समृद्धि सपनाका हाम्रा मन्त्री !

समृद्धि सपनाका हाम्रा मन्त्री !

नत्र आफू राम्रो स्वस्थ नभई राखेर थर्काउन प्रधानमन्त्रीलाई के जरुरी थियो होला त ?


मन्त्रीहरू इमानदार भइदिएको भए प्रधानमन्त्रीले लस्करै राखेर ‘परीक्षा’ लिनै पर्ने थिएन । सिंहदरबारमा अहिले त्यही शृंखलाबद्ध परीक्षा चलिरहेको छ । प्रधानमन्त्री परीक्षक । मन्त्री परीक्षार्थी । सचिव गार्ड । यो यस्तो कडा परीक्षा छ- ‘चिट चोर्न’ खोजे सचिवले सिठी बजाउँछन् । जो-जो उत्तीर्ण हुँदैनन्, सम्भवतः ती अब कक्षा चढ्दैनन् । प्रधानमन्त्रीको मुडले त्यही भन्छ । ‘तयारी’ हेर्दा धेरैको अवस्था असफलोन्मुख छ । ‘कुतर्क’ ले आफ्ना करतुत छोप्न खोज्ने मन्त्री-सचिवलाई प्रधानमन्त्रीले ठाडै भन्ने गरेका छन्- ‘आफ्ना कमी-कमजोरी तर्कको लिउनले कसैले टाल्न नखोज्नुहोस् । अब बहानाबाजी चल्दैन ।’

मंगलबार र बुधबार दिनभरि मन्त्रीहरू कठोर परीक्षामा सामेल भए । बिहीबार बिहानै गृहमन्त्री रामबहादुर थापा सडक बडार्ने कार्यक्रममा पो भेटिए । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणले सरकारको सबैभन्दा मुन्टो निहुर्‍याएको छ । अरू जतिसुकै लोकप्रिय काम किन नगरोस्, यस घटनामा संलग्नहरू पत्ता लगाएर कारबाही नगराएसम्म सरकार उँभो जान सक्दैन । मन लगाएर अनुसन्धान गर्ने÷गराउने हो भने यो ठूलो कुरा होइन ।

गृहमन्त्रीको मुख्य दायित्व त्यता हुनुपर्ने हो । कोट लगाएर र माला पहिरिएर कुचो बोकेको नौटंकी अहिले उनको ड्युटी होइन । एउटा गृहमन्त्री उपस्थित नभइदिँदैमा सरसफाइ अपूरो हुँदैन । तर, एउटा गृहमन्त्री दत्तचित्त भएर नलागिदिँदा ठूला अपराध बढिरहन्छन् । अपराधी उम्किइरहन्छन् । जसको जे काम हो, त्यही गरेको मात्र शोभनीय हुन्छ । बुट र कोट लगाए कृषिमन्त्री रोपाइँमा जाने, कुनै मन्त्री फोहोर सफा गर्न पुगेर दुनियाँसँग सेल्फी खिच्नेजस्ता अभ्यास गलत हुन् । मनैबाट कोही यस्ता जागरणमूलक कार्यमा लाग्छ भने भिन्दै कुरा, देखावटीजति बन्द गरिनुपर्छ ।

हुन पनि प्रधानमन्त्री केपी ओलीले त्यसै हपारेका होइनन् । सिंहदरबारको परीक्षामा भाग्यवश परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सामेल हुन पाएनन् । उनी जापानमा छन् । अधिकांश समय उनी विदेश सयरमै हुन्छन् । लगातार उडाइ हेर्दा लाग्छ- स्वदेशमा उनका लागि कार्यालय नै छैन । अरू देशका विदेशमन्त्री भ्रमणमा निस्कँदा समाचार बन्छ । हाम्रा मन्त्री उड्नै नपाएजस्तो बत्तिएका बत्तियै छन् । हो, जरुरीमा जानुपर्छ । तर, उनका सबैजसो भ्रमण तुकका छैनन् ।

हाम्रा कतिपय मन्त्री साँच्चै बरालिएका छन् । जे-जस्तो कार्यक्रमका निम्ता आऊन्, दौडिइहाल्छन् । सरकारी खर्च गराएर जिल्ला-जिल्लासम्म पुग्छन् । रिबन काट्छन्, आउँछन् । मञ्च, माला र भाषण तिनका प्रिय वस्तु हुन् । जनताका अगाडि मन्त्रीका रूपमा अनुहार देखाउन पाउँदा तिनले सम्भवतः गर्भानुभूति गर्छन् । एउटा मन्त्री फोकटमा जति घुम्छ, सुरक्षादेखि विभिन्न पक्षमा राज्यको अनावश्यक खर्च उति हुन्छ । भन्नु पो मन्त्री, एउटा हुलै अघि-पछि लाग्छ ।

ढिलढाल, आलटाल र टारटुर गर्न यो सरकारलाई कुनै बहाना आवश्यक छैन । कानुन अपुग भए तत्काल बनाउने जनमत छ । कसैले बाधा पुर्‍याए वा अटेर गरे पाखा लगाउने खुबी छ । तर पनि किन जनताले ठम्याउने गरी ‘सिन्को भाँच्न’ सकेको छैन ?

