सरकारी कामकाजमा लिम्बू भाषा
माङ्सेबुङ : इलामको माङ्सेबुङ गाउँपालिका–५ नम्बर वडा कार्यालयले सरकारी कामकाजका लागि लिम्बू भाषा प्रयोगमा ल्याएको छ। वडाध्यक्ष नरेन्द्रकुमार राईले बिहीबार प्रदेश सांसद धीरेन्द्र शर्मा, गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिंगोलगायतको उपस्थितिमा लिम्बू भाषालाई सरकारी कार्यालयमा लागू गरिएको घोषणा गरेका हुन्।
अब वडाका सबै सरकारी कार्यालयबाट लिम्बू भाषामा काम हुने जानकारी वडाध्यक्ष राईले दिए। ‘हाम्रो वडाका अधिकांश नागरिक लिम्बू भाषा बोल्छन्’, उनले भने, ‘उनीहरूलाई यही भाषाबाट बोल्न र लेख्न सहज हुन्छ। त्यसकारण लिम्बू भाषालाई हामीले सरकारी कामकाजको भाषा बनाएर लागू गरेका हौं।’
पहिलो चरणमा दोभाषे स्वयंसेवक राखेर सेवा दिन सुरु गरिएको उनले सुनाए। ‘कर्मचारीले लिम्बू भाषा बुझ्दैनन् तर धेरै नागरिक यो भाषा नै बोल्ने आउँछन्’, उनले भने, ‘स्थानीय दल, संस्कृतिकर्मीले दोभाषे स्वयंसेवक खटाएर भए पनि लागू गरौं, हामी सहयोग गर्छौं भने।’
अंग्रेजी, किरात सिरिजंगा र देवनागरी लिपिमा वडा कार्यालयको बोर्ड राखिए पनि निवेदनहरूको ढाँचा तयार पारिरहेको उनको भनाइ छ। वडाभित्रका सम्पूर्ण सरकारी कार्यालयको बोर्ड, लेटरप्याड र वडाले निर्माण गर्ने फारममा नेपाली भाषाका साथ लिम्बू र किरात सिरजिंगा लिपि प्रयोग हुनेछ।
स्थानीयले पनि तीनवटै भाषा प्रयोग गर्न माग गरेका छन्। ‘हामीलाई खुसी लागेको छ’, स्थानीय राजकुमार माबोहाङले भने, ‘अब तीनवटै भाषामा भयो भने जस्तो व्यक्ति आयो त्यस्तैमा भरे राम्रो होला।’
लिम्बू भाषालाई पहिलो पटक सरकारी कामकाजमा ल्याइएको दाबी वडा कार्यालयले गरेको छ। यो वडामा ६० प्रतिशत लिम्बू र ४० प्रतिशत अन्य जातिको बसोबास छ।
बोर्डिङमा लिम्बू भाषा कक्षा
त्यस्तै, झापाको शिवसताक्षी नगरपालिका–१० माईधारस्थित मेची इङ्लिस बोर्डिङ स्कुलले लिम्बू भाषामा पनि पठनपाठन गराउँदै आएको छ। कक्षा ३ र ४ का २६ छात्रछात्रालाई लिम्बू भाषामा अध्यापन गराइरहेको सञ्चालक बातकृष्ण चेम्जोङले बताए। ‘यो लिम्बू जाति बाहुल्य क्षेत्र हो’, उनले भने, ‘पढ्न आउने पनि धेरै यही जातिका भएकाले मातृभाषाको दख्खल होस् भन्ने उद्देश्यले अतिरिक्त विषयका रूपमा लिम्बू भाषा समावेश गराएका हौं।’ सोमबार र मंगलबार दुईवटै कक्षाका विद्यार्थीलाई एकै ठाउँ राखेर लिम्बू भाषामा लेख्न र बोल्न सिकाउने गरेको शिक्षिका सञ्चमाया लिम्बूले बताइन्। ‘कक्षा ३ र ४ का विद्यार्थी सिक्ने बेलाका हुन्छन्’, उनले भनिन्, ‘भनेको चाँडो बुझ्ने र लिन सक्ने भएकाले कक्षाका इच्छुक विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउँछु।’ शिक्षिका लिम्बू अंग्रेजीमा पनि पढाउँछिन्।
झापाका अन्य निजी विद्यालयले मातृभाषाको विषयलाई प्राथमिकतामा दिएका छैनन्। तर, आफूहरूले भाषा संरक्षण गर्न चासो बढोस् भनेर प्रयास मात्र गरेको चेम्जोङले सुनाए।