तरकारी खेतीबाट आत्मनिर्भर
सिरहा : घरको गर्जो टार्न साहू महाजनसँग ऋण वा सापटी खोज्ने सिरहाको लहान नगरपालिका २४ झुटकीका किसानको जीवन फेरिएको छ। उनीहरू तरकारी उत्पादन गर्न थालेपछि आफै ऋण र सापटी दिने अवस्थामा पुगेका छन्। केही वर्षभित्रै तरकारी बेचेर अधिकांश घरपरिवारले जग्गा, घर जोडेका छन्। तरकारी व्यावसायीबाट छोराछोरीको पढाइ र गुजारा चलाउँदै आएका छन्।
विगत १५ वर्षदेखि तरकारीखेती गर्दै आएका लक्ष्मी यादवले अहिले पनि धेरैजसो समय खेतमै बिताउने गरेका छन्। उनी ६५ वर्षका पुगेका छन्। उनका दुई छोरा अशेश्वर यादव र कुशेश्वर यादवले पनि पढाइ छाडेर तरकारीखेतीलाई मुख्य पेशा बनाए। अहिले उनको खेतमा मुख्य तरकारी काउली, मिरचाई छ। परबल लगाउने कार्य जारी राखेको छ। यो सिजनमा १० कठ्ठामा लगाएको काउलीखेतीबाट उनले डेढ लाख मात्रै बिक्री गरेको सुनाए।
‘सुरुमा थोरै जमिन थियो, अरु बाली उब्जाउँदा गुजारा चलाउन मुस्किल पथ्र्यो’, लक्ष्मीले भने,‘तरकारी उब्जाउन थालेपछि आम्दानी बढ्यो। गुजारा पनि राम्रोसँग चल्न थाल्यो।’ १५ वर्षमा तरकारी उत्पादन गरेर दुई बिघा जग्गा र पक्की घर बनाएको उनले बताए। आफ्नो छोराछोरीलाई आर्थिक अवस्था कमजोर भएकाले पढाउन नसक्दा पनि तरकारीको आम्दानीले आफ्ना नातीनातिनीलाई पढाउने उनले सुनाए। उनले सिजनअनुसार मिरचाई, आलु, बोरा, परबल, काउली र भन्टा उब्जाउने गरेका छन्।
काउली बोकेर घर फर्किदै किसानहरु।
उनी जस्तै, किसान शिवदत रायले पनि यो सिजनमा एक बिघामा काउली लगाएका थिए। उनले पनि राम्रै आम्दानी तरकारीखेती बर्सेनि गरिरहेका छन्। ‘यो गाउँमा जति तरकारी उत्पादन भइरहेको छ, त्यसको अनुपात बजार नै भएन,’ उनले भने, ‘किसानलाई उत्पादनमा मूल्य बढी पर्छ, तर बजार व्यवस्थापन नभएर कहिलेकाँही थोरै आम्दानीमा चित बुझाउनु पर्छ।’
किसान लगाएको तरकारीखेतीमा सरकारको लगानी शून्य देखिएको उनले सुनाए। ‘सिँचाइ र बिउविजनमा सरकारले सहुलियत गरिदिए यहाँका किसान अझ तरकारीखेतीमा थप आकर्षित हुने थिए’, उनले भने। असोज, कातिक र मंसिरमा यहाँका किसान काउलीबाट लाखौं आम्दानी गर्छन्। ‘यो वर्ष त हामी सबै जना मिलेर ३० बिघा जग्गामा काउली लगाएका थियाैं,’ उनले भने,‘ ८० लाख रुपैयाँको बिक्री भए होला।’
डेढ घरपरिवारको यो गाउँमा सय घरधुरीले व्यावसायिक तरकारीखेती गर्दै आएको छ। चारैतिर खहरे खोलाले घेरिएको गाउँमा सिँचाइ र खानेपानीको समस्याका यहाँका वासिन्दाले भोग्दै आएका छन्। पहिले उनीहरू मकै,कोदो उब्जाउँथ्यो त्यसपछि धान, गहुँ बाली उब्जाउन सोचे सिँचाइ अभावले त्यो पनि सम्भव नहुँदा तरकारीखेती गर्न थालेका छन्। ‘तरकारी उत्पादन गर्नलाई थोरै सिँचाइ भए पुग्छ’, स्थानीय वीरेन्द्र यादवले भने, ‘गाउँमा भएको एउटा डिप टुवेल पनि बिग्रेको अवस्थामा छ, इनारमै पानी तान्ने मोटर लगाएर तरकारीखेतीमा सिँचाइ गर्दै आएका छौं।’