निजामती कर्मचारी, शिक्षक र प्रहरीकाे एउटै किताबखाना
काठमाडौं : निजामती कर्मचारी, विद्यालय शिक्षक र प्रहरीका किताबखाना मर्ज भएर राष्ट्रिय किताबखाना बन्ने भएको छ। सरकारले तीनवटै किताबखाना एउटै बनाएर राष्ट्रिय किताबखाना बनाउन लागेको हो। पाँच लाखभन्दा बढी कर्मचारी, शिक्षक र प्रहरीको विवरण एकै ठाउँमा अभिलेख राखिने भएको हो।
नेपाली सेनाको अभिलेख राख्ने सैनिक अभिलेखालय बाहेकका तीनवटै किताबखाना मर्ज गरिने निजामती कर्मचारी किताबखानाका महानिर्देशक जयनारायण आचार्यले जानकारी दिए। उनले कर्मचारी, शिक्षक र प्रहरी किताबखानाको मर्जको प्रक्रिया सुरु भइसकेको बताए। उनले भने, ‘मन्त्रिपरिषद्को निर्णयअनुसार तीनवटै किताबखानाको मर्ज हुन लागेको छ। कार्यविधि तयार भइरहेको छ भने भवन खोज्ने काम पनि भइरहेको छ।’
फिजिकल प्रोपर्टीको मर्जिङ बाहेकका काम भइरहेको उनको भनाइ छ। शिक्षा मन्त्रालयअन्तर्गत विद्यालय शिक्षक किताबखाना र गृह मन्त्रालयअन्तर्गत प्रहरी किताब खानालाई मिलाएर संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालयमातहत कर्मचारी किताबखानामा मर्ज गरिने भएको छ। प्रशासनिक संरचना आयोगको सिफारिसमा नेपाल सरकारले तीनवटै किताबखानाको मर्ज गरेको हो।
१७२ वर्षे किताबखाना
१९०३ सालमा राणा शासनको सुरुआत भएपछि पजनी हुने कर्मचारीको लगत राख्न एक कर्मचारी व्यवस्था गरेर किताबखाना स्थापना गरियो। निजामती, जंगी, प्रहरी र मिलिसिया कर्मचारीको लगत व्यवस्थित रूपमा राख्ने प्रयोजनको १९०५ सालमा मुलुकी किताबखानाको विधिवत स्थापना भएको हो। १९३३ सालमा कमान्डर इन चिफको मातहतमा रहने गरी मुलुकी किताबखानालाई कमान्डरी किताबखानामा परिणत गरियो।
१९९७ सालपछि सेवानिवृत्त कर्मचारीलाई निवृत्तभरण (पेन्सन) दिने व्यवस्था लागू भएपछि कर्मचारीको वैयक्तिक विवरण फारम (सिटरोल) भरी राख्न सुरु गरिएको पाइन्छ। २००९ सालमा नेपाली सेनाको पुनर्गठन भएपछि जंगी फाँटलाई अलग गरी सैनिक सेवामा रहेका व्यक्तिको अभिलेख अद्यावधिक राख्न कमान्डरी किताबखाना फाँटको स्थापना भयो। कमान्डरी किताबखाना जंगी फाँटको कार्य सञ्चालन २०२७ सम्म निजामती कर्मचारीबाट गर्ने गरेकोमा त्यसपछि उपसचिव स्तरको प्रमुख सेनानीबाट भयो। २०४३ वैशाख १ गतेबाट लागू हुने गरी तत्कालीन श्री शाही नेपाली सैनिक अभिलेखालय नामाकरण गरी काठमाडौं भद्रकालीमा खडा गरियो।
२००७ सालसम्म कमाण्डर इन चिफको मातहतमा रहेको यो कार्यालय २००८ सालपछि गृह मन्त्रालय, मन्त्रिपरिषद् सचिवालय, प्रशासन व्यवस्था विभागअन्तर्गत रहँदै हाल सामान्य प्रशासन मन्त्रालयमातहत एकमात्र विभागको रूपमा छ। २०२२ सालदेखि निजामती किताबखानाले २०३५ सालसम्म नेपाल प्रहरी कर्मचारी र विद्यालय शिक्षकको समेत अभिलेख राखेको थियो। सोही वर्ष प्रहरी किताबखाना र विद्यालय शिक्षक किताबखानाको स्थापना भएको हो।