'सारस' लुम्बिनीको नगरपंक्षी
लुम्बिनी : प्रेम र समर्पणको प्रतीक मानिने सारस बुद्ध जन्मस्थल लुम्बिनीको नगरपंक्षी घोषणा भएको छ। लुम्बिनी आसपासका क्षेत्रमा बसोबास गर्ने सारसलाई शान्तिको प्रतीकका रुपमा लिँदै संरक्षणको थालनी पनि गरिएको छ।
लुम्बिनीमा पहिलो पटक भएको पहिलो पंक्षी महोत्सवमा सारसलाई नगर पंक्षी घोषणा गर्दै संरक्षणको अभियान चलाउने योजना बनाइएको छ। पश्चिम नेपालको रुपन्देही र कपिलवस्तुमा सारसको बाक्लो बासस्थान छ।
लुम्बिनी क्षेत्रका खेत-खेतमा सारस बस्ने र त्यही प्रजनन् गर्ने भएकाले लुम्बिनीलाई सारस संरक्षण क्षेत्रका रुपमा विकास गर्न लागिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्तले बताए। 'सारस शान्तिको प्रतिक रहेकाले यसको संरक्षण गर्न अपरिहार्य छ, उनले भने, 'संरक्षण गर्नकै लागि नगरपंक्षी घोषणा गरिएको हो।' यो घोषणासँगै सारसका लागि सुरक्षित बासस्थान, आहाराको संरक्षणका काम हुने उनले बताए।
लुम्बिनी र कपिलवस्तु क्षेत्रमा सारसकै अध्ययनका लागि पर्यटक आउने गरेका छन्। सारसलाई सामाजिक प्राणीका रुपमा समेत लिने गरिएको छ। एउटा सारसको मृत्युपछि अर्को सारस शोकले नै मर्ने अध्यताहरु बताउँछन्। नवविवाहिताले सारसको जोडी हेर्दा शुभ हुने विश्वास समेत यो क्षेत्रमा रहेको छ।
प्रदेश नम्बर ५ को नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाके र बर्दियाका विभिन्न क्षेत्रमा सारस पाइन्छ। यी क्षेत्रमा करिब साढे छ सय सारस रहेको चरा विज्ञहरु बताउँछन्। लुम्बिनी क्षेत्रमा मात्रै करिब एक सय ५० सारस रहेको चराविद् दिनेश गिरीले बताए। लुम्बिनीमा सारसले अण्डा पार्ने र कोरल्ने भएकाले यसलाई महत्वपूर्ण क्षेत्र मानिने उनको भनाई छ।
लुम्बिनी आसपासको कृषि क्षेत्रमा सारस र किसान सँगसँगै देख्न सकिन्छ। त्यहाँका किसानले सारस संरक्षण गर्नुपर्छ भन्ने बुझेको गिरी बताउँछन्। लुम्बिनीको कम्पाउण्डभित्र र बाहिर खेतमा सासरले अण्डा पार्ने कोरल्ने गर्दछ। शान्ति स्तुपा क्षेत्रमा गौरचन हुँदा सारसलाई कठिन भइरहेको गिरी बताउँछन्।
विश्व दुर्लभ सूचिमा रहेको सारस संरक्षणका लागि तिनाउ र दानव नदीमा हुने प्रदृषण रोक्नुपर्ने चराविज्ञहरु बताउँछन्। दानव नदी क्षेत्रमा मात्रै १०४ वटा सारस फेला पारेका गिरीले त्यहाँको प्रदूषण जोखिमपूर्ण रहेको बताए। 'आहारा र पानीका लागि सारस दानवको छेउछाउमै बसोबास गर्छ, तर त्यहाँका उद्योगबबाट निस्किएको रसायनयुक्त पानीले सारसललाई कठिन पारेको छ', उनले भने।
लुम्बिनी विकास कोषभित्रै रहेको सारस संरक्षण क्षेत्रमा हुने आगजनी, रुख कटानीले असुरक्षा हुने गिरीले बताए। सारस संरक्षण अभियानसँगै त्यस क्षेत्रका पोखरी सुकाएर माछा मार्ने र विषादी राख्ने प्रवृति रोक्नुपर्ने उनले सुझाव दिए।
लुम्बिनी क्षेत्र सारसमात्रै नभई अन्य चराको पनि बाक्लो बासस्थन र घुमफिर गर्ने स्थान हो । लुम्बिनीमै करिब ३ सय प्रजातिका चराहरु रहेको विज्ञहरु बताउँछन्। नवलपरासी, रुपन्देही र कपिलवस्तुका सिमसारमा ४ सय ५८ प्रजातिका चराहरु रहेका छन् ।
शान्तिका लागि सारस संरक्षण
लुम्बिनी विकास कोषले 'शान्तिका लागि सारस' भन्ने नारासहित आगन्तुक चराको स्वागत थालेको छ। यसले चराप्रतिको प्रेम बढ्ने विश्वास कोषले लिएको हो।पंक्षी महोत्सवमा इन्टरनेशलन क्रेन फाउन्डेसनका संस्थापक जर्ज आकी वाल्ट समेत सहभागी छन् । महोत्सवअन्तर्गत लुम्बिनीमा चित्रकला प्रतियोगिता, फोटो प्रर्दशनी समेत गरिएको छ।
लुम्बिनीमा सारस, कोइली, भद्राई, कालो चिबे, मधुमक्षी, विभिन्न प्रजातिका बकुल्ला, भुँडिफोर, घोगीफोर, लोभिपापी भुँडिफोर, कालोगण्ड, हरिहाँस, बिजुलगैरे, सानो जलेवा, सावरी, कुर्मा, लालसर, बगाले सिमकुखुरा, लामोऔँले, मरुल, जलअप्सरा, हुटिट्याउँ, टमटमे, आँसीठुँडे लगायतका करिव तीन सय प्रजातीका चराहरू पाइन्छन्।
कोषका उपाध्यक्ष मेत्तेयले लुम्बिनी परिसरकै पोखरी, तलाउ क्षेत्रको संरक्षणको थालनी समेत महोत्सवसँग सुरु भएको बताए । 'चराको वासस्थान बढ्दा यहाको सौन्दर्यतामा थप वृद्धि हुनेछ', उनले भने। लुम्बिनी सांस्कृतिक नगरपालिकासँगको सहकार्यमा सारस संरक्षण अभियान चल्नेछ।