दुहबी गोलीकाण्ड अपडेटः ६ भारतीयसहित सातजना पक्राउ
काठमाडौँ : सुनसरीको दुहबीका इँटा व्यवसायीको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले ६ जना भारतीय नागरिकसहित सातजनालाई पक्राउ गरेको छ । दुहबी नगरपालिका-९ स्थित जयबाबा इँटा उद्योग नजिकैको क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक उत्तम सुवेदीका अनुसार उनीहरुलाई सोधपुछका लागि पक्राउ गरिएको हो । पक्राउ परेका सातमध्ये ६ जना भारतीय रहेको र उनीहरु त्यही इँटा उद्योगका कामदार भएको जानकारी सुवेदी अन्नपूर्ण अनलाइनलाई दिएका छन् ।
'उनीहरुलाई घटनाबारे सोधपुछका लागि पक्राउ गरिएको हो', सुवेदीले अगाडि भने, 'अहिले अनुसन्धान भइरहेकाले अन्यलाई पनि नियन्त्रणमा लिन्छौँ, घटनाको सुक्ष्म अध्ययन भइरहेकाले अहिले नै हत्यामा संलग्नबारे केही भन्न सकिँदैन ।'
त्यसैगरी हत्यामा संलग्न भएको आशङ्कामा ती व्यक्तिलाई सोधपुछका लागि पक्राउ गरी हिरासतमा लिइएको इलाका प्रहरी कार्यालय दुहबीका प्रमुख प्रहरी निरीक्षक रामनारायण माझीले बताएका छन् । बुधबार बिहान गोली हानी हत्या गरिएका फिदा खान त्यही इँटा उद्योगका म्यानेजर पदमा कार्यरत थिए ।
प्रहरीका अनुसार अनुसन्धान भइरहेकाले पक्राउ परेका सबै व्यक्तिको नाम गोप्य राखिएको छ । फिदाको हत्यापछि दुहबी बजार तनावग्रस्त भएको छ ।