महोत्सवमा पर्यटकीय प्याकेज
गुलरिया : प्रदेश ५ को आर्थिक, सामाजिक, कृषि, कला संस्कृति, औद्योगिक विकासलगायत प्रवर्द्धन गर्ने उद्देश्यले मंसिर तेस्रो सातादेखि बर्दियाको गुलरियामा सुरु हुने प्रादेशिक व्यापार महोत्सवमा बर्दियाका पर्यटकीय गन्तव्य अवलोकनका लागि प्याकेज राखिएको छ। उद्योग वाणिज्य संघ बर्दिया गुलरियाको मुख्य आयोजना रहेको महोत्सवमा बर्दियाका होमस्टे तथा पर्यटकीय क्षेत्र अवलोकनसहित हात्ती तथा जंगल सफारीको प्याकेज राखिएको हो।
समृद्ध प्रदेशको प्रमुख आधार कृषि, पर्यटन, उद्योग, संस्कृति र पूर्वाधार भन्ने मूल आशयसहित आयोजना गरिएको महोत्सवमा प्रदेशअन्तर्गतका लुम्बिनी, पाल्पा, प्युठान, रोल्पा, रुकुमलगायत जिल्लामा अवस्थित पर्यटकीय गन्तव्यको प्रचारप्रसारका साथै स्थानीय उत्पादन, भेषभुषा र कला संस्कृति जगेर्ना गर्न प्रदेशस्तरीय व्यापार महोत्सव आयोजना गरिएको उद्योग वाणिज्य संघ बर्दिया, गुलरियाका अध्यक्ष वीरबहादुर चौधरीले बताए।
महोत्सवमा ८१ लाखको कारोबार हुने अनुमान गरिएको छ। टिकट बिक्रीबाट ३७ लाख रुपैयाँ आम्दानी हुने अनुमान आयोजकको छ। महोत्सवमा सूचना प्रविधि, अटो, कृषि प्रदर्शनीलगायत दुई सय विभिन्न स्टल रहनेछन्। मेला अवधिभर एक लाख ५० हजारले मेला अवलोकन गर्ने अनुमान गरिएको छ। उनले भने, ‘सूचना प्रविधि, हस्तकला, कृषिजन्य वस्तुको प्रदर्शनी, बालउद्यान, स्थानीय तथा ख्यातिप्राप्त कलाकारको प्रस्तुती, जातीय परिकार, बर्दियाका महŒवपूर्ण पर्यटकीयस्थलको अवलोकन भ्रमण महोत्सवका प्रमुख आर्कषण हुन्।’
नेपालको ऐतिहासिक चिनारीको रूपमा रहेको धरहराको सम्झनास्वरूप ५० जनासम्म चढेर अवलोकन गर्न मिल्ने गुणस्तरीय धरहरा महोत्सवको विशेष आर्कषण रहनेछ। उनले थपे, ‘प्रदेशको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउँदै आन्तरिक बजार सबलीकरण गर्न व्यवसायिक प्रवद्र्धन तथा निकासी योग्य वस्तुमा जोड पु¥याउनु महोत्सवको प्रमुख लक्ष्य हो।’
नेपाल उद्योग वाणिज्य महासंघ, साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल पर्यटन बोर्डलगायत बर्दियाका आठवटै स्थानीय तहले महोत्सवमा सहयोग पु¥याउने चौधरीले बताए। मंसिर २७ देखि सुरु हुने प्रादेशिक, कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव पुस ८ गतेसम्म चल्नेछ। महोत्सवबाट बचेको आम्दानी वाणिज्य संघको सौगात गृह निर्माण र दृष्टिबिहीनको सहयोगार्थ खर्च गरिने अध्यक्ष चौधरीले बताए।