आवाजको जादु
भनिन्छ– जन्मँदा मान्छे रित्तो हात जन्मिन्छ।
सम्भवतः केवल भौतिकवादीहरूले बनाएको दृष्टिकोण हुन सक्छ यो। वास्तवमा, अलिक फरक दृष्टिकोणले हेर्ने हो भने मान्छे जन्मँदा एक्लो आफू मात्रै जन्मेको हुँदैन; उसले साथमा अर्थोक पनि ‘केही’ लिएर जन्मेको हुन सक्छ।
त्यो ‘केही’लाई विभिन्न रूपमा देख्न सकिन्छ, भेट्न सकिन्छ। अर्थात्, त्यो ‘केही’ भनेको उसको ‘ट्यालेन्ट’ (प्रतिभा) हुन सक्छ। तर, यो सही हो– मान्छेभित्र अन्तरनिहित प्रतिभालाई जन्मेकै बेलामा चिन्न नसकिएला। तर समयको प्रवाहसँगै त्यस्तो प्रतिभाको पहिचान हुँदै आउँछ।
नारायणगोपाल त्यही व्यक्ति थिए, जसले जन्मँदा केवल सामान्य शरीर लिएर मात्रै जन्मेका थिएनन्, एक असाधारण प्रतिभा लिएर जन्मेका थिए। र, त्यो प्रतिभा भनेको उनको ‘आवाज’ थियो।
उनको आवाजमा मोहनी थियो, जादु थियो।
कुनै रोमाञ्चक कहानीझैं नारायणगोपालका एक प्रशंसकले सुनाउँदै थिए– ‘एक दिन म बस चढेर कतै जाँदै थिएँ। मेरो पछाडिपट्टिबाट एउटा अनौठो आवाज आयो, तामाको कुनै भाँडा बजेजस्तो, मीठो ! जसै मैले पछाडि फर्केर हेरेँ, ठीक मेरो पछाडिको मान्छेले खोकेका पो रहेछन्। र, म त्यत्ति नै खेर आश्चर्यचकित पनि भएँ, जब मैले त्यो मान्छेको अनुहार पहिल्याएँ। ओहो, उनी त नारायणगोपाल पो रहेछन्।’
नारायणगोपालको ‘खोकी’माथि नै यसरी आभूषण लगाउन सकिन्छ भने, अझ उनको बोली र त्यसभन्दा अघि बढेर उनले गाएका गीतहरूमाथि नै चर्चा/परिचर्चा गर्दा कस्ता–कस्ता शब्दहरूले विभूषित गर्न सकिन्छ होला ? अनुमान गर्न मुस्किल छ।
चलचित्र ‘दक्षिणा’मा उनले गाएको ‘मुटुलाई कसरी सम्झाई बुझाऊँ...’ बोलको गीतको रेकर्डिङमा अन्ततिर ओरिजनल्ली उनको ‘खोकीलाई समावेश गरिएबाट पनि पुष्टि हुन्छ कि– उनको आवाजसँग मिसिएर आएको खोकीलाई कति महत्व दिइएको छ !
०००
‘स्वरसम्राट्’ नारायणगोपाल व्यक्तिका रूपमा उनका बारेमा सुन्नेहरूका निमित्त अव्यावहारिक मानिन्थे। तर, उनी स्वयम्को जीवनको लागि उनको शारीरिक व्यक्तित्वभन्दा ‘सिर्जना’ सार्थक रह्यो। शारीरिक जीवनले त उनलाई के दियो ? सधैं दुःख दिइरह्यो। जीवनको पछिल्लो समयमा डायबिटिजद्वारा गाँजिएको उनको जीवन अस्तव्यस्त थियो, त्यसमाथि मिर्गौलाको समस्या थपिएपछि उनको दैनिकी झन् कष्टकर हुँदै गयो। यही कारण नारायणगोपालको नाम भन्नु व्यक्ति नारायणगोपाल होइन, स्रष्टा नारायणगोपाल हो; नारायणगोपालको नाम भन्नु त्यो नामसँग जोडिएको ‘स्वरसम्राट्’को विभूषण हो।
नारायणगोपालको अर्धाङ्गिनी पेमलाले कतै लेखेकी छिन्– ‘नारायणगोपालको स्वरको, आवाजको, गलाको आफ्नै अद्वितीय भाषा छ, आफ्नै ओज छ। सम्भवतः यसै कारण स्वरका ज्ञाताहरू, स्वरका मर्मज्ञहरू यो आवाजलाई ‘कालजयी स्वर’ भन्छन्।’
स्रष्टा नारायणगोपालको गीति–इतिहास