त्यो खर्च कुनै गरिबको उपचारमा प्रयोग गर्ने हो भने राज्यको दायित्व देखिने थियो । अर्कातिर, घुमफिरले मन्त्री बेगारी हुन्छन् । कहिलेकाहीं त गाईतिहारमा गाउँभरिका माला बोकाएर घर-घर डुलाएको गाईजस्तै देखिन्छन् हाम्रा अधिकांश मन्त्री । जस्ता कार्यक्रममा पनि गयो, मालाको भारी गलाभरि झुन्डाइहाल्यो । गाई बन्नुपर्ने अभिनय गर्ने कार्यक्रमको प्रमुख अतिथि बनाए पनि मख्ख परेरै जान्छन् ती । चार पाउ टेक्न बेर लाउँदैनन् । के जोसुकैलाई उद्घाटन गर्न मन्त्री नै खेताला चाहिने हो ? अनि, जसका जे उद्घाटन गर्न पनि मन्त्रीले दौडिएर पुग्नैपर्ने हो ?

विकृति मनोवृत्तिले निर्माण गर्छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभिभारा बोकेको यस सरकारका सदस्य हुन् मन्त्रीहरू । तिनले डटेर आ-आफ्ना मन्त्रालय जनउत्तरदायी बनाउन सक्नुपर्छ । सुशासन ल्याउनुपर्छ । ढिलासुस्ती रोक्नुपर्छ । सर्वसाधारणका सास्ती हटाउन सक्नुपर्छ । सेवामूलक कार्यालयमा बढ्दो घुसखोरी उन्मूलन गर्नुपर्छ । विकासका अवधारणा बनाउन सक्नुपर्छ ।

तर, अचम्म ! प्रायः मन्त्रीले सुरुमै किन सचिव फेर्छन् ? आफूअनुकूलको ल्याउनै किन मरिहत्ते गर्छन् ? अनि, ल्याएपछि कुमै किन जोड्छन् ? पद्धतिले शासन चल्ने हो भने जुनसुकै सचिवले के फरक पर्छ ? एउटा मन्त्रीसँग मन मिलाएर काम गरेको त्यही सचिव अर्को मन्त्रीलाई किन ‘नालायक’ सावित हुन्छ ? हो, यसैलाई भनिन्छ ‘सेटिङ’ । शासन कुनै प्रणालीबाट होइन, ‘सेटिङ’ बाट चलिरहेको छ । मन्त्रीहरूका क्रियाकलापले त्यही बताउँछ । त्यसैले प्रधानमन्त्रीलाई मेरो आग्रह छ- मन्त्रीले नचाहेको सचिव बरु छानी-छानी पठाइदिनुहोस् । अनि मात्र ‘दायाँ-बायाँ’ हुन पाउँदैन । किनकि, थाहा नपाउँदो गरी देश खोक्रो भइसकेको छ । राजनीतिक-प्रशासनिक साँठगाँठ मौलाउँदो छ । दुईतिहाइको सरकारको प्रशंसा सुरु भइसक्नुपर्ने बेला टीकाटिप्पणी बढेको छ । कारण- मन्त्रीगणलाई लगाम लगाउन नसकेरै हो ।

देशमा अनियमितताका बृहत् घटना सार्वजनिक भइरहेका छन् । सबैभन्दा ठूलो त वाइड बडी विमान प्रकरण हो । यसमा बिचौलियाका सञ्जाल खडा गरेर ठूलो मात्रामा आर्थिक अपचलन गरिएको छ । जहाज एउटाको स्वामित्वमा छ, अर्कैसँग किनियो भनिएको छ । सुरुमा सर्त गरेभन्दा १२ हजार किलोग्राम उडान वजन (एमटीओडब्लू) घटाइएको छ । तर, मूल्य कम गराइएको छैन । अन्नपूर्ण पोस्ट्मा यसको शृंखलाबद्ध सामग्री प्रकाशन भइरहेको छ । विभागीयमन्त्री रवीन्द्र अधिकारी भने बाहिर-बाहिर भन्दै हिँडेका छन्- ‘निगमले जहाज चलाउँदा टाउको दुख्नेहरू अफवाह फैलाइरहेका छन् ।’ उनको दाबी छ- ‘यस्ता कुराले निगम डुब्छ ।’

