निशुल्क आँखा शिविरमा ७५० जना लाभान्वित
भोजपुर : भोजपुर नगरपालिका बोखिमकी ८५ वर्षीया मनमाया राई निःशुल्क आँखा उपचार हुन्छ भनेर पुरानो डबली (टक्सार) आइन्। रेडियोमा निःशुल्क आँखा शिविर सञ्चालन हुने सूचना सुनैकै भरमा शिविरमा भर्ना भएकी मनमायाले मोतियाविन्दुको सफल उपचारपछि खुशी भनिन्,' आँखाको अपरेसन सित्तैमा पाइयो।अब अरुले झैँ राम्ररी देख्न र हेर्न पाउने भएँ ।'आँखाको ज्योति पुनः पाएपछि खुसी हुँदै उनी आफ्ना नातिको हात समाई घर फर्किइन्।
नेपाल नेत्रज्योती संघ र आँखा तथा कान उपचार केन्द्र भोजपुरको संयुक्त रुपमा आयोजना गरेको निःशुल्क आँखा शिविरले आँखाका बिरामीलाई निःशुल्क उपचार सेवा दिएको छ। तीनदिने निःशुल्क आँखा शिविरबाट जिल्लाभित्र र बाहिरका सात सय ५० जना आँखाका बिरामीले उपचार पाएका छन्। जसमा ९७ जना आँखाका बिरामीलाई निःशुल्क शल्यक्रियाको पनि सहुलियत प्रदान गरेको थियो।
आँखाको उपचारका लागि मंहगो खर्चेर ठूला सहर धाउनुपर्ने बाध्यता हटेको सुनाउँदै छिमेकी जिल्ला खोटाङ दिक्तेल लामाखुका ५९ वर्षीय जितबहादुरले भने, 'अरुबेला उस्तै उपचार गर्नुपरे धरान, विराटनगर, काठमाडौँ जानुपथ्र्यो। तर शिविरमा आँखाको उपचार सित्तैमा पाइयो, खर्च पनि जोगिएयो।'
स्वास्थ्य उपचारका शिविर गाउँगाउँमा सञ्चालन गरिए ग्रामीण भेगका सर्वसाधरणलाई ठूलो राहत पुग्ने हेलौँछाका प्रमलमु शेर्पाले बताए।उनले यस्ता निःशुल्क स्वास्थ्य शिविर बेलाबेला ल्याए गरिब गाउँलेको उपचारमा सहयोग पुग्ने बताए।
जिल्लामा निःशुल्क स्वास्थ्य शिविरबाट यति धेरै बिरामीको संख्यामा उपचार तथा शल्यक्रिया भएको यो पहिलोपटक हो। आगामी दिनमा पनि यस्तै खाले स्वास्थ्य शिविर आयोजना गरिने आँखा चिकित्सक विजय तामाङले बताए। आँखा शरीरको महत्वपूर्ण अंग भएकोले यसको नियमित चेकजाँच र उपचार आवश्यक रहेको उनको भनाई छ।
बिहीबारबाट सुरु भएको तीन दिने शिविरमा मोतीबिन्दु, मासु पलाएकोलगायत रोगको निःशुल्क शल्यक्रियालगायत आँखासम्बन्धि सम्पूर्ण उपचारहरु निःशुल्क प्रदान गरिएको थियो।