आफ्नो जीवनमा नारायणगोपालले कति गीत गाए होलान् ? त्यसको यकिन हिसाबकिताब त सायद कसैले पनि बताउन सक्दैनन् नै। रेकर्डकै रूपका गीतहरूको पनि ठीक दुरुस्त तथ्यांक सायद कसैसँग छैन। तर सरोकारवालाहरूको मत छ– जे–जति उनका गीत छन्; सम्भवतः हजारको गन्तीमा नपुगे पनि त्यो गन्तीलाई उनका आवाजको गुणात्मकताले गौण बनाइदिएका छन्।
उनको पहिलो गीत
बाल्यावस्थादेखि नै गीतसंगीततर्फ आकर्षित नारायणगोपाल वि.सं. २०१२ सालदेखि सक्रिय रूपले रंगमञ्चहरूमा देखिएका थिए। औपचारिक रूपमा पहिलो पटक गीत रेकर्ड भने वि.सं. २०१८ सालमा कलकत्ता पुगी गरेका थिए।
तथापि २०१६ सालमा पहिलो चोटि आफ्नै संगीतमा टेपमा गीत गाएको देखिन्छ। रेडियो नेपालमा टेप गरिएको उक्त गीत रत्नशमशेर थापाले लेखेका थिए। गीतको पूर्ण रूप यस्तो छ–
गाजलु आँखा मोहनी रूप हँसिलो मुहार
शिरमा फूल कण्ठमा माला चाँपको झंकार
हाँगमा बसी कोयली कुक्दै वसन्त मनाउँछ
त्यो लालीगुराँस वनमा फुली चौपट्ट रमाउँछ
हरिया पहाड उज्ज्वल डाँडा बतास सरर
इसारा गर्दै चम्किला केश उडेका फरर
हिउँका दाना घाममा पग्ली बगेको सलली
सम्झन्छु माया लगाई मन लगेको झल्झली।
त्यसो त उनले गाएका गीतहरूमा केवल उनको आवाज मात्रै नै पनि होइन, तिनमा लिपिबद्ध शब्दहरूले पनि महत्वपूर्ण भूमिका खेलेका छन्। उनी कुनै पनि गीत गाउनुअघि त्यो गीतका शब्दहरूको गहिराइ केलाउने गर्थे। अझ, त्यसभन्दा अघि बढेर भन्ने हो भने उनले गाउने भनिएको गीतमा राखिएको संगीतले उनको हृदय स्पर्श नगरुञ्जेल त्यो गीत उनका लागि मान्य हुँदैनथ्यो। मूलतः गहिरा शब्द–रोजाइ उनको गीतको पहिलो प्राथमिकता हुन्थ्यो। धेरैभन्दा धेरै उनका लोकप्रिय गीतहरू यसका प्रमाण हुन्। खास गरेर उनी स्वयम्को संगीतबद्ध गीतहरू यसका उदाहरण हुन्। तथापि किन हो कुन्नि, एक पटक उनले आफ्नो एकल गायन ‘स्वर्णिम सन्ध्या’को बेला स्टेजबाटै अभिव्यक्ति दिएका थिए– ‘गीत राम्रो या नराम्रो भन्ने हुँदैन, त्यो सुनाइ (सुन्ने मान्छे) मा भर पर्छ।’ बुझ्न सकिएको छैन– त्यो अभिव्यक्तिको अर्थ के हुन सक्छ ?
लोकप्रियताको चुली
नारायणगोपाल नै नेपालका एक मात्र त्यस्ता गायक हुन्, जसले गाएका कुनै पनि गीत तत्समयमा लोकप्रिय नभएका होऊन् ! ती धेरै गीतमध्ये एउटा गीतको लोकप्रियताले नेपाली गीतसंगीतको फाँटमा सम्पूर्ण प्रकारको कीर्तिमान तोडेको थियो, जुन गीत नारायणगोपालले तारादेवीका साथ युगल रूपमा गाएका थिए।
‘रत्नशमशेर थापाले लेखेको त्यो गीत रेडियो नेपालबाट श्रोताको फर्माइसमा तीन वर्षसम्म एक दिन पनि नबिराई हामीले बजायौँ।’ वरिष्ठ नाटककार श्यामदास वैष्णव भन्छन्। त्यो गीत थियो–‘ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो
जाँदैन वाचा खेर पर्ख लिन आऊँला...’
