प्रदेश तीनको राजधानी मतदानबाट टुंगो लगाइने..
हेटौंडा : प्रदेश ३ को स्थायी राजधानी मतदान प्रक्रियाबाट टुंगो लगाउन राजनीतिक दलबीच सहमति भएको छ।
सभामुख सानुकुमार श्रेष्ठले सोमबार प्रदेशसभा सचिवालयमा आयोजना गरेको सर्वदलीय बैठकमा राजधानीका विषयमा सहमति जुट्न नसकेपछि आवश्यक प्रक्रियामा लैजाने सहमति भएको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले बताए।
‘स्थायी राजधानी टुंगो लगाउन प्रक्रियामा जाने प्रदेशसभा प्रतिनिधित्व गर्ने दलबीच सहमति भएको छ’, उनले भने, ‘प्रक्रिया कस्तो अपनाउने भन्नेबारे अन्य प्रदेशको अनुभव र संघीय संसद्का पूर्वसभामुख तथा विज्ञसँग छलफल गरेर टुंगो लगाउने सहमति भएको छ।’
स्थायी राजधानी सम्भाव्यता अध्ययन समितिले हेटौंडासहित, चितवन, काभ्रे, भक्तपुर र नुवाकोटलाई स्थायी राजधानीका लागि उपयुक्त हुने सुझाव सहितको प्रतिवेदन प्रदेशसभामा पेश गरेको थियो।
सहमति नभएपछि नियमअनुसार पाँचवटै ठाउँका लागि निर्वाचन हुने जमकट्टेलले बताए। ‘निर्वाचनको प्रक्रिया मतदान पनि हुनसक्छ वा हात उठाएर पनि हुनसक्छ’, उनले भने।
स्थायी राजधानी तोक्न प्रदेशसभाका दुई तिहाई सदस्यले कुनै एक स्थानका लागि मतदान गर्नुपर्ने संवैधानिक प्रावधान छ। सभामा एक सय नौ सदस्य छन्। तीमध्ये ८० जना सत्तारुढ दल नेकपाका छन्।
स्थायी राजधानी सम्भाव्यता अध्ययन समितिका सभापति दिपक निरौलाले पुस आठ गते प्रदेशसभा बैठक बसेर प्रक्रियामा रहेका विधेयक पारित गर्ने र त्यसपछिको बैठकले राजधानी टुंगो लगाउने सहमति भएको बताए। ‘यस बीचमा कुनै राजनीतिक उथलपुथल नभए पुस आठ गते बैठक बस्छ, टुंगो नलगाई बैठक स्थागित हुँदैन’, उनले भने।
सर्वदलीय बैठकमा सहभागी प्रदेशसभा प्रतिनिधित्व गर्ने साझा विवेकशील पार्टीबाहेक अन्य पार्टीका नेताले हेटौंडाको लागि सहमति जनाएको अध्ययन समितिका सभापति निरौलाले बताए।
बैठकमा सहभागी नेकपा प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेल, प्रमुख प्रतिपक्ष दल कांग्रेसका नेता इन्द्र बानियाँ, राष्ट्रिय प्रजातन्त्र पार्टीकी रीता माझी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) की रिना गुरुङ, नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसाईले स्थायी राजधानी हेटौंडा बनाउन प्रस्ताव गरेको उनले जानकारी दिए।
‘साझा विवेकशील पार्टीबाट प्रतिनिधित्व गर्नु हुने माननीय शोभा शाक्यबाहेक सबै पार्टी नेतृत्वले हेटौडा नै उपयुक्त हुने धारणा राख्नुभएको छ’, निरौलाले भने, ‘कुनै राजनीतिक घटनाक्रम नभए हेटौंडा नै स्थायी राजधानी हुने सम्भावना छ।’