जोगवनीबाट छिरे रोहिंज्या, सीमा सुरक्षामा चरम लापरवाही

जोगवनीबाट छिरे रोहिंज्या, सीमा सुरक्षामा चरम लापरवाही

काठमाडौः कमजोर सीमा सुरक्षाको फाइदा उठाउँदै म्यान्माबाट विस्थापित भएका १० रोहिंज्या बिना रोकतोक नेपाल प्रवेश गरेको पाइएको छ। 

उनीहरु सबै काठमाडौको कपनस्थित शिविरको सम्पर्कमा आएका छन्। सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बललाई अवैध ढंगले रोहिंज्या नेपाल प्रवेश गरेको सुईको समेत छैन। 

रोहिंज्या नेपाल भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीको फितलो उपस्थितिका कारण सहजै नेपाल प्रवेश गरेका हुन। 

गृह मन्त्रालयले पछिल्लो समयमा रोहिंज्या मुस्लिम समुदायका व्यक्ति प्रवेश नगरेको दाबी गरे पनि गत भदौ दोस्रो साता १० जना रोहिंज्या अवैध मार्ग हुँदै नेपाल प्रवेश गरेको पाइएको छ। 

गृह मन्त्रालयले केपी ओली नेतृत्वको सरकार गठन भएपछि रोहिंज्या नेपाल नछिरेको दाबी गर्दै आएको थियो।  ती १० जना रोहिंज्या बंगलादेशबाट भारतको कोलकत्ता हुँदै जोगवनीबाट विराटनगर प्रवेश गरेका हुन। 

विराटनगरबाट स्थलमार्ग हुँदै उनीहरु काठमाडौ आएका हुन्। नेपाली भाषा बोल्न नजान्ने उनी कसरी कपनसम्म आइपुगे अनुसन्धानको विषय बनेको छ।
उनीहरुलाई मानव तस्करले काठमाडौँ ल्याएको हुनसक्ने प्रहरीले आशंका गरेको छ।  गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले हालसालै रोहिंज्या नेपाल प्रवेश नगरेको बताए। 

‘रोहिंज्याहरु छिरेको भन्ने कुनै सूचना पाएका छैनौ, प्रवक्ता सुवेदीले अन्नपुर्णसँग भने,‘शिवरमा रहेका पुराना हुन्। अहिले आएका छैनन।’

तर , कपन स्थित शिविरमा भेट्टिएका एक रोहिंज्याले अन्नपूर्णसँग भने, ‘कपनमा आफ्नो समुदायका मान्छे बसेको थाहापाएर हामी आफै आयौ। कसैले हामीलाई ल्याएको होइन।’

रोहिंज्याकोे अवैध प्रवेश र गृह मन्त्रालयको बेखवरले राष्ट्रिय सुरक्षामा सरकार कति गम्भीर छ भन्ने कुरालाई थप प्रष्ट पारेको छ। म्यान्माबाट विस्थापित भएका रोहिंज्या बंगलादेशबाट काठमाडौं आएका हुन। रोहिंज्याहरुले कपनमा दुई शिविर स्थापना गरी बस्दै आएका छन्। उनीहरुको दैनिक गतिविधि र कनेक्सनमाथि न अध्यागमनले निगरानी गर्छ न प्रहरी प्रशासनले नै। 

होण्डुरसका हजारौ आप्रवासी अमेरिका छिर्न खोज्दा उनीहरुलाई रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गोली हान्नेसम्मको अधिकार सुरक्षा निकायलाई दिएको छ। तर, गैर कानुनी ढंगले नेपाल प्रवेश गर्दै आएका रोहिंज्या लगायत आप्रवासीलाई रोक्न नेपाल सरकारले खासै चासो देखाएको छैन। 

रोहिंज्या काम खोज्न उपत्यकाका विभिन्न स्थानमा जान्छन। उनीहरु उपत्यका बाहिर काभ्रे, गोरखा, नेपालगञ्जलगायतका स्थानमा समेत काम गर्न पुगिसकेका छन।

शिविर छाडेर बाहिर जान नपाउँने भए पनि सुरक्षा निकायको कमजोरीका कारण रोहिंज्या कामका लागि गाउँगाउँ पुग्न थालेका छन्।

