बालुवा उत्खनन् गर्ने सप्लायर्सविरुद्ध जिल्ला वनद्वारा मुद्दा चलान
नेपालगन्ज : अवैध रुपमा बालुवा उत्खनन् गरेको अभियोगमा नियन्त्रणमा लिएको सुनिता ट्रेडर्स एण्ड सप्लायर्सविरुद्ध डिभिजन वन कार्यालय बाँकेले मुद्दा प्रक्रिया अघि बढाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अवैध रुपमा बालुवा उत्खनन् गरेको अभियोगमा राप्ती नदी किनारबाट ३९ वटा ट्रेक्टर नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएको थियो ।
प्रहरीले राप्ती नदीबाट अवैध रुपमा बालुवा उत्खनन् गरेको भन्दै ३२ वटा बालुवा भरिएका, ५ वटा खाली र एउटा ट्राली नभएको ट्रेक्टरलाई आवश्यक कारबाहीका लागि भन्दै वन कार्यालयलाई पत्राचार गरेको थियो ।
सप्लायर्सले आफ्नै खानीबाट बालुवा निकासी गरेको दाबी गरे पनि प्रहरीले राप्ती नदीबाट अवैध उत्खनन् गरेको पत्राचार गरेपछि मुद्दा प्रक्रियामा गएको डिभिजन वन कार्यालयका प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । उनले भने, ‘निकासीकर्ताको दाबी र प्रहरीले दिएको जानकारी मिलेन । त्यसैले मुद्दा प्रक्रियामा गएका हौं ।’
चालकहरुलाई जमानतमा रिहा गरिए पनि टे«क्टर भने वन कार्यालयमै राखिएको छ । वन कार्यालयले वन ऐन २०४९ अनुसार बिगो बराबरको जरिवाना गर्ने व्यवस्था छ । कारबाही नै गरिए पनि प्रति टे«क्टर ६० रुपैयाँ जरिवाना गर्ने प्रावधान छ ।