कुनै पनि संस्थान अनियमितताले डुब्ने हो कि, अनियमितता भयो भनेर देखाउँदा र छानबिन गर्न सरकारलाई दबाब दिँदा डुब्ने हो ? लैनो भनेर महँगोमा ल्याएको गाई थारो पर्‍यो । खर्च गरेर अर्को बेत नब्याउञ्जेल पालिरहनुपर्ने भयो । के जनता चुप लागेर बस्ने ? नेपाल एयरलाइन्स के भएर धराशायी भयो, अझै त्यो क्रम किन जारी छ भनेर मन्त्रीले खोज्ने÷निगरानी गर्ने होइन र ? पहिलाका लोकप्रिय नेता अधिकारीलाई मन्त्री भएपछि नेपाल एयरलाइन्सले नै बिटुल्याउन सक्छ । हामी सर्वसाधारणको चिन्ता त्यता पनि हो । तर, उनी त्यसैमा चित्त दुखाउँछन् । अनि, उच्चस्तरीय छानबिन गराउन बाधक बन्दै आएका छन् ।

अन्नपूर्ण पोस्ट्को अनुगमनमा यातायात कार्यालयमा हाकाहाकी घुस मागिएको पाइएको छ । मिडियाले लेख्यो, सरकारले पढ्यो । थाहा पायो । बस्, पुग्यो । कसैलाई कुनै कारबाही भएको छैन । सरकार कानमा तेल गलाइरहेकै छ । यसमा विभागीय मन्त्रीको सक्रियता देखिनुपर्ने हो । सर्वसाधारणले अनुभूत गर्ने गरी व्यवस्थापन मिलाउनुपर्ने हो । तर, मन्त्री रघुवीर महासेठको विशेषता अलि फरक छ । यातायात सिन्डिकेटविरुद्ध सुरुमा कडा रूपमा उत्रिएका उनी अन्ततः तिनैसँग मिलिसके । व्यवसायी संघका अस्तित्वलाई स्वीकारिसके । देशमा सिन्डिकेट पुनः जहाँको तहीं पुग्यो । मन्त्री भएपछि कि नबोलेकै राम्रो, बोलेपछि चाहिँ पुर्‍याएकै राम्रो ।

चाडबाडका बेला विगतका वर्षभन्दा यसपालि मूल्यवृद्धि चरम भयो । चिनीको मूल्य नियन्त्रण गर्न संसदीय समितिले दिएको निर्देशन सरकारी कर्मचारीले हाकाहाकी ‘मिल्दैन’ भनिदिए । मन्त्री ‘मौनम् स्वीकृतम् लक्षणम्’ । चुप रहनु स्वीकार्नु हो । यस्ता घटनामा सरकारलाई केले मुख-बुझो लगाइदिन्छ ? हरेक क्षेत्रमा अराजकता र दण्डहीनता बढ्दो छ । प्रधानमन्त्रीको साख गिराउने काम उनकै टिमले गरिरहेको छ । नियतवश कसैले नहोला, तर आफ्नो लाभको नियतले पक्कै हो । स्ट्राइकर मात्र गतिलो भएर खेल जितिँदैन । प्रधानमन्त्रीको पछिल्लो महसुस त्यही हुन सक्छ । उनका मान्छेले उनैलाई टेर्दैनन् ।

उनको आशय बुझ्दैनन् । भनेजसरी गर्दैनन् । आलोचना सहँदैनन् । आलोचना गर्नेको गलत रिपोर्टिङ गरिदिन्छन् । कच्चा सल्लाह दिन्छन् । कसलाई कसरी ‘स्वाद चखाउने’ वा ‘सेखी झार्ने’ खेतीमा बढी केन्द्रित हुन्छन् । र, प्रधानमन्त्रीलाई उपयोग गर्छन् । बाहिरबाट नांगा आँखाले देखेको यो सरकारको सानो तर गहन समस्या यही हो । प्रधानमन्त्रीबाट यसमा समीक्षा पक्कै हुनेछ ।

ढिलढाल, आलटाल र टारटुर गर्न यो सरकारलाई कुनै बहाना आवश्यक छैन । कानुन अपुग भए तत्काल बनाउने जनमत छ । कसैले बाधा पुर्‍याए वा अटेर गरे पाखा लगाउने खुबी छ । तर पनि किन जनताले ठम्याउने गरी ‘सिन्को भाँच्न’ सकेको छैन ? नेपाली जनता फेरि अस्थिरता चाहँदैनन् । यही सरकारले केही गरोस् भन्ने चाहन्छन् । त्यो सन्देश सुनाइदिने दायित्व हाम्रै हो ।

प्रधानमन्त्री ढिलासुस्तीवरुद्ध आफ्नै टोलीसँग कडा रूपमा प्रस्तुत भएका छन् । ‘जनता निराश भए भने देशका लागि घातक हुनेछ’, उनको भनाइ छ । तिनै निराश जनताको प्रतिनिधिमूलक अभिव्यक्ति हो यो लेख । ‘घातक’ हुने अवस्थामै त पुगेको छैन, तर लक्षण देखिइसकेको छ । मन्त्रीहरू मेलो हराएसरह आ-आफ्नै तालमा छन् । नत्र आफू राम्रो स्वस्थ नभई राखेर थर्काउन प्रधानमन्त्रीलाई के जरुरी थियो होला त ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.