शिविरमा रहेका सबै म्यान्माबाट विस्थापित भइ बंगलादेशमा बस्दै आएका रोहिंज्या हुन। उनीहरु आफैँ आए वा मानव तस्करको सञ्जालले कपनसम्म ल्याए भन्ने विषय खुल्न सकेको छैन। यद्यपी शिविरमा रहेका रोहिंज्याका नाइकेले पछिल्लो पटक आएकालाई आफुहरुले नल्याएको बताउँछन्।

नेपाल–भारत सीमामा नेपालतर्फ सुरक्षा व्यवस्था फितलो हुनु र त्यहाँ तैनाथ सुरक्षाकर्मीसमेत आर्थिक प्रलोभनमा पर्ने गरेकाले रोहिंज्याको अवैध प्रवेश सहज बन्दै गएको अनुमन गर्न सकिन्छ। भारततर्फ खटिएका भारतीय सुरक्षाकर्मीले समेत नेपाल प्रवेश गर्न खोज्ने रोहिंज्यालाई रोक्न खासै चासो दिएको छैन। 

पछिल्लो पटक नेपाल प्रवेश गरेका रोहिंज्यामा नुरुबासा रानी, नुरु फातिमा बेगम, आजील हक, मोहम्मद साहेव, अब्दुल अली,हामसर उल्ला, नारु सलाम, हामिद हुसेन, मोहम्मद फारुन र सेराजुल इस्लाम रहेको स्रोतले बताएको छ। 

पछिल्लो पटक आएका मध्ये एक जना शिविरको सम्पर्क बहिर छन् भने बाँकी नौ जना शिविरमा बस्दै आएका छन। 

गृह मन्त्रालयको असंवेदनशिलता र नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको कमजोर उपस्थितका कारण रोहिंज्या समुदायका व्यक्ति नेपाल प्रवेश गर्दै आएका छन्। सीमा सुरक्षाको जिम्मा लिएर सशस्त्र प्रहरी खटिदै आएको छ। 

गृह मन्त्रालयले अवैध आप्रवासीको प्रवेश, उपस्थिति र नियमनका बारेमा गम्भीर ढंगले बहस गरेको छैन। सुरक्षा निकायलाई सीमा सुरक्षामा कडाइ गर्नु भन्ने औपचारिक र अनौपचारिक निर्देशन भन्दा बढी गृह मन्त्रालयले समेत आप्रवासीको बारेमा बोल्न चाहदैन।

दसैं अघि नेपाली सेनाले गरेको पत्रकार सम्मेलनमा समेत प्रधानसेनापतिले आप्रवासीको अवैध प्रवेश र उपस्थितीको बारेमा केही बोलेन। रोहिंज्याको अवैध प्रवेश र उपस्थिती बारेमा सोधिएको प्रश्नलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले ‘स्केप’ गरिदिए। उनले सो बारे कुनै जवाफ दिएनन्। 

सन् २०१२ मा नेपाल आएर नेपाली भाषा र समुदायमा भिजिसकेका रैथाने रोहिंज्याले बंगलादेश र भारतमा रहेकालाई कपनसम्म ल्याउन सहयोग गर्दै आएको प्रहरी स्रोतले बताएको छ। 

अघिल्लो पुस १६ गते रोहिज्याको मानव तस्करी हुने गरेको भन्दै त्यसलाई रोक्न सबै सुरक्षा निकायलाई गृह मन्त्रालयले पत्राचार गरेको थियो। 

सुरक्षा निकायले उक्त निर्देशनलाई बेवास्ता गर्दा रोहिंज्याको नेपाल भित्रने संख्या बढदो छ। सीमामा तैनाथ सुरक्षा निकायको गम्भीर हेलचेक्र्याइँ र लापरवाहीले रोहिंज्याले सहजै प्रवेश पाएका हुन्। 

शिविरमा उनीहरूको संख्या झण्डै ४ सय नाघिसकेको स्रोतले बताएको छ। उनीहरु आउने÷जाने गरिरहने भएकाले यकिन तथ्याङ भन्न कठिन हुने प्रहरीले बताएको छ। 

नेपालस्थित शरणार्थीसम्बन्धी राष्ट्र संघीय उच्चायोग (यूएनएचसीआर) ले तीन सय जना रोहिंग्या शरणार्थीको प्रमाणीकरण गरेको छ। बाँकीलाई पनि प्रमाणीकरण गर्ने प्रक्रियामा रहेको गृह स्रोतले जनाएको छ। 

यूएनएचसीआरले रोहिंग्याका छोराछोरीको शिक्षा र स्वास्थ्यमा केही रकम खर्चिंदै आएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.