बजार पाएन चियाले
भोजपुर : भोजपुर नगरपालिका–१०, भैंसीपंखा खुरिलाका २७ परिवारले आठ वर्षअघि इलामबाट चियाका ४० हजार डाला ल्याए। चियाले बजार पाउने आशामा उनीहरूले नर्सरी राखी बीउ उमारेर आआफ्ना जग्गामा चिया रोपे।
साढे ३ वर्षपछि अर्थोडक्स चिया बजारमा ल्याउँदा किनबेच नभएपछि उनीहरू निराश बने। ६६ रोपनी जग्गामा लगाएको चियाले बजार पाएन। प्रायः किसान चिया खेती मासेर अन्य विकल्प रोज्नुपर्ने अवस्थामा पुगेका छन्। ‘हावापानी राम्रो, बजार–मूल्य पनि राम्रै होला भनेर चिया खेती थालियो। तर, बिक्न गाह्रो भएपछि यो खेती सबैले छाडे’, स्थानीय दुर्गाबहादुर कार्कीले भने, ‘केही घरले पाहुनालाई दिने गरेका छौं। के–के न होला भनेर त्यत्रो जग्गामा दुःखले बिरुव उमारेर चिया लगायौं, आखिरमा बजार नभएपछि स्याहार गर्न पनि छाड्यौं।’ उनका अनुसार चियाको बगान झाडीमा परिणत भएको छ।
नौ घरले मात्र ३२ रोपनी क्षेत्रमा चियाको हेरचाह गरेका छन्। बजारमा भाउ नपाए पनि कोसेली अर्का किसान बमबहादुर श्रेष्ठले बताए। ‘दुःखले उत्पादन गरेको चियाले बजार नपाएपछि फ्याँक्नुभन्दा आउने–जाने आफन्तलाई कोसेली पठाउने गछौं’, उनले भने।
उनका अनुसार चियापत्ती टिपेर दुई दिन घाममा ओइलाई माड्ने गरिन्छ। पुनः घाममा सुकाएर एकचोटि गुम्साएपछि खानका लागि तयार गर्ने गरिन्छ। बजारमा पाइने सस्तो प्याकेटको चिया किनेर खानुको सट्टा आफ्नै बगानमा लगाएको चिया बनाएर प्रयोग गर्ने गरेको स्थानीय सुनील श्रेष्ठले बताए। ‘अग्र्यानिक बगानको चिया घरमै प्रशोधन गरी हामी प्रयोग गर्छौं’, उनले भने, ‘बजारमा पाइनेभन्दा हाम्रो चिया स्वस्थकर र स्वादिलो हुन्छ।’
स्थानीयले हाते चिया प्रवद्र्धनका लागि खुरिला सहकारी संस्था दर्ता गरेका छन्। उचित बजार–मूल्य र आधुनिकीकरणका लागि दातृ निकायसँग सहयोगको अपेक्षा उनीहरूले गरेका छन्। अर्थोडक्स चियाको बजारीकरणमा सहयोग गरे चिया खेती विस्तार हुने कुमार कार्कीको भनाइ छ।
अन्न नफलेपछि चिया
परम्परागत खेतीले गुजारा चलाउन गाह्रो भएपछि टेम्के मैयुङ गाउँपालिकाका किसानले सामूहिक रूपमा चिया खेती लगाएका छन्। खावा, छिनामखु, अन्नपूर्णका किसान चियामा आकर्षित बनेका हुन्।
स्थानीय बजारमा चिया बिक्री हुन थालेपछि किसान यसप्रति आकर्षित बनेको खावाका बखतबहादुर राईले बताए। ‘चिया खेती कसरी गर्ने भन्ने ज्ञान थिएन। एकदमै अनभिज्ञ थिएँ’, उनले भने, ‘धेरै संघसंस्थाबाट तालिम लिने मौका मिल्यो, त्यसपछि चिया खेतीतर्फ लागें।’
छिनामखुका गणेशबहादुर बस्नेतले प्रशोधन केन्द्र नभए पनि हाते सीप प्रयोग गरी चिया बनाउन थालेका छन्। स्थानीय प्रविधिबाट बनाइएको चिया खानेहरू बढेको उनको भनाइ छ।
थामडाँडा–टेम्के–सिलिचुङ कृषि सहकारी संस्थाले चार वर्षदेखि किसानसँग समन्वय गरी चिया खेती विस्तारको क्रम अघि बढाएको छ। १ हजार ३३ हेक्टर क्षेत्रफलमा खेती विस्तारका लागि स्थानीयसँग सम्झौता भइसकेको छ। टेम्के मैयुङका चखेवा–छिनामखु, पान्धारे, रामप्रसाद राईका ओख्रे, पामाखाम बतासे, हुर्बु हलहले, आमचोकको भष्मेचौर यूँ, हतुवागढीको दिमालुङ पूर्णेडाँडा गरी सात बगानमा ७ लाखको बिरुवा रोपिएको छ।