समाज कल्याणका कर्मचारी काम ठप्प पारेर आन्दोलनमा
काठमाडौं : समाज कल्याण परिषद्का कर्मचारी आन्दोलित भएका छन्। आफ्नो भवन र जग्गामा उपराष्ट्रपति कार्यालय र निवास बनाउन नदिन उनीहरू कामकाज ठप्प गरेरै विरोधमा उत्रिएका हुन्।
उपराष्ट्रपतिको कार्यालय र निवासका लागि सहरी विकास मन्त्रालयले समाजकल्याण परिषद्लाई तीन दिनभित्र कार्यालय खाली गर्न निर्देशन दिएको छ।
काठमाडौं महानगरपालिका–२९ लैनचौरस्थित कित्ता नम्बर १९० को २८ रोपनी १४ आना जग्गामा भदौ २१ को मन्त्रिपरिषद्ले उपराष्ट्रपति कार्यालय र आवास बनाउने निर्णय गरेको थियो। त्यसपछि परिषद्मा कार्यरत कर्मचारी दुई महिनादेखि आन्दोलन गरिरहेका छन्। उनीहरूले आइतबार आन्दोलनका नयाँ कार्यक्रमसमेत तय गरेका हुन्।
कर्चारीहरूले समाज कल्याण परिषद् कार्यालय बचाउ संघर्ष समितिका नामबाट भवनको प्रवेशद्वारमा टाँसेको ब्यानरमा लेखेका छन्- 'समाजसेवी चन्दादाताहरूको सहयोगबाट निर्मित समाज सेवा भवन सम्माननीय उपराष्ट्रपतिज्यूको कार्यालय र आवास गृह बनाउने नेपाल सरकारको निर्णय अविलम्ब फिर्ता गरियोस्।'
कार्यालयबाहिर बसेका कर्मचारी। फोटोः विकास कार्की/अन्नपूर्ण
सरकारले समाज कल्याण परिषद्को ५० कोठे भवनलाई उपराष्ट्रपति कार्यालय र निवास बनाउने हो भने परिषद्का लागि यत्तिकै लागतको अर्को भवन उपयुक्त ठाउँमा बनाउने निर्णय नगर्दासम्म आन्दोलन जारी रहने कर्मचारी रामपुकार साहले बताए। ‘सामाजिक कार्यका लागि चन्दाबाट बनेको भवन र जग्गा हामीले त्यत्तिकै उपराष्ट्रपतिका लागि छोड्दैनौं’, उनले भने।