बिरामीलाई रगत चाहिँदा भाग्छन् आफन्त, गुल्मपतिले बचाए महिलाको ज्यान
दार्चुला : दार्चुलाको महाकाली नगरपालिका २ काट्टैका नमती फराल (३०) लाई अत्याधिक रक्तश्राव भएपछि उपचारका लागि बेहोस अवस्थामा जिल्ला अस्पताल दार्चुलामा पुर्याइयो। औषधी सेवनका कारण अत्याधिक रक्तश्राव भएपछि सोमबार बिहान १ बजे अस्पताल पुर्याइएकी फराललाइ तत्काल फ्रेस रगत आवश्यक पर्यो। तर आफन्त र अस्पताल नजिकका स्थानीयवासी कोही पनि रगत दिन तयार भएनन्।
केही घण्टाभित्र रगत नदिए ज्यान खतरामा रहेकी फराललाई रगतदान गर्न नेपाली सेनाको दुर्गादल गुल्ममा खबर भयो। गुल्मका गुल्मपति (सेनानी) गणेश रावलले अस्पताल पुगेर एक पिन्ट एबी पोजेटिभ (AB+) समूहको रगत दान गरे र, महिला होसमा आइन्।
रक्तश्राव अझै रोकिएको छैन। उनलाई थप रगत आवश्यक परेको छ तर आफन्त र स्थानीयवासी कोही पनि रक्तदाता भेटिएका छैनन्। रगत दिएर थप उपचारको लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा पठाउने तयारी भइरहेको छ। तर रगत नभेट्टिएमा ज्यानकै जोखिम रहेको जिल्ला अस्पताल दार्चुलाका डा. दीपेशमंगल जोशीले बताए। स्थानीयवासीमा रगत दान गर्नुपर्छ भन्ने भावनाको विकास नहुँदा रगत अभावमा सधैँ समस्या पर्ने गरेको उनी बताउँछन्।
दुई वर्षअघि स्थापना गरिएको रक्तसञ्चार केन्द्रमा रगत दिने रक्तदाताको जहिल्यै अभाव हुने गरेको छ। रगतदान गर्नुपर्छ भन्ने सोचाई स्थानीयवासीमा नहुँदा विरामीलाई रगत आवश्यक पर्दा समस्या हुने गरेको ल्याब असिस्टेन्ट दीपक बिष्टले जानकारी दिए।
रक्तसञ्चार केन्द्रमा १२० पोका रगत जम्मा गर्ने क्षमताको मेसिन रहे पनि राख्ने ठाउँ व्यावस्थित नहुँदा रगत खेर जाने गरेको छ। पछिल्लो समय रक्तदाताहरूको सम्पर्कसहित सूचि तयार गरेर आवश्यक समयमा माग गर्ने गरिएको छ। तर समयमै रगत पाउन समस्या हुने गरेको बिष्टले बताए। आफन्तहरू रगत दान गर्नुसट्टा भाग्ने गरेकोले समस्या हुने गरेको चिकित्सकको गुनासो छ।