रौतहटमा सुविधासम्पन्न महिला फुटबल एकेडेमी

रौतहटमा सुविधासम्पन्न महिला फुटबल एकेडेमी

चन्द्रपुर : महिला फुटबलको विकासका लागि रौतहटमा सुविधासम्पन्न एकेडेमी निर्माण हुने भएको छ। अखिल नेपाल फुटबल संघले रौतहटको चन्द्रपुर नगरपालिका—६ स्थित मैदानमा सुविधा सम्पन्न महिला फुटबल एकेडेमी निर्माण गर्न लागेको हो। चन्द्रनिगाहपुरमा रहेको हातेमालो सामुदायिक वनको जग्गामा एकेडेमी निर्माण गर्न लागिएको हो। उक्त स्थानमा स्व. शेरबहादुर दर्लामी स्मृति खेलमैदान रहेको छ।

स्व. शेरबहादुर दर्लामी महिला फुटबल खेलाडीका प्रशिक्षक थिए। स्व. दर्लामीको योगदानकै कारण रौतहटमा महिला फुटबलको विकास भएको हो। अहिले रौतहटबाट तयार भएका महिला फुटबल खेलाडीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। रौतहटबाट तयार भएका महिला खेलाडी विभिन्न विभागीय टोलीमा पनि आबद्ध छन्।

विश्व फुटबल महासंघ (फिफा) को स्वीकृतिमा रौतहटमा सुविधासम्पन्न होस्टेल र स्तरीय खेलमैदानसहितको एकेडेमी भवन बनाउन लागिएको जानकारी एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले दिए। एकेडेमी निर्माणका लागि एन्फाले करिब चार करोड रुपैयाँ विनियोजन गरेको जानकारी रौतहट जिल्ला फुटबल संघका महासचिव मधुसूदन धितालले दिए।

एकेडेमीमा प्रशिक्षार्थीका लागि आवास भवन, दुईवटा प्रशिक्षण मैदान र एउटा खेलमैदान निर्माण हुने तथा १२ फिट अग्लो तारजाली लगाइनेछ। करिब पाँच बिघा क्षेत्रफलमा बन्न लागेको एकेडेमीका लागि चन्द्रपुर नगरपालिका र हातेमालो सामुदायिक वन समितिसँग एन्फाले सम्झौता गरेको छ। निर्माणका लागि नक्सापास र निर्माण कम्पनीको छनोटसमेत भइसकेको छ। मंसिरको दोस्रो साताबाट काम सुरु हुने रौतहट जिल्ला फुटबल संघले जनाएको छ।

एकेडेमी निर्माणकार्य एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ। एकेडेमी सञ्चालनमा आएपछि महिला फुटबलको स्तर बढ्ने र खेलाडीको शिक्षामा समेत सहयोग पुग्ने विश्वास रौतहट जिल्ला फुटवल संघका अध्यक्ष भगवान दर्लामीले व्यक्त गरे। देशभरबाट छनोट गरी १२ वर्षमुनिका ४४ जना खेलाडी एकेडेमीमा राखिनेछ। प्रशिक्षार्थी खेलाडीको अध्ययनका लागि चन्द्रनिगाहपुरमा रहेको निजी तथा सरकारी विद्यालयहरूसँग सम्झौता गरिने बताइएको छ।

विगत १५ वर्षदेखि रौतहटको चन्द्रनिगाहपुरमा महिला फुटबल खेलाडीलाई स्वयम्सेवक रूपमा प्रशिक्षण दिइँदै आएको छ। अहिले ७० जना १२ वर्ष उमेर कटेका किशोरीले नियमित रूपमा प्रशिक्षण लिइरहेका छन्। शेरबहादुर दर्लामीको निधनपछि प्रशिक्षकहरू नूरराज काफ्ले र चित्रकुमार दर्लामीले किशोरीहरूलाई नियमित रूपमा प्रशिक्षण दिइरहेका छन्।

रौतहट जिल्लाबाट साफ च्याम्पियनका विभिन्न उमेरसमूहमा १० जनाभन्दा बढी किशोरी सहभागी भएका थिए। रौतहट जिल्लाबाट सशस्त्र प्रहरी, नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबको महिला फुटबल टोलीमा पनि ३७ जना खेलाडी प्रवेश गरिसकेका छन्। फुटबल खेलको विकासका लागि प्लान इन्टरनेसनल, नगरपालिका, विभिन्न संघसंस्था र स्थानीय खेलप्रेमीले सहयोग गर्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.