सार्वजनिक धाराको पानीका थाप्न पैसा
वीरगन्ज : पर्साको ठोरी गाउँपालिका–४ का स्थानीय सार्वजनिक धाराको पानी थाप्नसमेत पैसा तिर्छन्। झण्डै तीन सय घरधुरी रहेको वडा नम्बर ४ मा मेलचोक र विशाल चोकमा गरी दुई वटा मात्र खानेपानीका सार्वजनिक धारा छन्। ती दुवैमा बिहान र साँझ गरी तीन/तीन घण्टा पानी आउँछ। दुवै धारा विद्युतीय मोटरबाट चलाउने गरिएको छ।
नियमित विद्युत् आपूर्ति नहुँदा मोटर चलाउन जेनेरेटर पनि राखिएको छ। गाउँपालिका प्रमुख पदमलाल श्रेष्ठकै घर भएको वडामा उक्त धारो छ। पैसा तिरेरै पानी थाप्नु पर्दा पनि डेढ–दुई घण्टा पालो कुर्नुपरेको स्थानीय बताउँछन्। स्थानीय निर्मल युवा समाज क्लबले बिहान ४ देखि ७ र बेलुकी दुई समयमा मात्र जेनेरेटर चलाएर धाराबाट स्थानीयलाई सःशुल्क पानी वितरण गर्दै आएको छ।
ती धाराबाट पनी थापेबापत क्लबले प्रत्येक घरबाट महिनाको एक सय रुपैयाँ शुल्क लिने गरको क्लबका अध्यक्ष भीमसेन सुनारले जनाए। ‘वर्षभरिकै एकमुष्ट तिर्नेलाई वार्षिक एक हजार रुपैयाँ मात्र लिन्छौं,’ अध्यक्ष सुनारले भने। खानेपानीको अन्य स्रोत नहुँदा वडा नम्बर ४ का स्थानीयले सात वर्षदेखि यसैगरी सार्वजनिक धाराको पानीका लागि पैसा तिर्दै आएका छन्।
स्थानीय श्यामबहादुर तामाङले भने, ‘तीन दशकअघि यहाँका मान्छे पानीका लागि तीन किलोमिटर परको गाउँ गोपीबस्ती धाउँथे। २०५६ सालमा सरकारी लगानीमा मेलचोक र विशाल चोकमा सार्वजनिक धारा गाडियो। अहिले यही धाराको पानी उपभोग गर्दै आएका छौं । ’ सञ्चालनको १० वर्षपछि ती धारा बिग्रिएको थियो। ०६८ सालमा स्थानीय निर्मल युवा क्लबले पुनर्निर्माण गरी विद्युतीय मोटर र जेनेरेटर जडान गरको हो। ‘धारा बिग्रिएपछि गाउँमा पानीको हाहाकारै भयो’, अध्यक्ष सुनारले भने, ‘क्लबले नै एक लाख २५ हजार रुपैयाँ खर्चेर धारा प्रयोगमा ल्यायो । ’
धारा चलाउन प्रयोग गरिएको मोटर जडान तथा इन्धनलगायत खर्च जुटाउन प्रत्येक घरबाट आवश्यक रकम उठाउने गरिएको छ। बिजुली नियमित आउँदै, बिहान बेलुकै जेनेरेटर चलाउनुपर्छ’, सुनारले भने, ‘डिजल चाहिन्छ, दुई जना कर्मचारी पनि राखेका छौं। पैसा त उठाउनै पर्यो । ’ गाग्री लिएर लाइन बस्दै गरेका स्थानीय विजय लामाले भने, ‘पैसा तिरेरै पानी थाप्दा पनि दुई घण्टासम्म पालो आउँदैन । ’ बिहान ४ देखि ७ र साँझ पनि ४ देखि ७ बजे बजेसम्म धारामा पानी आउने हुँदा पालो नआउँदै पानी सकिन्छ कि भन्ने अर्को चिन्ता हुने गरेको स्थानीय ठूलीमाया दोङले बताइन्। कहिलेकाहीँ त निकै भीड हुन्छ। पानी थाप्न र ओसार्न मात्रै दुई–तीन घण्टा लाग्छ । ’ विद्युत् नहुँदा जेनेरेटर।
जेनेरेटर पनि नहुँदा पानी भर्न डेढ किलोमिटर पैदल विजयवस्ती पुग्नुपर्ने बाध्यता रहेको मेलचोका अर्का स्थानीय श्यामबहादुर तमाङले बताए। ‘गाउँमा नाम मात्रको लाइन छ, जेनेरेटर पनि बिग्रियो भने त विजयवस्ती पुग्नुपर्छ’, उनले दुखेसो थपे, ‘यस्तो समस्या भोगिरहँदा पनि जनप्रतिनिधिहरू भने कानमा तेल हालेर बसेका छन् । ’ गाउँपालिका प्रमुख श्रेष्ठ भने खानेपानीको समस्या पूरै गाउँमा भएको बताउँछन्। उनले भने, ‘‘पाँच वटै वडामा दुई सय फिटसम्म पाइप गाड्दा पनि पानी आउँदैन, वडा नम्बर ४ मा ओभरहेड ट्याङकी बनिरहेको छ, दुई वर्षभित्र समस्या समाधान हुन्छ । ’