भारत छिरेका बाघ र हात्ती नेपाल फर्काउन जैविक मार्ग बनाइँदै

भारत छिरेका बाघ र हात्ती नेपाल फर्काउन जैविक मार्ग बनाइँदै

वीरगन्ज : नेपालबाट भारतको जंगलमा छिरेका वन्यजन्तु फर्किने क्रम घट्दै गएपछि भारत छिरेका वन्यजन्तुलाई फर्काउन पर्साको ठोरी गाउँपालिका- ४ मा रहेको स्याउलीवासमा जैविक मार्ग (वन्यजन्तु आउजाउ गर्ने जंगल) को पूर्वाधार निर्माण हुन थालेको छ।

स्यायलवासी क्षेत्र, पर्सा राष्ट्रिय निकुन्ज , चितवन राष्ट्रिय निकुन्ज र भारतको बाल्मिकी टाइगर रिजर्भ (बाघ संरक्षण केन्द्र) को संगम स्थल हो। शीकारीवास पुल छेउको स्याली वस्ती क्षेत्र , नेपाल र भारतको जंगलका बाघ र हात्ती एक अर्काको जंगलमा सदियौदेखि ओहोरदोहोर गर्ने परम्परागत जैविक मार्ग पनि हो।

सन् २०१० को गुगल म्याप अनुसार , स्याउली वस्ती क्षेत्रको चार सय हेक्टर क्षेत्रफलमा त्यस बेलासम्म घना जंगल थियो । घना जंगल हुदा नेपाल र भारतका बाघ र हात्तीहरु त्यहि जंगल भएर दुवै देशमा सहज रुपमा ओहोर दोहोर गर्थे। 

 तर निकुन्जको क्षेत्रमा पर्ने स्यालीवस्तीको चार सय हेक्टर जंगल , सन् २०१० पछि स्थानीयले फडानी गरि खेतीपाति गर्न थालेपछि केही वर्ष यता बाघ र हात्तीको आवागमन रोकिन पुगेको छ।

कहिलेकाहीँ खोलाको बाटो हुँदै पर्सा र चितवन राष्ट्रिय निकुन्जबाट भुलवस भारतको बाल्मिकी टाइगर रिजर्भको जंगलमा छिरेका बाघ र हात्ती , जैवीक मार्ग मासिएका कारण फर्कन असहज हुँदा भारतकै जंगलमा बसिदिने गरेका छन्। 

निकुन्जका वन्यजन्तु विज्ञहरुका अनुसार , कहिलेकाहीँ अन्य बाटो प्रयोग गरेर भारतको बाल्मिकी टाइगर रिजर्भको जंगलमा पुगेका खासगरी बाघ र हात्ती , जैवीक मार्ग फर्केर नआउने गरेका छन् । 
 
यसरी भारतको जंगलमा छिरेका नेपालका बाघ र हात्तीलाई नेपालको जंगलमा फर्काउने उद्देश्यले अतिक्रमीत स्याउलीवासको चार सयमध्ये एक सय हेक्टर क्षेत्रमा रुख बिरुवा रोपेर जैविक मार्ग बनाउन थालिएको हो। 

विश्व वन्यजन्तु कोष (डब्लु डब्लु एफ ) ले तराइ भुपरिधि कार्याक्रम (ताल) मार्फत अतिक्रमीतमध्ये एक सय हेक्टर क्षेत्रको अतिक्रमण हटाएर त्यहाँ तारबार गरेर विभिन्न प्रजातिका २० हजार बोट बिरुवा रोपेको छ। यसका लागि उसले ३० लाख रुपैयाँ खर्च गरेको छ। 

२०७३ सालमा निकुन्ज प्रशासन , नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा एक सय हेक्टर क्षेत्रको अतिक्रमण हटाएर त्यहा तारबार गरेर शीशौ , साल लगायत विभिन्न प्रजातिका २० हजार बोट विरुवा रोपेका हौं, तालका सामुदायिक संरक्षण सहजकर्ता वेदहरी दाहालले भने, 'अतिक्रमण हटाउने बेला स्थानीयले निक्कै विवाद गरे, हामीले धेरै प्रयास गरेपछि मात्र उनिहरु अतिक्रमण हटाउन राजी भए, यो अतिक्रमण मात्रै हटाउन हामीलाई चार महिनाको लाग्यो।'


२०७३ सालमा अतिक्रमण हटाएर रोपिएका बोट बिरुवा अहिले सप्रिसकेका छन्।त्यहाँ अहिले झाडीहरु पनि बढिसकेको छ भने घाँसे मैदान पनि तयार भइसकेको छ। रुख र झाडीहरु बढेको छ , घासे मैदान पनि बनेको छ, त्यसैले अहिले त्यहाँ स- साना अन्य जंगली जनावर बास बस्न पनि थालिसकेका छन् , दाहालले भने, 'अबको चार वा पाच वर्ष पछि रुखहरु अझ हुर्किएपछि घना जंगल नै हुन्छ त्यसपछि फेरि पहिलेका जस्तै बाघ र हात्ती सहज ढंगले यो जैविक मार्ग प्रयोग गरेर नेपाल र भारतको जंगलमा आउजाउ गर्न थाल्छन्। 

