आपराधिक गतिविधि कम गर्न वीरगञ्जमा सिसिटिभी
वीरगन्ज : वीरगञ्ज महानगरपालिकामा हुने अपराधिक गतिविधि कम गर्न सहरभरि सिसिटिभि क्यामरा जडान गरिने भएको छ। अपराधिक गतिविधिबाट सहरलाई सुरक्षित राख्न सहरलाई सिसिटिभी क्यामेराको निगरानीमा राख्ने अभियान थालिएको हो।
वीरगञ्जका विभिन्न स्थानमा एक करोड १७ लाख रुपैयाँ बराबरको पाच सय थान सिसिटिभी क्यामेरा जडान गर्ने काम सोमबारदेखि शुरु गरिएको छ। वीरगञ्जको घण्टाघर चोकमा सोमबार बिहान पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले प्राविधिकलाई सिसिटिभी क्यामेरा हस्तान्तरण गर्दै अभियानको उद्घाटन गरेका हुन्।
अभियानको पहिलो दिन सोमबार घण्टाघर चोकदेखि भारतीय महावाणिज्य दूतावाससम्मको सडकमा रहेका पोलमा तार टाँगेर तीन वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ । यसअघि गत चैतमा सेफर वीरगञ्ज नामक संस्थाले पनि वीरगञ्ज महानगरका ३२ वटै वडालाई आगामी एक वर्ष भित्र सिसिटिभी क्यामेरा युक्त बनाउने अभियान थालेको थियो ।
उसले त्यस बेला महानगरमा एक वर्षभित्र दुई सय थान सिसिटिभी क्यामेरा जडान गर्ने औपचारिक घोषणा नै गरेको थियो । तर उसले घोषणा गरे यता आठ महिनाको अवधिमा ७० वटा मात्र सिसिटिभी क्यामेरा जडान हुन सकेको छ ।
सेफर वीरगञ्जको अभियान सुस्त देखिएपछि आफ्नो पहलमा सुरक्षित वीरगञ्जका लागि सोमबारदेखि पुन अभियान थालिएको सांसद यादवले बताए । यो अभियान अन्तर्गत पाँच सय थान सिसिटिभी क्यामेरा जडान गरिने सांसद यादवले जानकारी दिए ।
बेलाबेलामा भारतीय तथा नोपली अपराधीहरुले वीरगञ्ज क्षेत्रमा विभिन्न खाले अपराधिक घटना गरेर सीमापार गरी फरार हुने गरेको भन्दै सांसद यादवले भने, ‘त्यसैले अब रक्सौलबाट
वीरगञ्ज छिर्ने मुख्य नाका शंकराचार्य गेटदेखि भन्सार क्षेत्रसम्म मात्र ६ वटा क्यामेरा जडान गरेका छौँ । यसले नाकामा हुँदै आएको तस्करीमा पनि कमी आउने अपेक्षा गरिएको छ।’ महानगरमा जडान गरिने सिसिटिभीको नियन्त्रण कक्ष जिल्ला प्रहरी कार्यालयमा राखिने भन्दै यादवले त्यसका लागि प्रहरी कार्यालयमा सुविधाा सम्पन्न छुट्टै भवन निर्माण गरिसकिएको जानकारी दिए ।