‘दक्षिणा’मा उनले गाएको ‘मुटुलाई कसरी सम्झाई बुझाऊँ...’ बोलको गीतको रेकर्डिङमा अन्ततिर ओरिजनल्ली उनको ‘खोकीलाई समावेश गरिएबाट पनि पुष्टि हुन्छ कि– उनको आवाजसँग मिसिएर आएको खोकीलाई कति महत्व दिइएको छ !
अत्यन्तै लोकप्रिय गीतहरू
नारायणगोपालद्वारा गाइएका अधिकांश गीत आज पनि उत्तिकै लोकप्रिय छन्; सीमा नाघेरै ती मन पराइन्छन्। ठोकुवापूर्वक भन्न सकिन्छ– महाकवि देवकोटाका ‘मुनामदन’ भनौं वा युगकवि सिद्धिचरणको कविता ‘मेरो प्यारो ओखलढुंगा...’ जस्ता रचनामाथि उनको आवाजले ती रचनाहरू झन् बढी लोकप्रिय बनाउनमा धेरै ठूलो सघाउ पुर्याएको छ भन्नुमा केही द्विविधा मान्नु पर्दैन। यसैमा जोडेर यो पनि भन्न सकिन्छ– उनी आपैmंले गरेका मन्त्रमुग्ध संगीतका कारण अधिकांश गीतहरू अत्याधिक लोकप्रिय देखिन्छन्। उदाहरणका लागि केही
गीतका बोलहरू
- अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा... (रचना : भूपी शेरचन)
- ए कान्छा ठट्टैमा बैंस जान लाग्यो... (रचना : रत्नशमशेर थापा)
- मलाई नसोध कहाँ दुख्छ घाउ... (रचना : हरिभक्त कटुवाल)
- आँखा छोपी नरोऊ भनी भन्नुपर्या छ... (रचना : कालीप्रसाद रिजाल
- जुन फूल मैले चाहेको थिएँ... (रचना : भैरवनाथ रिमाल ‘कदम’
- पिउँदापिउँदै जिन्दगी यो रित्याउन चाहन्छु म... (रचना : यादव खरेल)
- ईश्वर तैंले रचेर फेरि कसरी बिगारिस् ? ... (रचना : माधवप्रसाद घिमिरे)
उपर्युक्त केही गीतहरूको आधारमा एक पंक्ति खुलेरै भन्नुपर्नै हुन्छ–नारायणगोपालको आवाजको अलावा उनको संगीतकार–व्यक्तित्व भने छायामा परेको प्रस्ट छ। सरोकारवालाहरूले यस पाटोमा आफ्नो दृष्टि पुर्याउन आवश्यक छ।
अन्य संगीतकारका संगीतमा उनले गाएका लोकप्रिय धेरै गीतहरू (स्थानाभावका कारण) मध्ये केही गीत :
- चिनारी हाम्रो धेरै पुरानो रहेझैं लाग्दछ... (रचना : नगेन्द्र थापा, संगीत : कर्म–गोपाल योञ्जन)
- आजै र राति के देखेँ सपना... (रचना : माधवप्रसाद घिमिरे, संगीत : नातिकाजी)
- म त लालीगुराँस भएछु.... (रचना : क्षेत्रप्रताप अधिकारी, संगीत : दिव्य खालिङ)
- एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा... (रचना : चाँदनी शाह, संगीत : दीपक जंगम)
- लुकूँ–लुकूँ लाग्यो मलाई... (रचना : किरण खरेल, संगीत : नातिकाजी गोपाल योञ्जन)
- मैले पुण्य मन पराएँ या पाप मनपराएँ... (रचना : राममान तृषित, संगीत : गोपाल योञ्जन)
- तिमीले भनेका सारा देव छोएर... (रचना : विश्वम्भर प्याकुरेल, संगीत : शुभ–शम्भुजित)
- पर्खी बसेँ आउला भनी... (रचना : नीर शाह, संगीत : शम्भुजित)
अन्तमा, यही भनुँ– स्वरसम्राट् नारायणगोपालको आवाज राष्ट्रको सम्पत्ति मात्रै होइन, मानव समुदायकै अलौकिक प्राप्ति हो; उनको स्वरको गुञ्जनले हामीले आफूलाई लाभान्वित गरिरहेका छौं। यस अर्थमा, औपचारिकतावश मात्रै उनको सम्झना गर्नु हाम्रो कृतघ्नता ठहरिनेछ।