जुम्लीको पहिरन ‘लनक’
जुम्ला : हातबाट बुनेर शिरमा ओढिने ‘लनक’ जुम्लाका महिलाको पहिचान नै बनेको छ। बजारमा सस्तादेखि महँगासम्म आकर्षक पहिरन नपाएर होइन, जुम्ली महिला कुनै पनि काम गर्दा होस् लनक अनिवार्य जस्तै लगाउँछन्। आधुनिक पहिरन उपलब्ध हुनुअघि लगाइने गरेको स्थानीय पोसाक अझै प्रयोग गर्न नछाड्नुले जुम्लाका महिलाको पहिचान नै यसले स्थापना गरेको स्थानीय नागरिक अगुवा बुम्क्याप लामाले बताए। बहुउपयोगी भएकाले महिलाले लनक नै ओढेर हिँड्ने गरेको उनको अनुभव छ।
जुम्ला पुग्ने जो कोहीले पनि रातो र सेतो बुट्टा भएको, किनारमा निलो रङको बर्कीजस्तो कपडा सबै महिलाको शिरमा देख्न सकिन्छ। झट्ट हेर्दा कुनै आमा समूहले एकरूपता देखाउन पोसाक मिलाएको जस्तो देखिन्छ तर जुम्लाका महिलाको पहिचान नै लनक भएको छ। जुम्ला मात्र नभएर मुगु, जुम्ला, डोल्पा क्षेत्रका महिलाले यो कपडा प्रयोग गर्ने गरेका छन्।
जुम्लाका युवतीदेखि वृद्धासम्म चुलोचौका गर्दा होस् या सामाजिक कार्यक्रम सबै महिलाको शिरमा ‘लनक’ सजिएको हुन्छ।
लनक विशेष गरी तिब्बती भूभागमा उत्पादन गरिने पहिरन भएको मुगुका खेन्पो सेनाङ ग्याम्जोले बताए। महिलाले यो कपडा सामान पोको पार्न र बोक्न, न्यानो हुने भएकाले पूरै शरीर ढाकेरर ओढ्न मिल्ने भएकाले प्रयोग गर्ने उनले बताए। भोटे समाजका मुगुम जातिअन्तर्गतका लामा, तामाङ र कर्मरोङ महिलाले यो पहिरन बढी प्रयोग गर्छन्।
छयुवा, बख्खु भोटे समुदायका महिलाको प्रमुख पोसाक हुन् तर यहाँका महिलाले बख्खुमाथि पनि लनक ओढ्छन्। वैवाहिक कार्यक्रमदेखि गाउँमा हुने अन्य कार्यक्रम र उत्सवमा प्रयोग गर्ने पहिरनलाई मुगु, जुम्ला, डोल्पामा संरक्षण गर्नु जरुरी भएको खेन्पो ग्याम्जोको माग छ।