सिमेन्टमा आत्मनिर्भर
सिमेन्टमा हामी पूर्णरुपमा आत्मनिर्भर छाैं। याे वर्षबाट अायात बन्द हुनेछ।
मुलुकभित्रै सिमेन्ट उत्पादन सुरु भएको धेरै भएको छैन। चार दशकअघि सरकारी लगानीमा सञ्चालनमा आएको हिमाल सिमेन्ट उद्योगले नेपालमा सिमेन्ट उत्पादन सुरु गरेको थियो। त्यसयता सिमेन्टको प्रयोग बढ्दै आयो। सिमेन्टको माग बढ्न थाल्यो। त्यो यात्राले आज ठूला उद्योगमध्ये सिमेन्टमा नेपाललाई आत्मनिर्भरताको बाटो पहिल्याएको छ।
सरकारी लगानीबाट सुरु भएको सिमेन्ट उद्योगले सुरुका चरणमा विभिन्न अड्चन भोग्नु परेको थियो। सरकारी प्रयासले सिमेन्टको प्रयोग बढ्यो तर उत्पादन बढेन। त्यसपछि विदेशबाट सिमेन्ट आयात बढ्न थाल्यो। विदेशी ब्रान्डले बजार पायो। नेपाली ब्रान्ड विदेशी ब्रान्डको चेपुवामा परेर हरायो। ‘समय बदलियो र मागको ९५ प्रतिशत आयातमै निर्भर हुन पुग्यो। यो एक दशकअघिकै अवस्था हो’, उत्पादक संघका अध्यक्ष ध्रुव थापा भन्छन्, ‘तर, जब सिमेन्ट उद्योगमा निजी क्षेत्रको लगानी बढ्यो त्यसले आत्मनिर्भरताको बाटो समाएको हो।’ करिब डेढ दशकअघि निजी क्षेत्रको लगानीमा सिमेन्ट उद्योग खुल्यो। स्वदेशी सिमेन्टले बजारमा आफ्नो स्थान बनायो। सिमेन्ट उद्योगमा विस्तारै लगानी थपिँदै गयो। उद्योग खुल्दै गए। मागअनुसार उत्पादन क्षमता थपिँदै गयो। जसको परिणाम आज देश सिमेन्टमा आत्मनिर्भर छ।
‘सिमेन्टमा आज हामी पूर्णरूपमा आत्मनिर्भर छौं। यो वर्षबाट आयात पूर्णरूपले बन्द हुनेछ’, अध्यक्ष थापा भन्छन्, ‘अग्रिम रूपमा गरेको सम्झौता र दात्री निकायले निमार्ण गर्ने ठूला आयोजनाका लागिबाहेक यो वर्षबाट सिमेन्ट आयात पूर्णरूपमा बन्द भएको छ।’ सिमेन्ट उत्पादन गर्न आवश्यक पर्ने कच्चापदार्थ (क्लिंकर) मा पनि देश आत्मनिर्भर हुने अवस्थामा छ। अर्को आर्थिक वर्षबाट नेपाल यसमा पूर्ण आत्मनिर्भर हुने अध्यक्ष थापाको भनाइ छ। वार्षिकरूपमा क्लिंकरको माग ठूलो मात्राले घट्दै आएको छ। पैसाको हिसाबले हेर्ने हो भने गत आर्थिक वर्षमा करिब ३० अर्बको क्लिंकर आयात भएको छ। यो कुल मागको २५ प्रतिशत मात्रै हो। नेपालमा अहिले वार्षिकरूपमा आठ मिलियन अर्थात् ८० लाख टन हाराहारी सिमेन्ट उत्पादन भइरहेको छ। सिमेन्टको माग अहिले साढे सात लाख टन हाराहारी छ। यो वर्षको अन्त्यसम्म माग बढेर आठ लाख टन पुग्ने उनको अनुमान छ।
