सडकका भ्वाङ टाल्न कस्सिए स्थानीय

सडकका भ्वाङ टाल्न कस्सिए स्थानीय

काठमाडौं : मीनभवनबाट पुरानो वानेश्वर निस्कने सूर्यविक्रम ज्ञवाली सडक डेढ किलोमिटर भन्दा लामो छैन। छोटो सडकखण्ड भए पनि भ्वाङै भ्वाङ युक्त हुँदा हिँडी साध्यै छैन। काठमाडौं महानगरपालिका ३१ स्थित यो सडक मर्मतको काम सुरु भएको एक वर्ष भन्दा बढी भइसकेको छ। मिलनचोक, संगमचोक हुँदै पुरानो बानेश्वर पुग्ने यो सडक सरकारी काम समयमै सकिदैनन् भन्ने राम्रो उदाहरण बनेको छ।

सुरुमा सडक विभागले सडक मर्मतको काम सुरु गर्‍यो। उसले नसक्दै मेलम्ची खानेपानी आयोजनाले त्यहाँ पाइप बिच्छ्याउन थाल्यो। पाइप बिच्छ्याएपछि ढलको काम सुरु भयो। एउटा निकायले काम सकाएपछि अर्कोले काम गर्ने रोग यहाँ पनि कायमै रह्यो। तीनवटा सरकारी निकायबीच समन्वय नहुँदा सडक मर्मत हुनुको सट्टा झन् झन् लथालिङ्ग बनेको छ। ढल बनाउँदा पाइप बिगारेको भन्दै खानेपानी संस्थानले सडक विभागलाई जिम्मा लिन भन्यो।

सडक विभाग अलि नरम बनेर यो कामको जिम्मा त लियो, तर काम भने पूरा गरेन। ढलको मङगाल खुलै छाडिदिँदा धेरै दुर्घटना पनि भए। यो सडक खण्डको हरेक पचास मिटरको दुरीमा ठूलाठूला भ्वाङ् खुलै छाडिएको छ। ती भ्वाङ दुर्घटनाका कारक बनेका छन्।

‘मोटरसाइकल र गाडी छिनछिनमा खस्छन्। बच्चा खसेर हराउँलान भन्ने त्रास उस्तै छ’ मीलनचोकका अरुण       श्रेष्ठले भने, ‘हामीले जनप्रतिनिधि, स्थानीय निकाय, सडक विभाग गुहार्‍यौं। सबैले काम हुँदैछ भने मात्रै।’

सरकारी निकायको आश गरेर बस्दा अझै लामो समय लाग्ने देखेका स्थानीयले आफूबीच सल्लाह गरे, ‘आफैं मङ्गाल किन नबनाउने ? ’ सामाजिक अभियन्ता दिनेशकुमार लम्सालले मङ्गाल बनाउन अगुवाइ गरे। उनकै अगुवाइमा शनिबार दुईवटा मङ्गाल बनाइयो। सबैले सक्दो सहयोग गरे। ‘दुईवटा मङगाल बनाउन करिब ५० हजार लाग्यो। स्वतस्फूर्त रूपमा पैसा उठिरहेको छ’, लम्सालले भने।

‘हाम्रै अगाडि धेरै दुर्घटना भए। बच्चालाई स्कुल पुर्‍याउने क्रममा मोटरसाइकल खस्यो। गाडी पसेको त हिसाबै छैन’, मिलनचोकका किराना पसले कृष्णा गौतमले भनिन्, ‘मङगालको प्वालबाट आउने गन्ध र असुरक्षाकै कारण पसलमा ग्राहक आउन छाडे। पसल छाड्नु पर्ने अवस्था आयो। हामै्र सक्रियतामा मङ्गाल बनेपछि ढुक्क छौं।’

यो सडकखण्डमा ट्याक्सी कुदाउनै मुस्किल छ। हामी यो बाटो भएर गुड्नै सक्दैनौ ट्याक्सी चालकद्वय कमल भट्टराई (कपिलवस्तु) र मिलन लामा (सिन्धुली)ले एक साथ भने, ‘मङ्गाल बनाउने काममा सहयोग गर्न पाउँदा आनन्द लागेको छ।’

मिलन चोकका ८२ वर्षीय पहलसिंह सुनार घर अगाडिको धुलाम्मे बाटो नबनेकामा चिन्तित छन्।

‘छिनछिनमा दुर्घटना भयो भन्दै कराउँछन्’, सुनारले भने, ‘धुलोले स्वास्थ्य जोखिममा छ। ट्याक्सी यो बाटो हिँड्नै छाडिसके। बाटोकै कारण व्यापार नभएको भन्दै भाडामा बस्नेले भाडा तिर्न छाडिसके।’

चटपटे बेच्ने राजु शाहले पनि मङ्गाल बनाउन दुईसय रुपैयाँ सहयोग गरे। ‘हिजोको दुई सय कमाई बाटोलाई चन्दा दिएँ। पहिले पहिले तीन हजारसम्म व्यापार हुन्थ्यो। आजकल बाटोकै कारण मान्छे हिँड्नै छाडेका छन्।’

‘वर्षायाममा हामीले कति दुख पायौं भन्ने कुरा शव्दमा वर्णन गर्नै सकिन्न। कर्मचारी र ठेकेदारको मिलेमतोमा काममा ढिलासुस्ती हुँदो रहेछ’, स्थानीय अर्जुन श्रेष्ठले भने।

वडाध्यक्ष नारायण भण्डारी मेलम्चीले समयमा काम नगरिदिँदा बाटो निर्माणमा ढिलाइ भएको बताउँछन्। ‘हाम्रो वडा जनघनत्व धेरै भएको ठूलो वडामध्येमा पर्छ। हामीबाट जनताले धेरै आशा गरेका छन्। लामो समयदेखि पटक्कै काम नहुँदा ढिलासुस्ती हुनु स्वाभाविक नै हो’, उनले भने।

सडक निर्माणको जिम्मा गौरीगणेश निर्माण सेवाले लिएको छ। मेलम्चीको पाइप र ढल राख्दा सडकको अवस्था बिग्रिएको ठेकेदार नारायण       श्रेष्ठले बताए। ‘हामीले दसैंसम्ममा काम सक्ने भनेका थियौं। समयमा काम नभएकै हो। मेलम्चीले फेरि काम सुरु गरेको छ। त्यो सकिनासाथ हामी काम सुरु गछौं।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.