झापा आगलागी प्रकरण : आगो लगाइदिएको आशंका

झापा आगलागी प्रकरण :  आगो लगाइदिएको आशंका

झिलझिले : झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडामा आगलागी हुँदा परिवारै सखाप भएको घटना नियोजित भएको आशंका स्थानीयले गरेका छन्। घरमा आगो लाग्दा ३४ वर्षीय लक्ष्मण खनाल, उनकी श्रीमती २८ वर्षीया राधिका, छोरी ४ वर्षीया चन्द्रा र छोरा पाँच महिनाका टीकारामको घटनास्थलमै मृत्यु भएको थियो।  

गत आइतबार राति सवा १० बजे घटना भएको थियो।  माथिल्लो तलामा सुतेका उनीहरू कोही पनि भाग्न नसक्ने गरी आगलागी हुँदा स्थानीय अचम्मित भएका छन्।  घटनास्थल अवलोकन गर्ने नेताले पनि उक्त घटना नियोजित भएको बताएका छन्।

सबैले ‘आगो अचम्मले लागेको’ र ‘वरिपरि ढाँक्ने गरी कसरी लाग्यो ? ’ भन्ने प्रश्न गरेको स्थानीय केशव आचार्यले सुनाए।  ‘एकातर्फ आगो लागे अर्कोतिर भत्काएर भाग्न सकिन्थ्यो’, उनले भने, ‘तर, यहाँ त्यस्तो भएन।’ अर्का स्थानीय मुक्ति दाहालले चारैतिर एकसाथ आगो लागेकाले कसैलाई बचाउन नसकिएको सुनाए।  ‘विद्युत् सर्ट भएर आगलागी भएको भनौं गाउँमा कतै विद्युत् काटिएको वा झड्का दिएको थिएन’, उनले भने, ‘कसैले आगो पो लायो कि छानबिन हुनुपर्छ।’

झापाका प्रहरी प्रमुख एसपी भीमप्रसाद ढकालसमक्ष स्थानीयले घटना नियोजित हुन सक्ने भन्दै अनुसन्धान गर्न माग गरेका थिए।  विभिन्न कोणबाट आगलागी घटनाको अनुसन्धान गरिरहेको एसपी ढकालले बताए।  ‘छिमेकी र आफन्तसँग घटनाबारे बुझ्दै छौं’, उनले भने, ‘अनुसन्धान निरन्तर भइरहेको छ।’

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उक्त घटना नियोजित भएको दाबी गरे।  उनले बुधबार घटनास्थल अवलोकन गरी स्थानीयसँग कुराकानी गरेका थिए।  ‘घटनाको प्रकृति हेर्दा नियोजित ढंगले घरमा आगो लगाएर दुई अबोध बालबालिकासहित दम्पतीको हत्या गरेको देखिन्छ’, उनले भने।  बिजुली सर्ट भई यस्तो घटना हुन नसक्ने उनले बताए।  ‘घटनाको सूक्ष्म अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्छ’, उनले भने।  नजिकै बाँसघारीमा आगोको लप्का नपुग्नु, छिमेकमा बिजुली ठप्प नहुनु, घरमा एकै पटक चारैतिर आगो लाग्नु शंकास्पद भएको उनको भनाइ छ।

राप्रपा महामन्त्री एवं सांसद राजेन्द्र लिङ्देनले पनि घटना नियोजित नै देखिएको सुनाए।  उनले शुक्रबार आगलागी भएको स्थानको अवलोकन गरेका थिए।  घटनालाई गम्भीर रूपमा लिएर प्रहरीले अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ।

लक्ष्मणका बुवा रामकृष्णले पनि आगलागी दुर्घटना नभई जानीबुझी गराइएको दाबी गरे।  ‘बाँच्नलाई गुहार माग्दा पनि बाँच्न नपाउने गरी मेरो एउटा वंश सखाप बनाइयो’, उनले भने, ‘के अपराध गर्यो मेरो छोराले सरकार ? मेरा छोराबुहारी र ती अबोध नातिनातिनाले के बिराए ? ६५ वर्षको उमेरमा मैले कसरी चित्त बुझाउने ? मेरो ठाउँमा आएर उभिदेऊ सरकार।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.