‘माग बढ्दै गए पनि धान्न सक्ने अवस्था सिर्जना भइसकेको छ’, अर्घाखाँची सिमेन्ट प्रालिका सञ्चालक पशुपति मुरारका भन्छन्, ‘अहिलेको बजार माग ७० लाख टन छ। उद्योगले ८० लाख टन उत्पादन गरिरहेको छ। आवश्यकभन्दा बढी उत्पादन भइरहेको छ। यो वर्षको अन्त्यसम्म माग बढ्छ। मागसँगै उत्पादन पनि थपिँदै जान्छ।’ सन् २०१९ को अन्त्यसम्म करिब ६०÷७० लाख टन उत्पादन थपिनेछ। अहिलेको माग ८० लाख टन हो। सन् २०१९ को अन्त्यसम्म माग बढेर एक करोड टन नाघ्ने अनुमान छ। त्यो बेलासम्म हाम्रो उत्पादन एक करोड ५० टन हाराहारी पुग्ने उनी बताउँछन्।
करिब डेढ दशकअघि निजी क्षेत्रको लगानीमा खुलेका सिमेन्ट उद्योगका कारण देश सिमेन्टमा आत्मनिर्भर भइसकेको छ।
‘सिमेन्ट आयात पूर्वी नाकाबाट केही मात्रामा हुन सक्छ। जहाँ ढुवानी समस्या आउँछ त्यहाँ आयात हुन सक्छ। अर्को पुरानो कन्ट्र्याक होला अरु त्यस्तै प्रोजेक्ट होलान्। त्यसमार्फत आउने छुट हो’, उनी भन्छन्। क्लिंकरको अवस्था पनि झन्डै उस्तै छ। उनी पनि क्लिंकरमा अर्को आर्थिक वर्षबाट आयात बन्द हुने बताउँछन्। ‘अघिल्लो आर्थिक वर्षमा भारतबाट २७ टन क्लिंकर भित्रिएको छ’, सञ्चालक मुरारका भन्छन्, ‘त्यसपछि सुरु भएको होङ्सी सिमेन्टको क्षमता नैै २० लाख छ। त्यसले करिब ५० प्रतिशत ओगट्नेछ। अर्घाखाँचीले पनि आफ्नो क्षमता विस्तार गरेको छ। सर्वोतम सिमेन्टले क्षमता विस्तार गरेको छ। यी दुवैले क्षमता विस्तार गरिसकेपछि १० लाख टन यहाँबाट उत्पादन हुन्छ।’ ‘३० लाख टन यी तीन कम्पनीले उत्पादन गर्छन्’, उनी भन्छन्, ‘अलिकति बजार बढ्ला, माग बढ्ला। नयाँ उद्योग थपिने क्रम जारी छ। थपिएका उद्योगले थपिने मागलाई पनि सम्बोधन गर्दै जानेछ। त्यसपछि आयात अत्यन्त न्युन हुनेछ अथवा हुँदै नहुने पनि हुन सक्छ।’
‘अहिले नेपालमा दुई किसिमका उद्योग छन्’, विशाल सिमेन्ट उद्योगका महाप्रबन्धक भरतबाबु दाहाल भन्छन्, ‘एउटा सिमेन्ट मात्रै उत्पादन गर्ने र एउटा सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्ने। अहिलको अवस्थामा सिमेन्ट आयात करिब बन्द भइसकेको छ।’ अहिले पुराना ब्रान्डका सिमेन्ट बजारमा देखिन छाडेको छ। यो सबै निर्माणका कामले पाएको तीव्रताले नै हो। नयाँ प्रोजेक्ट निर्माण चरणमा छन्। विकसित देशसँग तुलना गर्दा नेपालमा सम्भावना धेरै छन्। निमार्ण गर्न बाँकी नै छ। विकास निर्माणका लागि सिमेन्ट आवश्यक छ।
