भूकम्पीय क्षतिको बिमा भुक्तानी अझै दुई अर्ब बाँकी
काठमाडौं : भूकम्प गएको साढे तीन वर्ष पूरा भइसक्दा पनि भूकम्पले गरेको क्षतिको दाबी भुक्तानी भइसकेको छैन। बिमा समितिका अनुसार अझै दुई अर्बको हाराहारीमा बिमा रकम भुक्तानी हुन बाँकी छ। १६ निर्जीवन बिमा कम्पनीमा १६ अर्ब १८ करोड ४७ लाख रुपैयाँ बराबरको दाबी परेकामा कात्तिक मसान्तसम्म १४ अर्ब २६ करोड आठ लाख रुपैयाँको दाबी भुक्तानी भएको बिमा समितिले जनाएको छ।
भूकम्पले पुुर्याएको क्षतिको बिमाका लागि दाबी परेको र कात्तिक मसान्तासम्म दाबी भएको भुक्तानीका आधारमा हेर्दा एक अर्ब ९२ करोड ३८ लाखभन्दा बढी रुपैयाँ भुक्तिनी हुन बाँकी देखिन्छ। बिमा समितिका अनुसार यो कुल दाबी रकमको ८५.१२ प्रतिशत हो। यस्तै दाबी परेको संख्याका आधारमा भने ९८.८३ प्रतिशत भुक्तान भएको तथ्यांकले देखाएको छ। कुल १७ हजार सात सय ९० दाबी परेकामा यो अवधिमा १७ हजार पाँच सय ८९ दाबी भुक्तानी भएको उल्लेख छ।
दाबी भुक्तानीमा संख्याका आधारमा ९८.८३ प्रतिशत भुक्तानी भएको देखिए पनि मूल्यका ८५.१२ प्रतिशत मात्रा भुक्तानी भएको देखिएको छ। यसका कारण ठूला परियोजनाको बिमितले दाबी भुक्तानी पाएका छैनन्। ‘ठूला परियोजना संख्याका आधारमा थोरै भए पनि रकमका आधारमा धेरै भएकाले यस्तो देखिएको हो’, बिमा समितिका निर्देशक राजुरमण पौडेल भन्छन्, ‘काठमाडौं उपत्यकाका ५१ वटा अपार्टमेन्टमध्ये अधिकांशमा भूकम्पले क्षति पुर्याएको थियो।’ निर्जीवनतर्फ १६ अर्ब १८ करोड रुपैयाँको दाबी परेकामा १४ अर्ब २६ रुपैयाँ भुक्तानी भएको छ। यो सबै व्यक्तिगत दाबी हो। अपार्टमेन्ट र ठूला परियोजनाले भने पाएका छैनन्।
१६ निर्जीवन बिमा कम्पनीमा १६ अर्ब १८ करोड ४७ लाख रुपैयाँ बराबरको दाबी परेको थियो।
मुुद्दा परेका र एउटै परियोजनाले फरकफरक बिमा कम्पनीसँग बिमा गरेको पाइएको र बिमा कम्पनीअनुसार फरक नीति हुने भएकाले पनि भुक्तानीमा समस्या देखिएको पौडेलले बताएका छन्। ‘बिमित भुक्तानी पाउन नसक्नुमा कम्पनी र बिमितबीचमा भएको अप्ठ्यारा हो’, उनले भने, ‘उनीहरूबीच सहमति भएसँगै बाँकी भुक्तानी पनि छिट्टै हुनेछ।
यो अवधिमा एभरेस्ट इन्सुुरेन्स र लुम्बिनी जनरल इन्सुरेन्सर नेसनल लाइफ इन्सुरेन्स (एनएलजी) कम्पनीले शतप्रतिशत दाबी भुक्तानी गरेका छन्। एक सय ६२ दाबी संख्याको १४ करोड आठ लाख रुपैयाँको दाबी परेको एभरेस्ट इन्सुुरेन्सले सबै दाबी भुक्तान गरेको छ। यस्तै २५ करोड ४४ लाख रुपैयाँको आठ सय ८० दाबी परेको लुम्बिनी जनरल इन्सुरेन्स पनि सबै दाबी भुक्तान गरिसकेको छ। यसका साथै एनएलजीले १३ सय ५३ वटा दाबीमार्फत ५० करोड २२ लाख रुपैयाँ भुक्तानी गरी सकेको बिमा समितिको तथ्यांकले देखाएको छ।