत तराईका सहरमा प्रशस्त गुड्ने टेम्पो भोजपुरका ग्रामीण भेगमा रहरको सवारी साधन बनेको छ। जरायोटारका देवी गौतमले अरुण गाउँपालिका–५, प्याउली बजारमा अढाई महिनादेखि टेम्पो चलाउन थालेका छन्। यसका लागि वैदेशिक रोजगारी छाडी ५ लाख लगानी गरेको उनले सुनाए। स्थानीयलाई सेवा दिएसँगै उनले राम्रो आम्दानी गर्न थालेका छन्। ‘पहिले काम हुन्थेन, साथीभाइसँग बरालिएरै दिन बित्थ्यो तर यो पेसा अँगालेपछि परिवर्तन आएको छ’, उनले भने, ‘स्थानीयलाई सहज सेवा पुगेको छ। मलाई घर र बालबच्चाको पढाइका लागि खर्च धान्न सजिलो भएको छ।’

प्याउली बजारसम्म सडक पहुँच पुगेकाले तिवारीभञ्ज्याङ, चम्पे, चरम्बी, याङपाङ, याकु, जरायोटारका बासिन्दा टेम्पो चढ्न आउँछन्। शनिबार र बुधबार घुइँचो नै लाग्ने गरेको छ। सडक राम्रो भए यसले ग्रामीण भेगमा अझै बढी सेवा दिने चम्पेकी बबिता राईले बताइन्। पाँच महिनादेखि भोजपुर सदरमुकाममा पनि दुईवटा टेम्पोले सेवा दिइरहेको छ। बजार वरपरका यात्रु बोक्न र सामान ओसारपसार गर्न भ्याइनभ्याइ हुन्छ। शनिबारे हटिया लाइन, बजार क्षेत्र, पानीट्यांकी, देउराली, टक्सार, अस्पताल, विमानस्थललगायत स्थानमा यसले सेवा दिइरहेको छ। सदरमुकाम आसपास सात किलोमिटर दूरीमा पर्ने बोखिम, भैंसीपंखासम्म पनि टेम्पो चल्ने गरेको छ।

किराना सामान ल्याउन टेम्पो सुरक्षित र सुलभ साधन भएको भोजपुर नगरपालिका–५, बोखिमका व्यापारी हरि प्रधानले बताए। ‘कतिपय बसले पसलका सामान बोक्न मान्दैनन्’, उनले भने, ‘बोकिहाले पनि छतमा जथाभावी राखिने हुँदा सुरक्षित हुँदैन। तर, २ सय ५० रुपैयाँ तिरेपछि टेम्पोले सुरक्षित तरिकाले घरै अगाडि ल्याइदिन्छ।’

टेम्पोले देउरालीबाट बजारसम्म १ सय, टक्सारबाट ८ सय, बजारभित्र ५० र हटिया लाइन, पानीट्यांकीबाट बजारसम्म १ सय ५० रुपैयाँ रिजर्भ भाडा लिने गरेको व्यवसायी बताउँछन्। पाँच जनासम्म अटाउने टेम्पोबाट दैनिक ३ हजारदेखि ४ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको व्यवसायी अर्जुन तामाङले सुनाए। हतुवागढी, पौवादुम्मा, आम्चोक गाउँपालिका र भोजपुर नगरपालिकामा तीन दर्जनभन्दा बढी टेम्पो सञ्चालनमा छन्। यसले सुविधा दिन थालेपछि अन्य सवारी साधनले भाडादर घटाएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.