यसका साथै देशले नयाँ मोड लिएको छ। ‘राजनीतिक स्थिरताले उद्योगका साथै विकासका कामले पनि गति पाएको छ’, अर्घाखाँची सिमेन्टका ब्रान्ड म्यानेजर महेन्द्र कोइरला भन्छन्, ‘प्रदेश सरकार छ। प्रादेशिक संरचना र भवन आदि बनाउने कामले तीव्रता पाएको छ। नयाँ संरचनाका कामले उद्योगमा लगानी थपिएको हो।’ विकास निर्माणले तीव्रता पाउँदा सिमेन्टको माग बढ्दै छ। सिमेन्ट उद्योगमा स्वदेशी मात्र नभई विदेशी लगानी पनि आकर्षित भएका छन्। निजी क्षेत्रले खुलेर लगानी गर्दा डेढ दशकमै मुलुक सिमेन्टमा आत्मनिर्भर भइसकेको छ। ‘जिरोबाट सुरु भएर आज आत्मनिर्भर छ। सर्वोत्तम सिमेन्ट प्रालिका प्रमुख ब्रान्ड म्यानेजर गोपाल सारडा भन्छन्, ‘आत्मनिर्भर बन्नु छलाङ हो। यसमा उद्योग सफल छ।’ यो उद्योग निर्यात गर्ने अवस्थामा पुगिसकेको छ। सरकारी सहयोगले सिमेन्ट निर्यातमा पनि ठूलो सफलता हात पर्नेछ।
‘मेलाले विकास टेक्नोलोजीबारे जानकारी दिनेछ’
महेन्द्र कोइराला, ब्रान्ड म्यानेजर, अर्घाखाँची सिमेन्ट
राजधानीको भृकुटीमण्डपमा बिहीबारदेखि ‘बिल्डिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो २०७५’ सुरु भएको छ। उक्त एक्स्पोको प्रमुख प्रायोजक अर्घाखाँची सिमेन्ट प्रालि छ। उक्त एक्स्पोको उद्घाटन सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले गरेका थिए। एक्स्पोमा घर तथा भवन निर्माणका लागि चाहिने सबै खालका निर्माण सामग्री राखिएका छन्।
एक्स्पोमा डिजाइन गर्ने कन्सल्टेन्सी र इन्जिनियर पनि छन्। भूकम्पपछि भूकम्पप्रतिरोधी घर र सुरक्षित घर बनाउन सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले गत वर्षबाट एक्स्पो सुरु गरिएको हो। यो वर्ष अर्घाखाँची सिमेन्ट प्रालि यसको मुख्य प्रायोजकको रूपमा काम गर्न पाउँदा कम्पनीलाई खुसी लागेको छ। मेलामार्फत घर तथा भवन बनाउन चाहने ग्राहकले विकासमा नयाँ टेक्नोलोजीबारे जानकारी हासिल गर्न पाउने भएकाले यो कम्पनीका लागि महत्र्वपूर्ण हो।
उनका अनुसार अर्घाखाँची सिमेन्टले अहिले दैनिक २७ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको छ। चाँडै ६० हजार बोरा सिमेन्ट उत्पादन गर्न सक्ने गरी क्षमता विस्तार गरिरहेको छ। कम्पनी आफैंले क्लिंकर उत्पादन गर्दै आएको छ। भैरहवाको मैनहिया गाविसमा अवस्थित अर्घाखाँची सिमेन्ट उद्योगले करिब तीन वर्षअघि सिमेन्ट उत्पादन सुरु गरेको थियो।
सिमेन्ट उत्पादन सुरु गरेको डेढ वर्षमै कम्पनीले नेपालको अग्रणी सिमेन्ट कम्पनीको रूपमा पहिचान बनाउन सफल भएको छ। अर्घाखाँची सिमेन्ट एउटै मिलबाट सबैभन्दा धेरै ओपीसी सिमेन्ट उत्पादन गर्ने कम्पनीमा पर्छ। अर्घाखाँची मिसेन्ट उद्योग आफ्नै चुनढुंगा खानी भएको सम्भवतः नेपालकै सबैभन्दा ठूलो ओपीसी सिमेन्ट उत्पादक भएको कम्पनी पनि हो। यसले आफैं क्लिंकर र ओपीसी सिमेन्ट उत्पादन गरिरहेको छ।