जैविक मार्ग क्षेत्रमा जंगल घना भएपछि घुम्दै फिर्दै भारत छिर्ने बाघ र हात्ती भारतको जंगलमा नबसी नेपालकै जंगलमा सहज रुपमा फर्किने क्रम पनि सुरु हुने पर्सा राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत अमीर महर्जनले पनि बताए।
 
अहिले जैवीक मार्ग बनाउन थालिएको स्याली क्षेत्र खासगरी बाघ र हात्तीको बढीजसो आउजाउ हुने महत्वपूर्ण कोरिडोर हो , उनले भने, 'अहिले एक सय हेक्टरको अतिक्रमण मात्र हटाइएको छ, बाघ र हात्तीको आउजाउका लागि यो प्रयाप्त छैन, त्यसैले बाँकी अतिक्रमीत तीन सय हेक्टरको अतिक्रमण कसरी हटाउने भन्ने विषयमा हामी तयारी गरिरहेका छौं। 

सन् २०१८ मा पर्सा राष्ट्रिय निकुन्जले गरेको गणना अनुसार, पर्सा राष्ट्रिय निकुन्जमा अहिले बाघको संख्या १८ छ । यस्तै सन् २०१८ कै गणना अनुसार , चितवन राष्ट्रिय निकुन्जमा अहिले बाघको संख्या ९३ वटा छ। यसअघि सन् २०१३ को गणना अनुसार , पर्सा राष्ट्रिय निकुन्जमा बाघको संख्या ७ र चितवन राष्ट्रिय निकुन्जमा एक सय २० वटा थियो । छेउकै भारतको बाल्मिकी टाइगर रिजर्भको जंगलमा भने बाघको संख्या बढेर २७ पुगेको सन् २०१८ को गणनाले देखाएको पर्सा राष्ट्रिय निकुन्जबा सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए। 

 यस्तै अहिले चितवन र पर्सा राष्ट्रिय निकुन्जमा गरि ६५को संख्यामा हात्ती रहेको अनुमान गरिएको रामले जानकारी दिए। अहिलेसम्म हात्तीको संख्याका बारेमा प्राविधिकरुपमा गणना गरिएको छैन, उनले भने, 'त्यसैले ठयाक्कै कति छ भन्न गाह्रो छ तर हाम्रो अनुमानमा दुवै निकुन्जमा गरी करिब ६५को संख्यामा हात्ती छन्। 

फ्लाइओभर वा अन्डरपास पनि आवश्यक

यसैबीच स्यालीवासको जैविक मार्गसँगै जोडिएको निर्माणाधिन हुलाकी सडकको शीकारीवास खोलाको पुल छेउको सडकमा वन्यजन्तुलाई सहजरुपमा सडक आरपार गर्न फ्लाइओभर वा अन्डरपास बनाउनुपर्ने आवश्यकता रहेको वन्यजन्तु विज्ञहरुले सुझाव दिएका छन्। 

वन्यजन्तु विज्ञहरुका अनुसार, अहिले निर्माणाधीन वीरगन्ज ठोरी हुलाकी सडकले शीकारीवास पुल छेउमा रहेको वन्यजन्तुको परम्परागत जैविक मार्ग अवरुद्ध पार्ने भएकाले, पुलको दक्षिणपूर्व छेउमै अन्डरपास वा फ्लाइओभर निर्माण गर्नुपर्ने आवश्यकता देखिएको हो। 

स्याउलीवासको शीकारीवास खोला पनि सदियौं देखि बाघ र हात्ती ओहोर दोहोर गर्ने परम्परागत जैविक मार्ग रहेको भन्दै पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक कुमार रामले भने, 'अहिले बन्दै गरेको हुलाकी सडक अन्तर्गत छेउमा सडकको उचाइ अग्लो बनाइन्छ , सडक अग्लो भयो भने खासगरी हात्ती र बाघ आउजाउ गर्न सक्दैनन्।'

स्याउलीवस्ती र त्यहाँको शिकारीबास खोला हात्ती र  बाघ नेपाल भारतको निकुञ्जमा आवागमन गर्ने अत्यन्त संवेदनशील जैविक मार्ग भएको भन्दै उनले भने ,‘ एक त पुल छेउमा हुलाकी सडक झन अग्लो बन्दैछ , खोलामा दुई वर्ष अगाडि बनाइएको शिकारीवास खोलाको पुलको उचाइ (१८फिट) पनि कम छ, जसका कारण पुल मुनिबाट हात्ती छिर्न सक्दैन।

अवरुद्ध भएको जैविक मार्ग सुचारु बनाउन पुल छेउको सडक मुनि अन्डरपास वा सडक माथि २६ फिट उचाइको फ्लाइओभर निर्माण गर्नुपर्ने आवश्यकता रहेको रामले बताए। यो पुल १८ फिट मात्र अग्लो रहेको भन्दै रामले भने, 'शीकारीवास पुल बनेदेखि हालसम्म पुलमुनिबाट एउटा हात्तीले आउजाउ गरेको भेटिएको छैन। सडक मुनि अन्डरपास बनाउँदा त्यसको उचाइ पनि न्युनतम २६ फिट नै हुनुपर्ने र सडकमाथि ओभरफलाई बनाउँदा पनि त्यसको उचाइ न्युनतम २६ फिट नै बनाउनुपर्ने उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.