वैदेशिक रोजगारीले सहाराविहीन बाबुअामा
डोटी : शिखर नगरपालिका–१० की ६५ वर्षीया जुनकिरी बलायर सहाराविहीन छन्। रोजगारीका लागि भारत जान्छु भनेर हिँडेको छोरो भगी सम्पर्कविहीन भएपछि उनी एक्लै परेकी हुन्। ‘घर बसेर गुजारा चल्दैन, भारत जान्छु आमा भनेर गएको छोरो खै कहाँ के गर्दै छ थाहा छैन’, जुनकिरीले रुँदै भनिन्, ‘१० वर्षमा बिहे भएको थियो, श्रीमान् बितेको ३१ वर्ष पुग्यो, एउटा छोरो थियो त्यो पनि हराएको १२ वर्ष भयो, अब कसको मुख हेर्नु ? ’
आदर्श गाउँपालिका–२ मा बिहे गरेर पठाएकी छोरीले सुख–दुःखमा साथ दिइरहेकी उनी बताउँछिन्। छोरो हराएपछि छोरीलाई नै सहारा ठानेकी छन् जुनकिरीले। ‘त्यतिबेला छोरो ३० वर्षको थियो’, उनले भनिन्, ‘छोरो भारत गएपछि केही खबर नआएकाले बुहारी पनि एक वर्षपछि अर्को बिहे गरेर गई।’ अहिलेसम्म त मेलापात गरेर खाएँ, अब काम गर्न सक्दिनँ कसरी बाँच्नु ? ’
छोरो खोज्न प्रशासनमा पटक–पटक जानकारी गराएको उनले बताइन्। सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता आफ्नो मुख्य आधार मान्दै आएकी छन्। भन्छिन्, ‘दुःख, बिमारमा छोरीले सहयोग गर्छे, वृद्धभत्ताले आङ ढाक्दै छु।’ डोटीमा जुनकिरीको जस्तो समस्या अन्य परिवारमा पनि रहेको स्थानीय बताउँछन्। शिखर नगरपालिका तथा केआईसिंह गाउँपालिका–६ र ७ मा ६ हजार तीन सय ५० घरधुरीमा लिएको तथ्यांकअनुसार एक सय १७ जना सम्पर्कविहीन छन्। ती सबै रोजगारीका लागि भारत गएका हुन्। उनीहरू वर्षौंदेखि आफन्तसँग सम्पर्कमा नरहेको पाइएको छ। सुरक्षित आप्रवाससम्बन्धी काम गर्दै आएको गैरसरकारी संस्था निड्स नेपालले सो क्षेत्रमा लिएको सर्वेक्षणअनुसार जिल्लाभरि सयौं संख्यामा रोजगारी गर्न भारत जानेहरू हराएका हुन्।
९१ प्रतिशत घरपरिवारका सदस्य रोजगारी गर्न भारत जान्छन् भने २ प्रतिशत तेस्रो मुलुक जाने गरेको अनुगमन अधिकृत दिर्खराज ओझाले जानकारी दिए। कामका लागि भारत जाने र उतै हराउने समस्याले परिवार सहाराविहीन बन्दै गएको ओझाले बताए। डोटीका अधिकांश परिवार भारतमा आ िश्रत छन्। ‘ससुराका बुवादेखि रोजगारीका लागि भारतमा गई घरपरिवार चलाउने गरेको सुनेकी थिएँ’, शिखर नगरपालिका–२ मुडेगाउँकी तुल्सी पार्कीले भनिन्, ‘ससुरा पनि कमाउन भारत जाँदाजाँदै बित्नुभो, अहिले कान्छा ससुरा, श्रीमान्, देवरहरूसमेत भारत जाने गर्छन्।’
रोजगारीका लागि भारत गएन भने घरमा खानसमेत समस्या हुने पार्कीले बताइन्। भनिन्, ‘घरमा काम नभएका बेला आफूहरूसमेत श्रीमानसँगै कमाउन भारत जाने गर्छाैं।’ रामबहादुर भुत्याल भारत जान थालेको १५ वर्ष भयो। उनी पहिला बुवासँग भारत गएका थिए। उनले भने, ‘मेरो छोराले पनि पढ्न सकेको छैन अब उसलाई उतै लैजानुपर्छ।’