प्रयोगका आधारमा घरको बिमा
काठमाडौं : प्रयोगका आधारमा घरको बिमा गर्न सकिने भएको छ। यसअघि मूल्यको थ्रेसहोल्डलाई आधार मानेर घरको बिमा हुँदै आएको थियो। बिमा समितिले त्यसलाई परिवर्तन गरी अब आवास र व्यावसायिक प्रयोजनका आधारमा बिमा गर्ने तयारी गरेका छ।
यसअघि मूल्यका आधारमा डेढ करोडभन्दा बढी मूल्यपर्ने घरलाई व्यावसायिक र त्योभन्दा कम मूल्य पर्न आउने घरलाई आवासीय घरका रूपमा विभाजन गरी त्यसैका आधारमा बिमा गरिँदै आएको थियो। अब त्यसलाई परिवर्तन गरी कुन घर केका लागि प्रयोग भएको छ त्यसैका आधारमा बिमा गर्न मिल्ने गरी नयाँ नियम ल्याउने तयारी भइरहेको बिमा समितिका निर्देशक राजुरमण पौडेलले जानकारी दिए।
बिमा विज्ञ भोजराज शर्माका अनुसार नयाँ नियमले घरको बिमालाई फराकिलो बनाउन मद्दत गर्नेछ। ‘यसअघिको नियमले यो क्षेत्रलाई संकुचित बनाएकाले नयाँ कार्यविधि ल्याउने तयारी भएको हो’, शर्माले भने, ‘नयाँ नियमले कुनै घर व्यवसायी प्रयोजनका लागि प्रयोग भएको छैन भने त्यो घरको मूल्यांकन जति भए पनि त्यसलाई गृहस्थका रूपमा लिइनेछ।’ यसअघि डेढ करोडसम्मको आवासीय भवन वा घर मठमन्दीर, ध्यान पूजा तथा प्रार्थनास्थल र त्यसभित्रको सम्पत्ति वा सामानको बिमांकका लागि प्रतिहजार ०.७५ पैसा र उक्त रकमभन्दा माथिका लागि पूरै बिमांकको प्रतिहजार १.५० प्रतिशत बिमादर रहँदै आएको थियो। त्यसमा पनि परिवर्तन हुन सक्ने शर्मा बताउँछन्।
कुन घर केका लागि प्रयोग भएको छ त्यसैका आधारमा बिमा गर्न मिल्ने गरी नयाँ नियम ल्याउने तयारी।
शर्माका अनुसार पहिले २० देखि ३० लाखमा घर बन्थ्यो, अहिले सामान्य घर बनाउन पनि एक करोडले भ्याउँदैन। ‘यहाँ करोडौं रकम खर्च गरेर लग्जरियस घर बनाएर त्यसलाई गृहस्थकैरूपमा प्रयोग गर्ने पनि छन्। अनि एक करोडको घरमा व्यवसाय सञ्चालन गरेर बस्ने पनि’, उनले भने, ‘त्यसैले अब घरको मूल्यभन्दा पनि प्रयोगका आधारमा जानुपर्छ भनेर नयाँ नियम ल्याउने तयारी भएको हो।’ अर्कोतर्फ मूल्यका आधार बिमागर्दा आवासीय घरको बिमाप्रति ग्राहक आकर्षित नहुने देखेर पनि प्रयोजनका आधारमा बिमा गर्ने काम अघि बढाएको शर्माले बताए।
प्रयोजनका आधारमा घरको बिमा सुरु गरेसँगै घरको बिमामा समेत आकर्षण बढ्ने विश्वास समितिले लिएको छ। ‘गृहस्थका रूपमा बिमा गर्दा प्रिमियम सस्तोपर्न जान्छ। ‘जोखिम कम हुने भएकाले बिमा कम्पनी पनि घरको बिमा गराउन घरघर पुग्छन्’, शर्मा भन्छन्, ‘कमर्सिलय हुँदा जोखिम बढी हुन्छ। यसको बिमा प्रिमियम पनि बढी हुन्छ।अहिले काठमाडौंमा आवासका रूपमा प्रयोग भएका घरको मूल्यांकन पनि धेरै छ। मूल्यांकन धेरै हुँदा व्यावसायिक प्रयोजनमा जाने भएकाले मान्छे बिमा गर्न डराउँछन्।’ तर, प्रयोजनमा जाने र आवासमा प्रयोग भएका घरलाई त्यसैका आधारमा छुट्टयाउँदा प्रिमियम कम पर्न जान्छ, यसले ग्राहक आफ्नो घरको बिमा गर्न आकर्षित हुने शर्मा बताउँछन्। यससँगै घर–घरमा गएर बिमा कम्पनीले एक लाखको बिमा गर्नुहोस् भन्न सक्नेछन्। यसले बिमाको पहुँचलाई समेत वृद्धि गर्न मद्दत गर्नेछ।