मुग्लान जानेको ताँती

मुग्लान जानेको ताँती

महेन्द्रनगर : चाडबाडका बेला पश्चिमी सीमानाका गड्डाचौकीमा घर फर्किने नेपालीको ठूलै ताँती देखिन्छ। घरपरिवारसँग बसेर चाडबाड मनाउने खुसीसाथ भारतमा मजदुरी गर्न गएका नेपाली घर फर्किन्छन्। चाडबाडमा घर फर्किनेको जति ठूलो भीड नाकामा देखिन्छ, त्यस्तै भीड अहिले नाकामा कामका लागि भारत पस्नेहरूको छ। नाकामा यो दृश्य प्रायः हरेक वर्ष देखिने गर्छ।

घरमा चाडबाड मान्न आएका मानिस यतिखेर पुनः काम गर्नकै लागि भारत फर्किन थालेका छन्। अहिले पश्चिमी नाका गड्डाचौकी भएर दिनहुँ सयौं संख्यामा भारत गइरहेका मानिसको ताँती देखिन्छ। यतिखेर नाकामा केटाकेटीदेखि युवायुवती र वृद्धवृद्धासम्म घरपरिवारसहित भारत पसिरहेको देख्न सकिन्छ।

‘आफ्नो ठाउँमा कामै पाइँदैन, घरपरिवार चलाउन भारत नपसेर के गर्ने ? ’ कञ्चनपुरको गड्डाचौकी नाका भएर भारत पस्दै गरेकी कैलाली लम्कीकी सुनितानाथ योगीले भनिन्, ‘भारत नगई जीवन चलाउनै सकिँदैन।’ उनी आफ्नो साथमा रहेको ४ वर्षको बालकसहित परिवारका मानिससँग भारत हिँडेकी हुन्। उनीसहित ३०÷३५ जनाकै समूह एकैसाथ मजदुरीका लागि भारत पसेका छन्।

‘चाडबाड मनाइयो, अब अलिकति घरखर्च चलाउने पैसा कमाउनुपर्‍यो’, उनले भनिन्, ‘फर्किंदा उमंग हुन्छ तर जाँदा भने मन पिरोलिएको हुन्छ।’ उनी घरपरिवारका सदस्यसहित मजदुरी गर्न भारत पसेकी हुन्। उनी मात्रै होइनन्। कैलाली लम्कीका भक्तबहादुर नेपालीको आधाजसो जीवन भारतको रोजगारीमै बित्ने गरेको छ। घरपरिवार पाल्नकै लागि उनी भारतमा रोजगारी गर्न जान थालेको २० वर्षभन्दा बढी भइसकेको छ।

भारतमा मजदुरी गरेर उनले घरपरिवार पाल्दै आएका छन्। चाडबाडमा घर आउने र त्यसपछि मजदुरीका लागि भारत जाने काम गर्न थालेको उनले सानैदेखि हो। बाजेको पालादेखि नै उनी भारत जान थालेका हुन्। ‘के गर्ने हजुर आफ्नो देशमा न रोजगारी छ न त केही कामै पाइन्छ’, उनले भने, ‘आफ्नो देशमै काम पाइए त कसलाई अर्काको देशमा जाने रहर हुन्छ र !’

लम्कीकै सन्तोषनाथ योगी मजदुरीका लागि भारत पस्न थालेको ४ वर्ष भयो। उनी पनि प्रत्येक वर्ष चाडबाडमा घर आउने र अन्य समय मजदुरी गर्न भारत पस्दै आएका छन्। उनीहरू सबै भारतको चम्पावत, लुहाघाटलगायत ठाउँमा मजदुरी गर्न हिँडेका हुन्। ‘दसैं–तिहार मनाउन आएको थिएँ, केही समय घरमा अरू काम गरेँ’, उनले भने, ‘सबै काम सकेर केही महिना काम गर्न जान लागेका छौं, अब नयाँ वर्ष मनाउन घर फर्किन्छौं।’

चाडबाड र खेतीपातीको समयमा घरमा बस्ने र खाली बस्नुपर्ने समयमा अलिकति भए पनि पैसा कमाउने उद्देश्यले मजदुरी गर्न जानेको भीड देखिन्छ। पहाडमा सडक निर्माणको काममा मजदुर चाहिने भएकाले उक्त काम गर्न जान हिँडेको उनीहरूले बताए। कतिपय मानिस पहिलो पटक गइरहेका छन् भने कति वर्षौंदेखि जाने–आउने गरेका छन्। नाकामा अहिले साँझ र बिहानपख सबैभन्दा बढी भीड देखिन्छ।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले अब भारतमा मजदुरीका लागि जानुपर्ने अवस्था अन्त्य गर्ने बताए पनि कामका लागि भारत जानेको अवस्थामा भने केही फरक आउन सकेको छैन।

‘स्वदेशमै रोजगारी र काम गर्न पाइन्छ भन्ने त चुनावका बेला सुनेको हो’, लम्कीका धनबहादुर परियारले भने, ‘हाम्रा लागि न सरकार छ न त कुनै व्यवस्था नै आएको देखिन्छ।’ सडक निर्माण, पुल–पुलेसालगायत निर्माणमा मजदुर आवश्यक पर्ने भएकाले उनीहरू समूह नै बनाएर काममा जाने गर्छन्।

उनीहरू दैनिक ज्यालादारीमा काम गर्छन्। दैनिक ४÷५ सयका हिसाबले मजदुरीको ज्याला पाउने गरेको उनीहरू बताउँछन्। ‘काम सिकेकाहरूलाई त ज्याला पनि बढी मिल्ने गर्छ’, सन्तोषनाथ योगीले भने। स्वदेशमै रोजगारीको व्यवस्था भए सहज हुने उनी बताउँछन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.