आलु रोप्न व्यस्त
बिर्तामोड : झापा कमल गाउँपालिका २ स्थित ६० घरका कृषकलाई अहिले आलु रोप्न भ्याइनभ्याइ छ। फलेको धान थन्क्याउना साथ यो गाउँका सबै कृषक धमाधम आलु रोप्न व्यस्त छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कमल गाउँपालिका २ लाई आलु पकेट क्षेत्रसमेत घोषणा गरेपछि कृषकको व्यस्तता अझै थपिएको हो। अहिले गाउँपालिकाले पनि कृषकलाई सक्दो सहयोग गरी आफ्नो गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाउने उद्देश्य राखेको छ। आईपीएम कृषि सहकारीमा आबद्ध यो गाउँका ६० जनाभन्दा बढी कृषकले अहिले तीन वटा समूह बनाएर सामुहिक आलुखेती गरिरहेका छन्।
कृषिमा आधुनिकीकरण गर्ने योजनाअनुसार गाउँपालिका अघि बढिरहेको र यो परियोजना आफ्नै गाउँमा भित्रिएपछि कृषकलाई कृषि पेसामा लाग्न थप हौसला मिलेको कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताइन्। ‘हामी आलु पकेट क्षेत्रलाई बढाएर ब्लक, जोन हुँदै सुपरजोन बनाउने लक्ष्यका साथ काम गरिरहेका छौ’, उनले भनिन्। यहाँ उत्पादन गरिएको आलु झापा जिल्लासहित अन्य जिल्लामा पनि निकासी गर्नेसम्मको लक्ष्य बनाएर कृषकलाई खेतीमा लगाएको अध्यक्ष काफ्लेले बताइन्। ‘अहिले २ वडाबाट यो कामको सुरुवात भएको छ,
अब सातवटै वडामा आलुखेतीमा कृषकलाई लगाउने योजना हाम्रो छ’, उनले भनिन्। अहिले व्यावसायिक रूपमा आलुखेती गरिरहेका कृषकलाई कृषि औजार वितरण गरी यो व्यवसायमा लाग्न कृषकलाई प्रोत्साहन गरिरहेको गाउँपालिकाले जनाएको छ। आलु उत्पादन राम्रो हुने र बजारसमेत समस्या नहुने हुँदा यसको खेतीमा कृषक पनि मन दिएर लागेका छन्। ‘सामान्य मेहनत गर्दा नै धेरै आम्दानी गर्न सकिने भएर यसको खेती सुरु गरेको थिएँ, अहिले राम्रो कमाइ भइरहेको छ’, स्थानीय कृषक यामबहादुर राईले बताए।
यो क्षेत्रका कृषकले न्यूनतम ६ कठ्ठा देखि १० कठ्ठा क्षेत्रसम्म आलुखेती गर्दै आएका छन्। यहाँको सबै आलु सहकारीले संकलन गरेर बिक्री गरिदिने हुँदा कृषकलाई थप सहज भएको छ। गत वर्ष ११ सय मन आलु उत्पादन भएको यहाँ यो वर्ष क्षेत्रफल बढाएर आलुखेती गरिएको छ। यस वर्ष ६ हजार ५ सय मन आलु उत्पादन हुने अनुमान रहेको आलु संकलन गर्दै आएको आईपीएम कृषि सहकारी संस्थाले जनाएको छ।
यहाँ आलुखेतीका लागि चाहिने मलदेखि बिउसम्म नै उत्पादन गरिरहेको आईपीएम, कृषि सहकारी संस्थाले कृषकलाई आग्र्यानिकखेतीका लागि प्रोत्साहनसमेत गरिरहेको संस्थाका कोषाध्यक्ष टंक कट्टेलले बताए। ‘प्रांगारिक मल सहकारी आफैंले उत्पादन गरिरहेको छ। आवश्यक कृषि औजार, मलखाद, जैविक कीटनाशक औषधि सहकारी संस्थाले सदस्यलाई उपलब्ध गराउँदै आएको छ’, कोषाध्यक्ष कट्टेलले भने।
यस क्षेत्रमा आलुखेती गरिरहेका किसानलाई आवश्यक तालिम र उपकरणमा भने कारितास नेपाल नामक एक गैरसरकारी संस्थाले सहयोग गरिरहेको छ। संस्थाका कार्यक्रम अधिकृत देबेन्द्र पोखरेलले कृषकको आवश्यकता अनुसार तालिम, उपकरण र प्राविधिक सहयोग समेत गरिरहेको बताए।